विकासका लागि बलियो सरकार बनेको हो : उपप्रधानमन्त्री पौडेल – Nepal Press

विकासका लागि बलियो सरकार बनेको हो : उपप्रधानमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर नै यो सबैभन्दा बलियो सरकार गठन भएको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७१ साधारण सभामा सोमबार बुटवलमा बोल्दै उनले यसबाट नागरिक र निजी क्षेत्रमा केही खुसी बनाएको र अब यो कार्यकालका लागि यसको विकल्प नभएको बताए ।

‘यो सरकार बनेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय भएको छैन, केही समस्या समाधान हुने क्रममा छन्, अब निराश हुने होइन विश्वासको साथ व्यवसाय प्रवर्द्धनमा लागौँ’ उनले भने, ‘ मैले हरेक दिन निजी क्षेत्रका समस्या सुन्ने समय मिलाएको छु, यसले केही सहजता भएको छ । राजश्व संकलन, पुँजी लगानी, लगानीको वातावरण बन्दै गएको छ ।’

उनले यहाँ थालेका आयोजना पूरा भएपछि सहज हुने गरी काम भइरहेको, बुटवल नारायणगढ सडक, बुटवल गोरूसिंगे सडक, सिद्वबाबा सुरूङमार्ग, प्रादेशिक अस्पतालको आधुनिकीकरण र भैरहवा विमानस्थलले यश क्षेत्रको पहिचान बढाउने उनले बताए ।

यो क्षेत्रमा निजी क्षेत्रले लगानी बढाएकोले पनि यसको भविष्यप्रति चिन्ता नगर्न मन्त्री पौडेलले आग्रह गरे । ब्याजदर घटे पनि ऋण स्थिति नबनेको विषयमा सरकारले अनुसन्धान थालेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले नीतिगत स्थायित्व नभए लगानी बढाउन नसक्ने बताए । उनले आर्थिक सुधारका लागि सर्वपक्षीय आयोगको मागलाई अर्थमन्त्रीले कार्यान्वयनमा लगेकोमा निजी क्षेत्र खुसी रहेको बताए ।

परम्परागत कानुनले लगानीलाई उत्साहित बनाउन नसकेकोले त्यसलाई परिमार्जित गर्नुपर्ने बताउँदै उनले सरकारको ध्यानाकर्षण गराए ।

‘पर्यटन क्षेत्रमा सुधारका लागि सीमा क्षेत्रमा सुधार गर्नुपर्ने, यहाँ रहेका केबलकारमा भारतीय पर्यटक बढी रहेकाले सीमा क्षेत्रमा सुधार गर्नुपर्ने, जिल्लाभर नै भारतबाट आउने पर्यटकलाई दैनिकी रकम नलिए धेरै सहज हुनेछ’, उनले भने, ‘यहाँको सम्भावना धेरै छ, म धेरै क्षेत्रमा छु, बैकमा छु, व्यवसायमा छ,सबै प्रदेशमा भन्दा यहाँ छ ।’

नेपालमा सम्भावना छैन भनेर नकारात्मक भाष्य बढाइएको छ त्यो गलत छ भनेर सबै निजी क्षेत्र लाग्नुपर्ने उनले बताए । कुनै चल्न नसकेका योजना छन्, रकम लगानी नभएकोले समस्या परेको भए आफूहरूले साथ दिने ढकालले बताए ।

‘लगानी नभएर योजना अधुरा हुने चिन्ता नलिनुस्, रकम भए पनि आउनुस्, सहकार्य गरेर अगाडि बढौँ’ उनले भने । बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले निजी क्षेत्रलाई साथमा लिएर प्रदेश तथा संघीय सरकारको समन्वयमा काम गर्ने बताए ।

संघका अध्यक्ष हरि अर्यालले कमजोर अर्थतन्त्र सुधारका योजना ल्याउन आग्रह । उनले रात्रिकालीन बजार, ट्राफिकचोकको बजार व्यवस्थापनको सहजता बनाउन, मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन, पर्यटन क्षेत्र सुधारका लागि यहाँ रहेका केबलकार र हिल स्टेसन सञ्चालनको योजना बनाउन आग्रह गरेका छन् । उनले स्थानीय, प्रदेश संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न तयारी रहेको अर्यालले बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले उद्योगी व्यवसायी चलायमान हुन नसकेको,बैंकमा रहेको रकम प्रयोगमा आउन नसकेको,अनलाइन सुविधामा लगाएको सेवाको भ्याट हटाउनुपर्ने, औद्योगिक क्षेत्र जहाँ विवादरहित क्षेत्रमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने, इन्स्योरेन्समा बढेको प्रिमियम रकम बढाएकाले ध्यान दिन आग्रह गरे ।

संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजुले आधौगिक विकासबिना मुलुकमा समृद्धि सम्भव छैन तर अस्थिर सरकारले समस्या परिरहेको बताए ।

उनले ब्याज घटे पनि बजार चलायमान किन भएन भन्ने विषय उद्योगी व्यवसायी निराश भएको बताउँदै इन्स्योरेन्सका बाध्यकारी नियमले व्यवसायी मर्कामा परेको र समस्याभित्र समाधान खोजेर औद्योगिक क्षेत्र चलाउन आग्रह उनले गरे । उनले सहकारी विभिन्न दलका नेताका कारण समस्या परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *