मेटमणिले स्पष्टीकरण बुझाए, पार्टीले सचेतमात्र गराउने – Nepal Press

मेटमणिले स्पष्टीकरण बुझाए, पार्टीले सचेतमात्र गराउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरी पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका चौधरीले पार्टी महासचिव घनश्याम भुसालले सोधेको स्पष्टीकरणको जवाफ फर्काएका हुन् । आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै जवाफ आएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘मैले त्यो मनसायले भनेको होइन । केपी ओलीले महाकाली सन्धि गर्दा सीमाना नछुट्याएकाले महाकालीलाई सीमा मानेको छ तर रेखाङ्कन नगरेको हुनाले यो समस्या मैले प्रष्ट पार्न खोजेको थिएँ । यो भारतको भूमि हो भन्न मैले खोजेको होइन । म राष्ट्रियताको बारेमा कहिल्यै सम्झौता पनि गर्दिनँ भनेर पत्र बुझाउनुभएको छ ।’

पार्टीले मौखिमरूपमा सचेत गराएपनि कारवाही नगर्ने उनको भनाइ छ ।

उनले थपे, ‘पार्टीले कारवाही गर्दैन उहाँले आफ्नो धारणा प्रष्ट पारिसक्नुभएको छ । यो विषयमा कारवाही गरिहाल्नु पर्ने विषय होइन । उहाँलाई अब पार्टीको बैठकमा बोल्दा ख्याल गर्नुस् भनेर मौखिक रुपमा सचेत गराइन्छ ।’

त्यसो त २०७७ चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो । त्यसबेलामा सांसद रहेकी गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर