प्रतिवेदनमा हस्ताक्षर गर्न ढिलाइ, माओवादीका दाहाल र रास्वपाका खनाल बेग्लै छलफलमा – Nepal Press

प्रतिवेदनमा हस्ताक्षर गर्न ढिलाइ, माओवादीका दाहाल र रास्वपाका खनाल बेग्लै छलफलमा

काठमाडौं । सहकारी ठगी छानविनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गर्न ढिलाइ भएको छ । आजै संसदमा प्रतिवेदन बुझाउने तयारी भए पनि सदस्यहरूबीच भाषागत विषयमा सहमति नजुट्दा ढिलाइ भएको हो ।

हिजो नै लगभग प्रतिवेदन तयार भएको भनिएको थियो र आज फर्स्ट आवरमै हस्ताक्षर गर्ने तयारी थियो । समितिका सदस्यहरू ११ बजे नै सिंहदरबारस्थिति समितिको सचिवालयमा आएका थिए । तर, अन्तिम दिने क्रममा मतभेद भएको स्रोतको दावी छ ।

रास्वपाका सदस्य शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको अडान लिइरहेका छन् । सहकारीको रकम गोर्खा मिडियामा ल्याउन जीवी राईको मात्रै भूमिका रहेकोमा समितिका अन्य सदस्य पनि सहमत छन् ।

तर, सहकारीको रकम गोर्खा मिडियामा आएपछि प्रवन्ध निर्देशकको हैसियतमा रविले खर्च गरेका थिए । कर्मचारीलाई तलब खुवाउनेदेखि सबै प्रशासकीय काममा उक्त रकम प्रयोग भएको थियो ।

सहकारीको रकम मिडियामा खर्च गरेबापत रविलाई कारवाही सिफारिस गर्नुपर्ने पक्षमा कांग्रेसका दुई प्रतिनिधि छन् । यही विषयमा सहमति जुट्न नसकेको बुझिएको छ ।

रास्वपाका खनाल तीन-चारपटक समिति सदस्यहरूसँग छलफलबाट निस्किएर अर्को खाली कोठमा फोन संवाद गरेको देखिएको थियो । अहिले भने उनी माओवादीका सदस्य राजन दाहालसँग छुट्टै छलफल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर