अवार्ड कार्यक्रममै अनमोलले पिता भुवन केसीको खुट्टा ढोगे, ‘संस्कारी’ भन्दै सामाजिक सञ्जालमा तारिफ – Nepal Press

अवार्ड कार्यक्रममै अनमोलले पिता भुवन केसीको खुट्टा ढोगे, ‘संस्कारी’ भन्दै सामाजिक सञ्जालमा तारिफ

‘फर्की फर्की’ बाट पाए सर्वोत्कृष्ट नायकको अवार्ड

काठमाडौं । नायक अनमोल केसीलाई फ्यानहरुले मन पराउने र माया गर्ने एउटा कारण हो, उनको शीलस्वभाव । धेरैले उनलाई विनम्र, संस्कारी र शालिन भनेर तारिफ गर्ने गर्छन् ।

अहिले अनमोलको एउटा भिडिओ खुब भाइरल भइरहेको छ टिकटकमा । एउटा अवार्ड कार्यक्रममा उनले पिता भुवन केसीको खुट्टा ढोगेका थिए । यो भिडिओ शेयर गर्दै धेरैले अनमोललाई ‘संस्कारी हिरो’ देखि ‘ज्ञानी छोरा’ सम्मको ट्याग दिइरहेका छन् ।

गत शनिबार साँझ लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको थियो । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच अवार्ड वितरण गरियो । नेपालमा हुने अवार्ड समरोहमा विरलै देखिने अनमोल यो कार्यक्रममा भने पितासहित पुगेका थिए । उनले आफ्नो पछिल्लो हिट चलचित्र ‘फर्की-फर्की’ बाट सर्वोत्कृष्ट नायकको अवार्ड जिते ।

सर्वोत्कृष्ट चलचित्रको अवार्ड भने जारीले हात पारेको थियो । सोही चलचित्रबाट निर्देशक उपेन्द्र सुब्बा सर्वोत्कृष्ट निर्देशक घोषित भए ।

भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्‍याएवापत लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । भुवनलाई आयोजकले सम्मान गरेपश्चात अनमोलले पनि बुवालाई खादा लगाए । त्यसपछि उनले भुवनको खुट्टामा ढोगेका थिए । भुवनले उठाएर अंकमाल गरे ।

बाबुछोराबीचको यो दृश्यले कार्यक्रमस्थलमा ताली गुञ्जिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर