जेन जेडको प्राथमिकतामा काम र जीवनको सन्तुलन, ४७ प्रतिशतले दुई वर्षभित्र जागिर छाड्छन् – Nepal Press

जेन जेडको प्राथमिकतामा काम र जीवनको सन्तुलन, ४७ प्रतिशतले दुई वर्षभित्र जागिर छाड्छन्

काठमाडौं । अंग्रेजीमा एउटा टर्म छ, जेनेरेसन जेड । यसलाई छोटकरीमा जेन जेड भनिन्छ । जेन जेड अर्थात् १९९७ देखि २०१० को बीचमा जन्मिएका पुस्ता । अझै सजिलोसँग भन्दा इन्टरनेट र प्रविधि सँगसँगै हुर्किएका पुस्तालाई जेन जेड भनिन्छ ।

यो पुस्ता अहिले श्रम बजारमा धमाधम छिरिरहेको छ । कोही भर्खरै ग्राजुएट भएर जागिर सुरु गरिरहेका छन्, कोही नयाँ नयाँ स्टार्टअप हाँहिरहेका छन्को । ही भने श्रम बजारमा छिर्ने तरखरमा छन् ।

सामाजिक सञ्जाल सँगसँगै हुर्किएको यो पुस्तामाथि अनेक अध्ययन भएका छन् । भर्खरै अनस्टप नामक जेन जेडलाई रोजगारी खोजिदिने संस्थाले एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टले नयाँ नयाँ तथ्यको खुलासा पनि गरेको छ ।

रिपोर्टअनुसार ४७ प्रतिशत जेन जेडले दुई वर्षभित्र जागिर छाड्ने गरेका छन् । यसको प्रमुख कारण भनेको जागिर र निजी जीवनको सन्तुलनमा समस्या आउनु हो । जेन जेडहरु जागिर र जीवनको सन्तुलनलाई प्रमुख प्राथमिकतामा राख्ने गर्छन् ।

‘जेन जेड एट वर्कप्लेस’ नाम दिइएको यस रिपोर्टमा ५ हजार ३५० जना जेन जेड सहभागी थिए । जसमा ५०० जना रोजगारदाता थिए । अनुसन्धानमा सहभागीमध्ये ५१ प्रतिशत जेन जेडले जागिर गुम्ने भय रहेको बताए । यो भय जागिर सुरु गर्दै गरेका जेन जेडहरुमा बढी देखिएको छ । सहभागीमध्ये ४० प्रतिशत जेन जेडले जागिरमा सुरक्षा खोजेका छन् ।

‘तर जेन जेडहरु आफ्नो प्राथमिकताबारे स्पष्ट हुन्छन् । ७७ प्रतिशत सहभागी पैसाको साटो कम्पनीको ब्राण्ड हेर्ने गर्छन् । यीमध्ये ४३ प्रतिशतले आफ्नो अनुभव थप्ने र प्रगति बढाउने कुरालाई प्राथमिकता दिइरहेका हुन्छन् । आफूले रोजेका क्षेत्रमा दक्षता विकास गर्ने कुरालाई प्राथमिकतामा राख्छन् । सहभागीमध्ये ७२ प्रतिशत जेन जेड तलबको तुलनामा जागिरमा सन्तुष्टिलाई प्राथमिकतामा राख्छन्’, रिपोर्टमा भनिएको छ ।

अध्ययनले के पनि पत्ता लगाएको छ भने जेन जेडहरुको प्राथमिकता र रोजगारदाताको दृष्टिकोणमा ठूलो असमानता छ । रिपोर्टमा भनिएको छ, ‘७८ प्रतिशत जेन जेडले करियरमा थप प्रगति गर्न जागिर छाड्ने गर्छन्, तर ७१ प्रतिशत रोजगारदाताले तलब सुविधाका लागि जागिर छाडेको सोच्छन् । मात्र २५ प्रतिशत जेन जेडले जागिर छाड्नुको कारण तलब सुविधा रहेको हुन्छ ।’

रिपोर्टका अनुसार जागिर र सुखी जीवनबीचको सन्तुलन जेन जेडहरुका लागि महत्वपूर्ण हुन्छ । उनीहरु योजना बनाएर काम गर्न, दक्षता बढाउँदै नयाँ अवसरको खोजी गर्न र कार्यक्षमता बढाउन चाहन्छन् । उनीहरु आफ्नो महत्वाकांक्षा पूरा गर्नमा बढी जोड दिन्छन् ।

‘जेन जेडले करियरमा प्रगतिभन्दा जागिर दिने कम्पनीको सेवा सुविधाबारे सोच्छन् भन्ने विश्वास ४४ प्रतिशत रोजगारदातामा भेटियो, तर जेन जेडहरु रोजगारदाताभन्दा एक कदम अगाडि छन्, उनीहरु सेवा सुविधा र करियरमा प्रगति दुवै कुरालाई प्राथमिकतामा राख्छन्’, रिपोर्टमा भनिएको छ ।

रिपोर्टले जेन जेडले जागिर छाड्नुका प्रमुख कारणहरु, जागिर सुरु गर्दाका मुख्य प्राथमिकताहरु, मानसिक स्वास्थ्यमाथिको उनीहरुको अपेक्षा र उनीहरुको काम गर्ने शैलीबारे पनि बताएको छ ।

अनस्टपका संस्थापक तथा सीईओ अंकित अग्रवालले भनेका छन्, ‘अहिलेको नयाँ पुस्ताका लागि काम भनेको उनीहरुको बैंक खाता निरन्तर क्रेडिटेड हुनुमात्रै होइन । उनीहरु कामलाई जीवनको एक हिस्सा बनाउन चाहन्छन् । रोजगारदाताले के थाहा पाउनुपर्छ भने यही कारण उनीहरुले जागिर चाँडो छाडिरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *