संसदीय समितिको निष्कर्षमा रास्वपा सन्तुष्ट, रविले भने- एमडीले चेकै काट्ने हो (भिडिओ) – Nepal Press

संसदीय समितिको निष्कर्षमा रास्वपा सन्तुष्ट, रविले भने- एमडीले चेकै काट्ने हो (भिडिओ)

सभापति लामिछानेले क्लीन चिट पाउनुभयो : स्वर्णिम वाग्ले

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले दिएको निष्कर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष व्यक्त गरेको छ । सभापति रवि लामिछानेले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको बताए ।

आज संसद बैठकपछि बाहिर निस्किने क्रममा रास्वपा नेताहरुलाई पत्रकारले घेरेका थिए । सबैभन्दा पहिले बोल्न अघि सरे संसदीय समितिका सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनाल । उनले संसदीय समितिले सहकारी हिनामिनाको आरोपमा सभापतिलाई पूर्णरुपमा क्लिन चिट दिएको बताए ।

खनालले भने, ‘सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिएन ।’

खनालपछि पत्रकारहरु सभापति रवि लामिछानेतर्फ फर्किए । लामिछानेले सुरुमा हाँस्दै भने, ‘अब मैले बोल्नुपर्ने त के छ र ?’

पत्रकारले सोधे, ‘सबैभन्दा पहिले त तपाईंलाई बधाई छ । सहकारीको रकम अपचलनमा दोषी नभए पनि सहकारीबाट ल्याइएको रकम बाँडफाँटमा तपाईं संलग्न रहेको भनिएको छ नि ?’

रविले यसरी जवाफ दिए, ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’

पार्टी उपसभापति स्वर्णिम वाग्लेले पनि सभापति लामिछानेले क्लीन चिट पाएको बताए । आफूहरुविरुद्ध प्रयोग गरिएको राजनीतिक क्षेप्यास्त्र पूर्णरुपमा खारेज भएको उनको भनाइ थियो ।

वाग्लेले भने, ‘मुल आरोप भनेको सहकारीको रकम व्यक्तिगतरुपमा निजी कम्पनीमा ल्याउन भूमिका छ भनिएको थियो । हामीविरुद्ध राजनीतिक क्षेप्यास्त्र नै छेडिएको थियो । त्यो पूर्णरुपमा खारेज भएको छ । राम्रोसित नोट गर्नुहोला । रकम आइसकेपछि जिम्मेवारी कति हुन्छ भन्ने कानूनी निर्क्यौल गर्नका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । हाम्रो सदस्यले त्यो स्वीकार्य छ भनेर निस्किनुभएको छ । बिमति भए नोट अफ डिसेन्ट लेख्नुहुन्थ्यो । राम्रो पक्ष के भने, ठूला पार्टीबाट ठूलै पद ओगटेर बसेकाहरु पनि उजागर भएका छन् । अब हामी त्यो मुद्दा छोड्दैनौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर