बालेनले बाल हिंसाको आरोप लगाएकी रेखा शर्मालाई पक्राउ गर्न अदालतले दिएन अनुमति – Nepal Press

बालेनले बाल हिंसाको आरोप लगाएकी रेखा शर्मालाई पक्राउ गर्न अदालतले दिएन अनुमति

पक्राउ पुर्जी लिन २ पटक गएको प्रहरीलाई अदालतले फर्कायो- दाबी गरिएको घटना थुनामा राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिको नदेखिएको ठहर, बालिकाका बुबा महानगरविरुद्ध अदालतमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाल हिंसाको आरोप लगाइरहेका लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।

स्रोतका अनुसारको काठमाडौं प्रहरी परिसरले रेखा शर्मालाई अनुसन्धान गर्न भन्दै दुईपटक जिल्ला अदालत काठमाडौं पुगेको थियो ।

‘तर पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मनासिब आधार र कारण नदेखिएको’ भन्दै अदालतले पक्राउ पुर्जी जारी गर्न मानेन ।

बालेनले शर्मालाई एमालेले जोगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को आलोचना गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले शर्माको घरमा काम गर्न राखिएकी बालिकालाई श्रममा लगाइएको र हिंसा भइरहेको दाबी गर्दै उद्धार गरेको थियो ।

यो पनि पढ्नुहोस्- महानगरले छोरी अपहरण गरेको भन्दै बालेनविरुद्ध अदालत गएका थिए कालीचरण, सर्वोच्चले के भन्यो ?

त्यसपछि महानगरविरुद्ध बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अदालतले उक्त रिट खारेज गरेको थियो । त्यतिबेलै शर्मा सम्भावित पक्राउविरुद्ध निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् । पाटन उच्च अदालतले निषेधाज्ञा खारेज गरेपछि अनुसन्धानको दायरामा ल्याउन पार्टीले जोगाएको बालेनले आरोप लगाउँदै आएका छन् ।

‘दुईपटकसम्म पक्राउ पुर्जी माग्न जाँदा पनि अदालतले दिन मानेन’, काठमाडौं प्रहरी स्रोतले भन्यो । हाल जाहेरीसहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा रहेको बुझिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सन्देश श्रेष्ठले पनि अदालतले दुईपटक माग्दा पनि पक्राउ पुर्जी नदिएको पुष्टि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *