राष्ट्रियसभाको १६औंं अधिवेशनबाट १२ वटा विधेयक पारित – Nepal Press

राष्ट्रियसभाको १६औंं अधिवेशनबाट १२ वटा विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको १६औं अधिवेशनबाट १२ वटा विधेयक पारित भएको छ । सोमबार १६औं अधिवेशन अन्त्य गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस अधिवेशनबाट १२ वटा विधेयक पारित भएको जानकारी गराएका हुन् ।

अध्यक्ष दाहालका अनुसार चालू अधिवेशनमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ लाई पारित गरी प्रतिनिधिसभामा पठाएको छ भने प्रतिनिधिसभामा उत्पत्ति भएको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरणसमेत भएको छ ।

यसै अधिवेशनमा ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७’, दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको छ भने ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’, ‘विनियोजन विधेयक, २०८१’, आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, र ‘भन्सार महसुल विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएका छन् ।

यसै अवधिमा आर्थिक वष २०८१/०८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल भएको छ । यस अधिवेशन अवधिमा राष्ट्रियसभामा दर्ता भएका ‘मिडिया काउन्सिल विधेयक २०८०’, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१’, ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ र ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

यसै अधिवेशनबाट पहिलो पटक प्रश्नोत्तर कार्यक्रम सञ्चालन

सरकारलाई संसदप्रति जवाफदेही तुल्याउने महत्वपूर्ण औजारको रुपमा रहेको प्रश्नोत्तर कार्यक्रम संघीय संसद स्थापनापछि यसै अधिवेशनमा राष्ट्रियसभामा पहिलो पटक शुरु भएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित एउटा लिखित प्रश्न र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित ८ वटा मौखिक प्रश्नोत्तर सभामा सञ्चालन भएको छ ।

हप्तामा तोकिएको बारमा मात्र रहने गरेको शून्य समय गत साउन ३१ देखि सदनका प्रत्येक बैठकमा शून्य समय रहने गरी अभ्यास सुरु भएको छ ।

यसै अधिवेनशमा सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक र ७ जना सांसद समर्थक भई दर्ता भएको ‘सवारी दुर्घटना न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथि सभामा छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ ।

यसै अवधिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०८१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश सदनसमक्ष पेस भएको थियो ।

१६औं अधिवेशनमै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन २०८१’ सभामा पेश भई उक्त प्रतिवेदनमाथि सभामा छलफल गरी प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन गर्न सरकारलाई सभाबाट निर्देशसमेत भएको छ ।

साथै ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/०८१’, ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन २०८०/८१’, ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०८०/०८१’ र ‘संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन २०८०/८१’ सभामा पेश भएको छ ।

यस अधिवेशन अवधिमा आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण सभामा पेस भएको थियो भने संवैधानिक व्यवस्थाअनुसार नेपाल सरकार र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन सभामा पेस भएका थिए । संघीय संसद, राष्ट्रियसभाको सोह्रौं अधिवेशनको पहिलो बैठक गत बैशाख २८ गते शुक्रबार दिउँसो २ बजेदेखि सुरु भएर २०८१ भदौ ३१ सोमबारसम्म जम्मा १३० दिन चलेको छ । यस अवधिमा ४० वटा बैठक बसेर जम्मा ७३ घण्टा ५५ मिनेट सभा सञ्चालन भएको हो ।

यस अधिवेशन अवधिमा नै १७ वटा बैठकमा शून्य समय राखिएको छ भने उक्त शून्य समयमा ४४ जना सदस्यले २ घण्टा २ मिनेट समय उपयोग गरेका छन् भने १६ वटा बैठकमा विशेष समय रहेको थियो । विशेष समयमा ५२ जना सदस्यले २१ घण्टा ५६ मिनेट समय उपयोग गरेका छन् । यस अधिवेशनका एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो । प्रादेशिक सरोकार समयमा ११ जना सदस्यले १ घण्टा २६ मिनेट समय उपयोग गरेका थिए । यस अधिवेशनको ५ वटा बैठकमा आकस्मिक समय राखिएको थियो ।

आकस्मिक समयमा १२ जना सदस्यले ४७ मिनेट समय उपयोग गरेका थिए । यसै अधिवेशन अवधिमा राष्ट्रियसभाले ४ पटक रुलिङ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर