एसियाली कराते च्याम्पियनसिप खेल्न चीन जाँदै नेपाली टोली – Nepal Press

एसियाली कराते च्याम्पियनसिप खेल्न चीन जाँदै नेपाली टोली

काठमाडौं । करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । त्यो रजत एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र हो ।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यही प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ ।

एरिकाले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै, महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउने छन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्ने छिन् ।

पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् ।

सबै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।

टोलीको मुख्य प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । १९ औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका कुशलले एसियाली सिनियर करातेमा पनि सहभागिता जनाइसकेका छन् ।

टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग (तत्कालीन साफ) को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन रहेका छन् । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. का प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताउदै खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए । उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले अगाडि भने, ‘हाङझाव एसियाडमा एरिकाले रजत जितेर इतिहास रच्नु भयो । तर, तयसबेला मेरो चाहना स्वर्णको पुरस्कारका लागि हस्ताक्षर गर्ने इच्छा थियो । त्यो अधुरो चाहनालाई यसपटकको सहभागिताले पूरा गरिदिने छ भन्ने विश्वास मैले लिएको छु । तपाईहरु सबैलाई शुभकामना ।’

एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठूलो अवसर भएको बताउदै विश्व च्याम्पियनहरुको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन् । एरिकाले तयारी पनि राम्रो भएकाले सबै खेलाडी उत्साहित रहेको बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *