विश्वकर्मा पूजाको महत्त्व र विश्वकर्मा जाति
बेलाबेला विश्वकर्मा जातिको विषयमा बहस र पैरवीहरू हुने गरेका छन् । आखिर विश्वकर्माहरू के हुन् त ? विकीपिडिया लेख्छ, ‘विश्वकर्मा सोयम श्री विश्वकर्मा भगवान, श्री विष्णु भगवान नारायण, श्रीकृष्ण अवतार मान्ने जाति ।’
हिन्दु शास्त्रमा जति पनि चार वेद, शास्त्र, श्रीमदभागवत गीता, समस्त पुराण लेखन विश्वकर्मा समुदायले लेखेको मानिन्छ । किनकि जुनबेला वेद र पुराणहरू लेखियो, त्यो बेला ४ वेदको लिपि तामाको पातामा लेखिन्थ्यो । अर्थात्, त्यति बेला करु कुनै माध्यम नै थिएन । चार वेदको लिपिबाट उपनिषद् आजसम्म पनि जीवित छ । त्यसैबाट हिन्दु धर्मको नामकरण गरिएको हो ।
पेशागत रूपमा सारा संसारकै महान् शिल्प विज्ञानको सृष्टि गर्ने विश्वकर्मा समुदाय हुन् र फलाम र सुनको मात्र काम नभई, अनेक अनेक आविष्कार गर्ने विश्वकर्माहरू हुन् । आविष्कारको क्षेत्रमा वा निर्माणको तहमा काम गर्दै आएका विश्वकर्मा जातीले आफ्नो थर ‘विश्वकर्मा’ लेख्ने गरेका छन् । जीवन निर्वाह तथा जीविकोपार्जनको परम्परागत माध्यम फलाम, सुन, चाँदी सँगसँगै ठुल्ठुला निर्माणका कामका विश्वकर्मा जाति नै खटिएको पाइन्छ । तर, अहिले नेपालको विभिन्न भूभागहरूमा बसोबास गर्ने विश्वकर्मा जातिका आधारमा जातीय भेदभावको शिकार बनेको छ । यिनीहरू निकै सोझा, निमुखा, मेहेनतिला, लगनशिल छन् र केहि सूचना प्रविधिको प्रयोगको प्रभावले विश्वकर्मा जातिमा पनि प्रत्यक्ष परेको देखिन्छ ।
सवाल सार्वजनिक बिदाको
हिन्दु धर्मलाई मान्ने वा विश्वास गर्ने हो भने विष्णु भगवानको नाभिबाट कमल उत्पन्न भयो । त्यही कमलबाट चतुर्मुख ब्रह्मा उत्पत्ति भए । ब्रह्माका पुत्र धर्म र धर्मका सातौँ पुत्रका रूपमा वास्तु जन्मिए । वास्तु नै शिल्प शास्त्रका जन्मदाता हुन् । उनै वास्तुदेवकी अंगिरसी नाम गरेकी पत्नीबाट विश्वकर्मा जन्मिएका थिए ।
भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुट्टाछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । ऋग्वेदमा ११ ऋचाहरू भगवान विश्वकर्माको महत्त्व के छ भन्ने उल्लेख गरिएको छ । हिन्दू धर्मशास्त्र अनुसार वास्तु शिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात् असोज १ गते भएको मानिन्छ । शिल्प शास्त्रका प्रवर्तक वास्तुदेवको कला, कौशल र शिल्पलाई अहिले पनि शिल्प शास्त्र वा वास्तु शास्त्रका रूपमा अध्ययन, अध्यापन र अनुसरण गरिन्छ । आफ्ना पिता जस्तै विश्वकर्मा पनि उत्कृष्ट वास्तुविद्ध थिए । विश्वकर्माको जन्म दिनलाई नै विश्वकर्मा पूजाको रूपमा मनाइन्छ ।
असोज १ गते संसारका मजदुरहरूले विश्वकर्मा पूजा गर्छन् । त्यो दिन पुर्जासँग जोडिएका मजदुर, मालिक वा इन्जिनसँग सरोकार राख्ने सबैले पूजा गर्ने गरेका छन् । असोज १ गतेका दिन औजारसँग जोडिएका हिन्दूहरुले निक्कै धूमधामका साथ औजारको पूजा गर्छन् । खास गरी विश्वकर्मा पूजा कुनै जात विशेषले मात्रै गर्दैनन् । नेपाल र भारतमा रहेका हिन्दूहरुका लागि आजको दिनको विशेष महत्त्व रहन्छ ।
सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सिर्जनात्मक हुन्छ, जुन कामले जीवको जीवन सञ्चालित हुन्छ उनीहरू सबैको मूल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरूलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ । फलस्वरुप इन्जिनियर, वैज्ञानिक भएका छन् । विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । आजको दिन सबैले आ–आफ्ना हतियार, औजार, साधनहरू वर्षभरि प्रभावकारी रूपबाट प्रयोग भएकोमा धन्यवाद र आगामी दिनमा अझ प्रभावकारी रूपबाट प्रयोग गर्न सकुन् भन्ने मनोकामनासहित विभिन्न किसिमबाट कल कारखाना, सवारी साधन, विमान, विद्युतीय उपकरणहरूसमेत पूजा गर्ने प्रचलन छ । यो प्रचलन आफैँमा महत्त्वपूर्ण छ ।
पछिल्लो समयमा दबाब र प्रभावमा परेर सार्वजनिक बिदा दिइने गरेको छ । आजको दिनलाई मजदुरहरूले सार्वजनिक बिदा दिनुपर्ने माग पनि गर्दै आएको सुनिएको छ । तर, लाखौँ मानिसहरूले मनाउने विश्वकर्मा पूजाको दिन सार्वजनिक बिदा दिन सरकार अनिच्छुक देखिन्छ । यसको एउटै मात्र कारण भनेको यो दिन एउटा जातको नाम जोडिएको छ । यो विषय विश्वकर्मा जातिसँग जोडिएकै कारण सार्वजनिक बिदा दिन सरकार सधैँ असमर्थ रहन्छ । यदि सरकार सञ्चालनमा विश्वकर्मा जाति वा विश्वकर्मा पूजाको महत्त्व थाहा पाउने कुनै राजनीतिकर्मीको सहभागिता रहन्थ्यो भने असोज १ गतेका दिन सार्वजनिक बिदा दिन आन्दोलन वा कसैले बिदा चाहिन्छ भन्ने पर्दैन थियो ।
विश्वकर्मा जात हो ?
राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । विश्वकर्माको जनसङ्ख्या १४ लाख ७ हजार १० छ । यो कुल जनसंख्याको ५.०४ प्रतिशत अर्थात् रहेको छ । यो जनसङ्ख्या आफैंमा ठूलो हो । विश्वकर्माहरूको बाक्लो आबादी भएको जिल्ला दैलेख, बागलुङ, कालिकोट र कैलाली हो । साधारण अर्थमा कामी जातिको पर्यायवाची शब्द नै विश्वकर्मा हो । अर्थात् विश्वकर्मा भनेका पानी नचल्ने तल्लो जात र दलित समुदायको एउटा जाति हुन् भन्ने बुझाई छ । तर विश्वकर्मालाई यति सीमित घेराभित्र मात्र बुझ्दा न्याय हुँदैन ।
मोदनाथ प्रश्रितको भनाइलाई आधार मान्ने हो भने वर्ण व्यवस्थाभित्र शूद्र वर्णबाट अतिशूद्रको थान्कोमा झारिएको तथा जातीय विभेद एवं छुवाछूतको दुर्व्यवहारसमेत भोग्दै आएको आधारभूत जनसमुदाय नै आजको ‘दलित समुदाय’ हो । जातिभेद र जातपातको कारणले सबभन्दा तल पारिएकाहरू नै दलित हुन् ।
भारतको इतिहास र हाम्रो तराई क्षेत्रको सामाजिक संस्कृतिलाई हेर्दा त्यहाँ विश्वकर्माहरू हुनेखाने वर्गमा पर्छन् र उनीहरूमाथि खासै छुवाछूत छैन । नेपालको पहाड क्षेत्रमा आइपुग्दा यिनलाई दलित समुदायभित्रका बाहुन वर्ग भनेर कसैले आरोप लगाउने गरिन्छ । तर त्यसो पनि नभई विश्वकर्मा भनेका कला, सीप, साहित्य र शालीन संस्कृति भएको तथा उत्पादनसँग जोडिएर समाजको निर्माण गर्ने कामी (सुनार) सहित दलितभित्रका अन्य जाति पनि हुन् । यो कुरा हामीले बुझ्न जरुरी छ । अझ दलित आन्दोलनका दिग्दर्शक भगत सर्वजितले समाज निर्माणको दायित्व बहन गरेर पनि विभिन्न विभेद भोगिरहेका जातिहरू सबै विश्वकर्मा हुन् भन्ने हिसाबले व्याख्या गर्दै वि.सं. २००३ सालमा विश्व सर्वजन स्थापना गरेर मुक्ति आन्दोलनको आरम्भ गरेका थिए । हाम्रो साहित्य र संस्कृतिले विश्वकर्मा जातिलाई यसरी विश्लेषण गरेको छ ।
नेपालको सन्दर्भमा वि.स १९१० को मुलुकी ऐनले जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक तथा धार्मिकरुपमा राष्ट्रिय मूल प्रवाहबाट पछाडि पारिएका जात जातिका समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको छ भने नेपाली समाजमा पानी चल र अचल ठहर गरेको समुदाय नै ‘दलित समुदाय’ हो भनेको छ । वि.सं २०२० सालको मुलुकी ऐन, अदलको १० (क) न. लागू हुनुभन्दा अगाडिका राज्य, समाज व्यवस्थाले ‘जातपात र छुवाछूत प्रथा’ कायम गराई (यद्यपि कायम रहेको) पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने (अछुत) जातिका रूपमा चिनिने समुदायहरू नै दलित हुन् ।
यसरी दलितको परिभाषाका सम्बन्धमा विभिन्न व्याख्या रहे पनि यथार्थमा हामीले देख्दै र बुझ्दै आएको के हो भने सामाजिक रूपमा हेपिएका, आर्थिक रूपले दबिएका, सांस्कृतिक रूपले पाखा लगाइएका र राजनीतिक रूपले उपभोग र शोषणमा पारिएका जाती नै दलित हुन् । त्यही दलित समुदायभित्रको एउटा जाति हो विश्वकर्मा । तर, पछिल्लो समयमा विश्वकर्माहरूले आफ्नो परम्परागत थरलाई क्षेत्री व्राम्हणको थर लेख्न थालेका छन् । कतिपयले यसरी क्षेत्री व्राम्हणको थरसँग मिल्ने थर लेखिदिँदा विश्वकर्माहरूको जनसङ्ख्या घट्दो अवस्थामा छ ।
विगतमा कतिपय उपल्ला जातिहरूले विश्वकर्माभित्रका मानिसहरूलाई होच्याउन तल्लो स्तरको थर राखिदिने गरेका थिए । उदाहरणका रूपमा लिँदा विश्वकर्माभित्रको एउटा थर हो जाडकामी । यो विभेदकारी थर हो । कुनै पनि मान्छे कमजोर बनेपछि हेलाको भावले नाम वा थर राखिने गरेको पाइएको छ । त्यही क्रममा यसरी हेपेर थर राखिएको पाइएको छ । यस्तो अपमानित थर सच्याउन जरुरी छ । यस्ता एकाधबाहेक विश्वकर्माभित्रको थर अपमानित छैनन् । त्यसकारण पनि हामीले विश्वकर्मा भन्न लाज मान्नुपर्ने अवस्था छैन । यदि हामीले आफ्नो जाति भन्न नै हिनता मान्न थाल्ने हो भने हाम्रो समाज अघि बढ्न सक्दैन । विश्वकर्मा जातिले परम्परागत रूपमा फलामको काम गरे र हाल पनि गर्दै आएका छन् । उनीहरू अझै पनि सीपका धनी छन् । फलामका औजार बनाउन उनीहरूले कुनै विश्वविद्यालय धाइरहनु पर्दैन, सिटिइभिटीको तालिम लिइरहनुपर्दैन । यस्तो सीपको धनी जातिले आफूलाई कमजोर वा निर्धो होइन, सम्मानका साथ म विश्वकर्मा हुँ भन्न सक्नुपर्छ । त्यसैले आफू जुन जातको कुलमा जन्मिएको भए पनि आफ्नो जातिप्रति हीनताबोध सजाउनुहुँदैन । यसले आफ्नो जातलाई ओजपूर्ण बनाउन सक्दैन ।