‘कल्ली’ मा सौगात मल्लको इन्ट्री, किन निकालिए पल शाह ? – Nepal Press

‘कल्ली’ मा सौगात मल्लको इन्ट्री, किन निकालिए पल शाह ?

निर्देशक सुनार भन्छन्- उहाँलाई चलचित्रमा राख्दा अरु सबैलाई छोड्नुपर्ने अवस्था आयो, ‘साइनिङ अमाउन्ट’ फिर्ता माग्दैनौं

काठमाडौं । के अभिनेता पल शाहको ओरालो यात्रा सुरु भएको हो ? ‘रावयण’ फ्लप हुँदा निराशामा रहेका पललाई अर्को नमिठो झट्का लागेको छ । अनुवन्धित भइसकेको नयाँ चलचित्र ‘कल्ली’ बाट उनी निकालिएका छन् ।

लक्ष्मण सुनारले निर्देशन गर्न लागेको ‘कल्ली’ मा पलले मुख्य भूमिका निभाउनेवाला थिए । पललाई फिचर्ड गर्दै चलचित्रको पोस्टरसमेत सार्वजनिक भइसकेको थियो । तर, अहिले उनलाई हटाएर अभिनेता सौगात मल्ललाई लिइएको छ । यद्यपि, आधिकारिकरुपमा निर्माण पक्षले केही पनि बताएको छैन ।

चलचित्रमा पल शाह अनुबन्धित भएको जानकारी दिँदै ‘कल्ली’ को फेसबुक पेजमा साउन १५ गते चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो । सो पेजमा पल चलचित्रमा आवद्ध भएको समाचार पनि सेयर गरिएको थियो । तर अहिले चलचित्रको उक्त पेजबाट पल शाहलाई फिचर्ड गरिएको पोस्टर नै हटाइएको छ । पहिले शेयर गरिएका समाचारहरु पनि गायब छन् ।

पलले ‘कल्ली’ गुमाउनुको मुख्य कारण ‘रावायण’ को असफलता नै हुन सक्ने धेरैले अनुमान गरेका छन् । यो चलचित्र व्यापारिकरुपमा असफल हुनुका साथै पल शाह आफ्नो दारी रुपलाई लिएर व्यापक रुपमा ट्रोल भइरहेका छन् । चलचित्र रिलिजको संघारमा पूजा र सिमिक्षा अधिकारीबीचको विवाद पनि सतहमा आएको थियो, जसमा पल स्वतः मुछिन पुगे ।

चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुनार भने पल ‘कल्ली’ बाट बाहिरिनुमा ‘रावायण’ को हात नभएको दाबी गर्छन् ।

उनले भने, ‘एउटा चलचित्रका कारण कुनै पनि कलाकार अर्को चलचित्रबाट बाहिरनु पर्ने स्थिति कमै आउँछ । यसमा रावायणको केही भूमिका छैन । हाम्रो आफ्नै बाध्यताका कारण उहाँलाई रिप्लेस गर्नुपरेको हो । यसमा न उहाँको कुनै गल्ति छ न हाम्रो नै ।’

सुनारले थपे, ‘हामीलाई उहाँका अन्य विषयवस्तुसँग केही समस्या थिएन । त्यही भएर सुरुबाटै पलजी भएको पोष्टर र समाचार सेयर गर्दै आएका थियौं । म त झन्ँ उहाँको शुभचिन्तक हुँ । तर कहिलेकाहीँ समय र परिस्थितिले सोचेजस्तो नहुँदो रहेछ । समाजमा बसेपछि समाजसँगै ढल्नुपर्ने रहेछ’, उनले थपे, ‘आफ्नो इच्छाले मात्र नहुँदो रहेछ । मैले कि उहाँलाई लिँदा अरुलाई छाड्नु पर्ने भयो । अब उहाँलाई मात्र लिएर त मैले चलचित्र बनाउन सक्दिनँ । चलचित्र नै ड्रप गर्नुपर्ने अवस्था सिर्जना भएपछि हामीले यो कदम चालेका हौँ ।’

चलचित्रबाट हटाइएको विषयमा निर्माण पक्षले पलसँग प्रत्यक्ष कुराकानी गरेको रहेनछ । सुनारले आफूहरुले बताउनुभन्दा अगाडि नै समाचार आएको गुनासो गरे ।

‘खासमा हामी उहाँसँगै बसेर कुरा छिनोफानो गर्नेसोचमा थियौं । तर त्योभन्दा अघि नै समाचार आइदियो । समाचार आएपछि हाम्रो उहाँसँग प्रत्यक्ष कुराकानी भएको छैन । तर यसबारे हामीले उहाँको सम्बन्धित मान्छेलाई भने जानकारी गराएका थियौं । सायद उहाँले थाहा पाइसक्नु भएको थियो होला’, सुनारले जोडे ।

पल रिसाउलान् कि भन्ने चिन्ताले गर्दा सिधै भन्न नसकेको उनी बताउँछन् ।

‘सायद उहाँ पनि रिसाउनु भयो होला । मलाई यस्तो कुरा गर्न अफ्ठ्यारो लाग्छ, त्यही भएर कारणसहित उहाँको मान्छेलाई खवर पुर्याइदिन भनेको थिएँ । सायद भन्दिनु भयो होला । कारण सुनेपछि उहाँले नै म चलचित्र गर्दिन भन्नुहुन्छ कि भन्ने प्रतिक्षमा पनि थिएँ । तर के गर्ने प्रोजेक्ट हो अगाडी बढाउनै पर्यो । म केही बाध्यतामा परेँ, त्यत्ति हो,’ उनले सुनाए ।

निर्माण टिमले पललाई चलचित्रमा अनुबन्ध गराउने समय ‘साइनिङ अमाउन्ट’ रुपरुप एड्भान्स पनि दिइसकेको थियो । उक्त रकम आफुहरुले फिर्ता नलिने सुनारको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले साइन गर्दा केही रकम एडभान्स दिएका थियांै । त्यो हामी फिर्ता लिदैनौं । हाम्रो सम्झौता पनि त्यही हिसावको थियो । अर्को हाम्रो नैतिकताले पनि दिँदैन । यस्तो परिस्थिति आउँछ भन्ने सोचेका पनि थिएनौं ।’

सुनारले बताउन नचाहे पनि यो चलचित्रमा पललाई खेलाउने विषयमा टिमका धेरै जनाबाट सुरुबाटै ‘अब्जेक्सन’ रहेको बुझिएको छ । पलको छवि र कन्ट्रोभर्सीलाई देखाउँदै उनीहरुले पललाई खेलाएमा आफूले छोड्ने चेतावनीसमेत दिएका थिए ।

रेड बर्ड र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखकसमेत सुनार आफैं हुन् । चलचित्रलाई किरण नेपालीले निर्माण गर्दैछन् । चलचित्रको छायाङ्कन यहीँ तिहारपछि हुने जनाइएको छ भने प्रदर्शन मिति चैत अन्तिमलाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर