अपाङ्ग छोरासहित वृद्धाश्रम पुगेकी शकुन्तलाको बिलौना- सहकारीले सबै सम्पत्ति खाइदियो (भिडिओ) – Nepal Press

अपाङ्ग छोरासहित वृद्धाश्रम पुगेकी शकुन्तलाको बिलौना- सहकारीले सबै सम्पत्ति खाइदियो (भिडिओ)

चितवन । काठमाडौँको एक सहकारीले भएको जेथा सबै खाइदिएपछि एक ज्येष्ठ महिला वृद्धाश्रमको सहारामा पुगेकी छन् । लामो समय काठमाडौँमा बसेर परिवारले नै जीवनभर कमाएको १३ लाख रुपैयाँ सहकारीले खाइदिएपछि अपाङ्ग छोरासहित वृद्धाश्रममा सहारा पुगेकी हुन् ।

पर्साको वीरगञ्जका बासिन्दा भएपनि शकुन्तला गार्डियाको परिवार लामो समयदेखि काठमाडौँ बसेर सानो इलेक्ट्रोनिक पसल चलाएर बसिरहेको थियो । त्यहि पसलको कमाइले उनको एक अपाङ्गता भएका छोरा र श्रीमानले जीविका चलाइरहेका थिए ।

काठमाडौँको डल्लु पुलमा पसल चलाएका उनीहरुले दैनिक संकलनमा आउने काठमाडौँको नरदेवीमा रहेको दिव्यशान्ती बचत तथा ऋण सहकारी संस्थामा कमाइको रकम संकलन गर्दै गए । ‘थोरै थोरै गरेर बचत गरेको १३ लाख रुपैयाँ सहकारीमा थियो, वृद्धाश्रममा आइपुगेकी गाडियाले भनिन्, – सहकारीले सबै पैसा खाइदियो, बस्ने खाने ठाउँ भएन ।

 

उनले प्रहरीमा आफ्नो रकम उठाइपाउँ भनेर डेढ वर्षयता उजुरी दिएपनि अहिलेसम्म केही सुनुवाइ नभएको बताएकी छन् ।
उनको श्रीमान पनि रोगले थलिएर मृत्यु भएको वर्षदिन भएको छ । उत्तम गाडिया लामो समय रोगले थलिएर मृत्यु भएपछि उनीहरुको डल्लु पुल नजिकै रहेको इलेक्ट्रोनिक पसलको भाडा ६६ वर्षकी सकुन्तलाले तिर्न सकिनन् । भाडा तिर्न नसकेपछि पसलको सामान घरबेटीले नै राखिदिए । उनको छोरा उज्वल अपाङ्ग छन् । राम्रोसँग हिँडडुल गर्न सक्दैनन् ।

छोराको हेरचाह गर्ने कि कमाउन जाने उनसँग उपाय नभएपछि वीरगञ्ज स्थित जेठाजुसहित आफन्त भएको ठाउँमा उनी पुगेकी थिइन् । स्थानीय व्यवसायी भएको कारण सहयोग पाइने आशा लिएर गएपनि उनलाई आफन्तले समेत आश्रय दिएनन् ।

बरु जेठाजुको छोराले आफ्नो गाडीमा राखेर मकवानपुरको मनहरी स्थित ब्रह्मा कुमारी राजयोग उपशाखा केन्द्र मनहरीले सञ्चालन गरेको आमाघर सेवा आश्रममा ल्याएर छोडिदिए ।

आश्रमका संरक्षण विजयराज तिमिल्सिना भन्छन्, – चिल्लो गाडीमा आफन्तले ल्याएर छोडेर गएका दिनदेखि आमा छोराको खबर गर्न कसैले सम्पर्क गरेका छैनन् । तीन महिनायता उनीहरु आश्रममा नै रहेका छन् ।

सकुन्तलाले आमाघरमा आश्रय लिन आइपुग्नुअघि अपाङ्ग छोरा लिएर धर्मशालाहरुमा कहिले दुई दिन, कहिले तीन दिन गरेर आश्रय लिने गरेको बताइन् । ‘छोरा लिएर बस्ने आश्रय नपाएर कहिले कुन धर्मशालामा दुई दिन, तीन दिन बस्ने गर्थेँ, उनले भनिन्, – एकदुई दिन बसेपछि यहाँ राख्न सकिँदैन भन्थे । अहिले त तीन महिनादेखि खान लाउन पाएका छौँ । सुविधासँग बस्न पनि पाएका छौँ ।

सहकारीले रकम ठगेको विषयमा संसदीय समितिले नै अध्ययन गरेर प्रतिवेदन बुझाएको अवस्था भएपनि डेढ वर्षदेखि प्रहरीमा गरेको उजुरी सुनुवाइ नभएकोले आफ्नो जीवनभरीको कमाइ फिर्ता आउने आशा सकुन्तलाले मारिसकेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *