भारतको दिल्लीले पायो तेस्रो महिला मुख्यमन्त्री- को हुन् मार्क्स र लेनिन ‘जोडिएकी’ अतिशी ? – Nepal Press

भारतको दिल्लीले पायो तेस्रो महिला मुख्यमन्त्री- को हुन् मार्क्स र लेनिन ‘जोडिएकी’ अतिशी ?

काठमाडौं । भारतीय संघीय राजधानी क्षेत्र दिल्लीले महिला मुख्यमन्त्री पाएको छ । सन् २०१५ बाट निरन्तर मुख्यमन्त्री हुँदै आएका आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएको थियो । नयाँ मुख्यमन्त्री ४३ वर्षकी अतिशी हुने भएकी छन् । भारतीय तथा विश्व मिडियाहरुका अनुसार मंगलबार भारतीय समयअनुसार साढे चार बजे उनको शपथ हुने भएको हाे ।

अतिशीले शपथ खाएसँगै उनी दिल्लीको मुख्यमन्त्रीका साथै भारतको बहालवाला दोस्रो महिला मुख्यमन्त्री हुनेछिन् । २८ राज्य र ८ केन्द्र शासित इकाइ भएको भारतमा मंगलबारबाट पश्चिम बंगालकी ममता बेनर्जी र दिल्लीकी अतिशी दुई महिला मुख्यमन्त्री हुनेछन् ।

दिल्लीमा महिला मुख्यमन्त्री : बीजेपीकी सुषमा, कंग्रेसकी शिलापछि आपकी अतिशी

दिल्लीको मुख्यमन्त्री रेस रोचक छ । भारतका प्रमुख दलहरुले मुख्यमन्त्रीमा महिला उभ्याइसकेका छन् । सुरुमा भारतीय जनता पार्टी (बीजेपी) र त्यसपछि भारतीय राष्ट्रिय कंग्रेसले मुख्यमन्त्रीमा महिला ल्याएका थिए । आपले पनि अतिशीलाई मुख्यमन्त्रीमा ल्याएको छ । अतिशी दिल्लीकी तेस्रो मुख्यमन्त्री हुनेछिन् । उनीभन्दा अगाडि बीजेपीकी नेतृ तथा पूर्वविदेशमन्त्री सुषमा स्वराज सन् १९९८ मा दिल्लीको प्रथम महिला मुख्यमन्त्री भएकी थिइन् ।

कंग्रेसकी शिला दीक्षित दिल्लीको दोस्रो महिला मुख्यमन्त्री बन्न सफल भएकी थिइन् । उनको कार्यकाल लगातार १५ वर्ष रहेको थियो । उनले सन् २०१३ मा मुख्यमन्त्रीबाट बिदा लिएकी थिइन् ।

अतिशी : अक्सफोर्डकी स्नातकोत्तर

भारतीय मिडियाहरुका अनुसार उनको राजनीतिक यात्रा दशकअगाडि मात्रै स्थापना भएको आम आदमी पार्टीबाट सुरु भएको थियो । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २००३ मा इतिहासमा स्नातकोत्तर गरेकी थिइन् ।

उनी शैक्षिक परिवारमै जन्मेकी थिइन् । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार उनकी माता त्रिप्तावाही र पिता विजय सिंह दुवै दिल्ली विश्वविद्यालयका प्राध्यापक थिए । उनीहरुको सन्तानको रुपमा अतिशीको जन्म सन् १९८१ जुन ८ मा भएको थियो । पढाइ र राजनीति दुवै मोर्चामा सफल अतिशी वातावरण क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी दिगो विकास र नवीकरणीय ऊर्जाकी पक्षपाती हुन् ।

अन्ना हजारेदेखि आम आदमीसम्मको यात्रा

आम आदमी पार्टीको स्थापनामा जरो मानिने अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानमा डेढ दशक अगाडि जोडिएकी अतिशी आम आदमी पार्टीकी संस्थापकमध्ये एक हुन् । टाइम्स अफ इण्डियाका अनुसार सन् २०१३ मा आम आदमी पार्टीको चुनावी घोषणापत्र बनाउनेमा एक अनुहार उनी पनि थिइन् ।

केजरिवाल क्याबिनेटकी एक्ली महिला अनुहार उनलाई मुख्यमन्त्री केजरिवाल निकट मान्ने गरिन्छ । केजरिवाल पक्राउ हुँदा उनैले दिल्ली सत्ता चलाएको इण्डिया टुडेले लेखेको छ । सत्तामा भने उनी सन् २०१८ बाटै सीधा जोडिएकी थिइन् । भारतीय अखबार दि हिन्दूका अनुसार उनी सन् २०१८ मा अप्रिलसम्म दिल्लीका शिक्षामन्त्री मनिष सिसोडियाकी सल्लाहकार थिइन् । दिल्लीले शिक्षा क्षेत्रमा गरेको शैक्षिक सुधारको जसमा पर्ने एक पात्र उनी पनि हुन् ।

अहिले पनि अतिशीले दिल्लीको मन्त्रीको रुपमा १४ वटा महत्वपूर्ण विभागको जिम्मा लिइरहेकी थिइन् । उनले मुख्यमन्त्री बन्नुभन्दा अगाडिसम्म शिक्षा, संस्कृति, पर्यटन, ऊर्जालगायतका क्षेत्रको जिम्मा लिइरहेकी थिइन् । केजरिवालको राजीनामापछि मुख्यमन्त्री हुने पक्कापक्की भएपछि पत्रकारहरुसँग अतिशीले भनेकी थिइन्, ‘मलाई यो जिम्मेवारी आएको छ । म अरविन्द केजरिवालको अभिभावकत्वमा दिल्ली सरकार चलाउनेछु र दिल्लीका जनताको सुरक्षा गर्नेछु ।’

मातापिताले मार्क्स र लेनिन जोडेर राखेको नाम छोडेकी अतिशी

अतिशीको पूरा नाम अतिशी मार्लेना सिंह हो, तर आजभोलि उनी मार्लेना प्रयोग गर्दिनन् । उनका अभिभावकले कार्ल मार्क्स र लेनिनको नामलाई छोट्याएर अतिशीको नाममा ‘मार्लेना’ पनि थपेका थिए । अहिले अतिशी आफ्नो नाममा ‘मार्लेना’ लेख्न छोडेकी छन्, तर धेरै लामो समय भएको छैन । यो सन् २०१८ बाट सुरु भएको हो ।

बीजेपीका उम्मेदवार गौतम गम्भीरसँग लोकसभामा दिल्लीपूर्वबाट चुनाव लड्दा उनको दुवै नाम अतिशी मार्लेना प्रयोग भएको थियो, तर पछि मार्लेना उनका अभिभावकले मार्क्स र लेनिनको नामलाई मिसाएर बनाएको पत्ता लागेपछि धेरै विवाद भएको थियो । विवादको मियो बीजेपीमा थियो । उनले गौतम गम्भीरसँग सन् २०१९ को चुनाव हारिन् । धेरै विवाद भएपछि अतिशीले आफ्नो नामको बीचमा रहेको मार्लेना र थर सिंह प्रयोग गर्न छोडिन् ।

पहिले ट्विटरमा अतिशी मार्लेना हुनेमा अहिले अतिशीमात्रै प्रयोग गरिरहेकी छन् । पन्जाबी राजपूतकी सन्तान अतिशीलाई बीजेपी पक्षधरहरुले सन् २०१९ को चुनावमा ईसाई भनेर पनि हैरान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर