रास्वपा राष्ट्रिय भेलाः प्रतिवेदनमाथि छलफल र प्रदेशको रिपोर्टिङ – Nepal Press

रास्वपा राष्ट्रिय भेलाः प्रतिवेदनमाथि छलफल र प्रदेशको रिपोर्टिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला काठमाडौंमा जारी छ । आज बिहान सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले ‘घण्टी’ बजाएर उद्घाटन गरेको भेला भोलि निरन्तर रहने गरि आजलाई स्थगित गरिएको छ । भेलामा देशभर र प्रवाससमेतका गरि १ हजार ५ सय बढी प्रतिनिधि सहभागी छन् ।

भेलाको पहिलो दिन आज प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । कोशीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्चुतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनु पर्ने नीतिबारे पनि सुझाव दिएका थिए ।

आज नै ‘ओपन सेसन’अन्तर्गत कम्तिमा ५० जना प्रतिनिधिले धारणा राखेका थिए । उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरि टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लोस्तरका संगठन बलियो बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिएका थिए ।

आज नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीको श्रोत घटेको तथ्य राखिएको प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि ’पार्टी पिलर’को अवधारणा अघि सारिएको छ ।

आज नै अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेश गरे ।

यस्तै, उपसभापति स्वर्णिम वाग्लेले ’नीति–विचार’ प्रतिवेदन पेश गर्नुभयो। वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेको ’नीति–विचार’ प्रस्तावनाको संक्षिप्त व्याख्यासहित प्रतिवेदन पेश गर्नुभएको हो। उहाँले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलो महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए । २०८२ को बैशाखमा महाधिवेशन गर्ने रास्वपाको प्रस्ताव छ ।

भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी विधान संशोधनको प्रस्ताव पेश गर्नु भयो। प्रस्तावमा एक–एक महिलासहित ३÷३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएको छ। कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ ।

रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले भेला स्थलमै संयोजन गरेको रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन् । भेलास्थलमा स्वदेशी उत्पादनको प्रदर्शनी/बिक्री कक्ष पनि राखिएको छ ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर