विदेशमा पढेर स्वदेशी उद्योग धानेका अखिलेस
रुपन्देही । धेरै युवाहरु नेपालमा भविष्य नभएको भन्दै विकसित देशतर्फ दौडिरहेका बेला रुपन्देहीका ४० वर्षे अखिलेस कसौधन विदेशमा अध्ययन सकाएर यहीँ उद्यम चलाएर दर्जनौंलाई रोजगारी दिएका छन् ।
धेरै युवाहरु अध्ययनसँगै रोजगारी र व्यवसायका लागि विदेश जाने गरेपनि अखिलेसलाई त्यस्तो कहिलै मन पलाएन । सम्पन्न परिवारमा जन्मेका उनी भारतको नयाँदिल्लीबाट एमबीएस अध्ययन पूरा गरेका हुन् ।
उनीसँगै पढेका धेरै साथीहरु भारत र विभिन्न देशमा रोजगार र व्यवसायमा जोडिएपनि उनलाई यहीँको मायाले छाडेन । पारिवारिक रुपमा उनको नातासम्बन्ध पनि भारतमा धेरै छन् तर मातृभूमिमै केही गरेर देखाउने उद्देश्यले नेपाल फर्केका हुन् । रुपन्देहीमा मात्रै होइन नेपालमै स्थापित शिवशक्ति सोप इण्डष्ट्रिज तथा उद्योग र ओम सोपका संचालक हुन् उनी ।
बुटवलस्थित शिवशक्ति सोप इण्डष्ट्रिजले उत्पादन गरेका रिचलगायतका साबुनका ब्राण्ड देशभरमै मात्र होइन भारतमा पनि निर्यात भइरहेको छ । उनका बुवा स्व. सतिश कसौधनले स्थापना गरेको यो उद्योगलाई अहिले अखिलेसले आधुनिक र नयाँ प्रविधिमा लगेर संचालन गरिरहेका छन् । आमा, श्रीमति र दुई बच्चासहित भाइ तथा बुहारीको परिवार अहिले साथमै रहेको छ ।
उद्योगसँगै उनी विभिन्न सामाजिक काममा समेत जोडिएर नयाँ पुस्तालाई यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिन खोजिरहेका छन् । नेपाली उद्यमी मन्चको पूर्वअध्यक्ष, बुटवल राउण्ड टेबलको संस्थापक अध्यक्ष, रुपन्देही उद्योग संघको कार्यसमिति सदस्यलगायतका विभिन्न सामाजिक संस्थामा आवद्ध उनी सामाजिक अभियानमा जोडिएका छन् ।
अहिले उद्योग क्षेत्रमा बढेको निराशालाई सबै मिलेर घटाउन सकिने र उद्योगको विकासबाटै देशलाई आत्मनिर्भर बनाउन सकिने उनको विश्लेषण छ । ‘नेपाली बजारमा प्रशस्त संभावना रहेपनि सरकारी नीतिका कारण केही समस्या रहेको छ, सबैको साथ, सहयोग र समन्वयमा नेपाली उद्योगलाई स्थापित गर्दै लैजानुपर्ने अवस्था छ ’ उनले भने ।
५० जनालाई प्रत्यक्ष रोजगार दिएको उद्योगलाई अहिले आधुनिक प्रविधिमैत्री बनाएर चलाएका कसौधनले खुला सिमानाका कारण भएका उद्योगीका समस्याका विषयमा विशेष ध्यान दिँदै नेपाली उत्पादनको बजारीकरणमा विशेष योजना बनाउनुपर्ने नियामक निकायलाई सुझाव दिन्छन् ।
युवा उमेरमै उद्योगमा प्रवेश गरेका उनले भने–‘मेरो परिवारमा वुवा सानैदेखि नै उद्योगी हो । बुवाले आफूसँगै धेरैजनालाई यो क्षेत्रमा प्रवेश गराएर स्थापित गराउभयो, म भारतको दिल्लीमा अध्ययन गरेको हुँ । सन् २००८ मा एमबीएस सकाएपछि बुवाको सल्लाहमा म उद्योग प्रवेश गरेको हुँ ।’ ‘ठूलो लगानीको उद्योग भएकाले र व्यवसाय पनि त्यसैगरी धेरै हुने भएकाले यहाँको भित्री कुराहरु सबै सिक्नका लागि समय लाग्थ्यो । मलाई काम सिकाउन थालेसँगै बुवाले क्रमशः आफ्नो काम कम गराउँदै जानुभयो । तर अचानक बुवाको निधन भयो । हामीलाई निकै ठूलो संकट आइलाग्यो’ कसौधनले भने–‘उद्योगको काम मैले सिकेको भएपनि बुवाको संरक्षणका कारण धेरै सजिलो भएको थियो । बुवाको निधनपछि आमा, भाइ तथा मेरो परिवारले क्रमशः त्यो पीडालाई भुल्दै आफ्नो जिम्मेवारीलाई अगाडि बढाउँदै गयौं ।’
भारतमा अध्ययन गरेको र त्यहाँ काम गर्न धेरै सुविधा रहेपनि आफ्नै भूमिमा केही गर्न फर्केको उनको भनाइ छ । ‘म उता पढ्न, केही सिक्न गएको थिएँ । मलाई कहिले पनि विदेशमा बस्ने, कुनै काम गर्ने र धेरै कमाउने भन्ने सोँच नै आएन । नेपालमा यति धेरै संभावनाका छ’ उनले भने–‘कहिले पनि विदेशको भूत चढेन । स्वदेशमै केही गरेर देखाउने सोँच पहिलेबाट आउँथ्यो । विदेश घुम्न जाने हो, केही सिक्न जाने हो, केही पढ्न जाने हो तर त्यसको सबै सदुपयोग नेपालमा नै गर्नुपर्दछ भन्ने अठोट छ । सामाजिक र व्यवसायिक जीवन सबै यही भएको मान्छेलाई विदेश गएर गुमनाम भएर बस्ने मन हुँदैन ।’
धेरै युवाहरु देश छाडेर बाहिर गइरहेपनि यहाँ केही नभएर गएको भन्ने निराशालाई सबै मिलेर चिर्नुपर्ने र यहाँ गरेर देखाउने संभावना रहेको उनको भनाइ छ । ‘बाहिर काम गर्दा अरुको लागि गर्ने हो । हो अहिले धेरै युवाहरु बाहिर गएको हामीले देखेका छौं, केही कमाएको पनि देखेका छौं तर उनीहरुका दुःख हामीले देखेका छैनौं । उनीहरुका समस्या, उनीहरुका परिवारका समस्याका बारेमा ध्यान नै दिएका छैनौ’ कसौधनले भने–‘परिवार, समाज र राज्यका लागि काम गर्ने र अपनत्व महशुस गर्नका लागि नेपालमै बसेर काम गर्ने अठोट लिएर अगाडि बढेको छु । कामका लागि देशबाहिर जाने रहर भएन तर घुम्नका लागि भने जानुपर्दछ, जाने हो ।’
उनले आफ्नो परिवारको जग नै उद्योग भएको र पहिलेबाटै संस्थागत रुपमा संचालन भएकाले बुवाको अभावमा उद्योगमा धेरै समस्या नभएको उनको भनाइ छ । ‘प्रणालीमा पहिलेबाट नै चलिरहेको र राज्यमा सबै निकायमा समयमै अपडेट भइरहेकाले यसलाई संहाल्नु त्यति धेरै समस्या त थिएन तर बुवाको अभाव कस्तो हुन्छ भन्ने विषय त परेकालाई मात्रै महशुस हुन्छ ।’ उनले भने–‘आमा, भाइ र बुहारी तथा मेरो श्रीमति र दुई छोराछोरीसहितको परिवार रहेको छ । भाइले पनि उद्योगमै साथ दिएका छन् । मैले वुवाले गरेको पेशालाई व्यवसायिक बनाएर अगाडि बढाएँ, अहिले भाइले पनि साथ दिएको छ, आफ्नै देशमा लगानी गरेर परिवारसँग बस्न पाइएको छ, यसमै खुसी लागेको छ ।’
नेपालका अधिकांश उद्योगहरु खुला सिमानामा कारण समस्यामा बताउँदै उनले भने–‘भारतबाट आउने हरेक उत्पादनसँग मूल्य र गुणस्तरमा अस्वस्थ प्रतिस्पर्धा, कामदारको उस्तै समस्या, गुणस्तरीय कच्चा पदार्थ निश्चित समयमा नपाइनु, बजारको तरलताले पारेका प्रभाव, बैकिङ ब्याजदरका समस्यालगायतका समस्याहरु छन् ।’
कसौधनका अनुसार नेपाली उद्योगमा लागत खर्च बढी छ, उद्योग चलाउन जग्गा महंगो छ, कामदार महंगो छ, कच्चा पदार्थ किन्न उस्तै महंगो छ, विजुली, अन्य सेवाहरु महंगो छ र समयमा केही गर्न पाउँदैनन् तर उद्योगीले सम्पन्न छिमेकी देश भारत र चीनका उत्पादनसँग लडेर बस्नुपरेको छ ।
नेपाली उद्योगको संरक्षण गर्न यहाँबाट उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्दै यहाँ उत्पादित वस्तु खपत नहुँदासम्म भन्सारमा कडाई नगरेसम्म समस्या समाधान हुँदैन । त्यसलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने, युवापुस्तालाई उद्योग क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्ने, लगानी सुरक्षित बनाउने वातावरण बनाउनुपर्ने, उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्नुपर्ने, आवश्यक कच्चा पदार्थ समयमै किन्न पाउनुपर्ने व्यवस्था नगर्दासम्म अहिलेको अवस्था सुधार नहुने उनको विश्लेषण छ ।
थोरै लगानीमा धेरै उत्पादन गर्ने प्रविधि भित्राउने, उद्योगीलाई सहजै कच्चा पदार्थ दिलाउने र निरन्तर उद्योग चलाउने वातावरण बनाए छिमेकी मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै उनी भन्छन्–‘अहिले धेरै उपभोक्ता विदेशिएका छन्, ग्राहक नै कम भएका छन् । यसलाई ध्यानमा राखेर वस्तु उत्पादन गर्नुपर्ने भएको छ ।’
उनको उद्योग रुपन्देहीमा भएपनि यहाँबाट उत्पादन भएका वस्तुहरु देशका विभिन्न स्थान तथा भारतमा पनि जाने गरेको छ । बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन गर्ने र बजारीकरणमा पनि केही नयाँ रणनीति बनाउनुपरेको छ ।
‘पहिलेजस्तो सहज बजार छैन । त्यसैले कस्तो उत्पादन खपत हुन्छ भन्ने आधारमा उत्पादन र बजारीकरण गरेका छौं । उपभोक्ता विदेशिएका छन् । दक्ष जनशक्ति र नयाँ पिँढी सबै विदेश गइरहेको अवस्थाले सबै क्षेत्रमा गम्भीर संकट ल्याइरहेको छ । नेपालमा उद्योगहरु सहजरुपमा संचालन गर्नका लागि राजनीतिक दल र सरकारको उद्योगमैत्री नीति र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्दछ ।’ उनले भने –‘बाहिर गएको दक्ष जनशक्ति नर्फकने र नयाँ उद्यमी नआउने अवस्थाले आर्थिक समृद्धि सम्भव छैन । नयाँ पिँढीले तत्काल प्रतिफल खोजिरहेको छ, त्यसलाई ध्यान दिएर योजना बनाउनुपर्छ, बाहिर बस्नेहरुको लगानी सुरक्षा गरेर ग्यारेन्टी नगर्दासम्म अब उनीहरु यहाँ सजिलोगरी लगानी गर्न आउने अवस्था छैन, युवापिँढी फर्कने वातावरण बनाउनुपर्दछ ।’
सरकारले मात्रै नभएर निजी क्षेत्रमा रहेका संघसंस्थाहरुले पनि यस्तो वातावरणका लागि सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।