किन खाली हुँदैछन् गाउँशहरका घर ? यस्ता छन् रोक्ने विकल्प
लामो समयको अन्तरालमा बुटवलका पर्यटन व्यवसायी हिराध्वज शाहसँग २०८१ भदौको दोस्रो साता भेट भयो । बीटीआईको कम्पाउन्डभित्र होटल गरेका शाहले सो ठाउँको म्याद नबढेपछि नहरपुरस्थित आफ्नो निजी जग्गामा सामान लगेर होटल शुरु गरेका छन् । कुनै समय मिनरल वाटर कम्पनी संयुक्त रुपमा सञ्चालन गरेकाले पारिवारिक कुरा थाहै थियो । सन्तानको रुपमा दुई छोरा र एक छोरी रहे पनि एउटा छोरा सपरिवार लन्डन, अर्को काठमाडौंमा अध्यापनसहित पत्रकारिता, बुहारी अस्ट्रेलिया र छोरी भर्खरै विश्व स्वास्थ्य संगठनअन्तर्गत ब्रसेल्स र ज्वाइँ प्रहरीको उच्च अधिकृत रहेकाले नेपालमै कार्यरत छन् ।
एउटा परिवार कसरी वैश्वीकरणको प्रभावमा परेको छ भन्ने कुराको यो उदाहरणमात्र हो । गुल्मीमा जन्मेर धेरै दुःख गरी बुटवलको लक्ष्मीनगरमा स्थायी बसोबास गर्न सफल उनका लागि यो सानो सफलता हैन । यो एक प्रकारको वैभव त हो, तर मनमा शान्ति छैन । मानिस खुशी हुन सुखले मात्र हुने रहेनछ । खुशी र सुखी हुनु फरक विषय हो ।
रित्तो हात बुटवल आएका हुन् उनी । अहिले फर्साटिकरमा दुई बिघा जग्गा, नहरपुरमा १० कठ्ठा जग्गामा होटल, लक्ष्मीनगरमा आवश्यक परे होटल चलाउन सकिने दुई कठ्ठा जग्गा र घर । यतिसम्म मैले देखेको हो । अरु केही पो छ कि मैले सोधेको छैन ।
२०७९/०८० मा उनी लन्डन गए छोराबुहारी र नाति भेट्न ! सो अवसरमा संयोगवस एकजना नुवाकोट घर भई सचिवबाट निवृत्त भएका व्यक्तिसँग भेट भएछ । छोराबुहारी, नातिनातिना सबै उतै रहेछन् । यता नुवाकोट छोडेर काठमाडौंमा १० रोपनी जग्गामा केही टहरा र घर रहेछ । बेलाबेला भाडा उठाउन छोरा आउने रहेछन् । आफूले एक्लो जीवन बिताउन किन जाने भनेर आउँदा रहेनछन् ।
मुलुकमा केही नभएर विदेश जानेले भन्ने गरेको रोजगारीको अभावले मात्र यो समस्या सृजना भएको हो कि अरु पनि कुनै कारण होला ?
सरकारी जागिर खाएर राम्रै सम्पत्ति जोडेको पाइयो । कसरी जोडे उनैले जानून् । मैले भन्न खोजेको यस्ता नेपाली विश्वभरि कति होलान् ? जो नेपालको घर सम्पत्ति छोडेर विदेशिएका छन् । कुरा आजको दिनको मात्र हैन, अबको दश वर्षपछि के अवस्था आउला ?
अब फरक प्रसंग
२०८१ भदौ १५ गतेका अधिकांश मिडियामा जापानमा वर्षको पहिलो ६ महिनामा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेको कुरा सार्वजनिक भयो । उनीहरुको मृत्यु एक्लोपनका कारण भएको थियो । मृतकमध्ये ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका रहेछन् । यसमध्ये पनि करिब ४ हजार मानिसको शव एक महिनापछि फेला परेको थियो । १३० जनाको शव करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन ।
यो तथ्यांकले के संकेत गर्छ ? विकसित देशको हालत यस्तो छ भने हामीले खोज्ने विकास के हुन सक्ला ? गम्भीर प्रश्न उठेको छ ।
जापान सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या हुने मुलुक हो । सायद यही कारण हो कि एक्लोपनको गम्भीर समस्या देखापरेको छ । जापानले सन् १८५४ मा पहिलो पटक पश्चिमी देशहरूसँग व्यापार सम्बन्ध स्थापित गरेपछि आधुनिक काल शुरु भयो र करिब १०० वर्षपछि सन् १९४५ मा हिरोशिमा तथा नागासाकीमा अमेरिकाले परमाणु बम खसालेपछि तहसनहस भयो ।
यसरी उठेको जापानले आफूलाई आर्थिक शक्तिको रूपमा सुदृढ गर्दै अब्बल मुलुक कहलियो । विकासको नमुना सुन्न जापानको कुरा गर्नुपर्दथ्यो, तर आज यस प्रकारको अवस्था आइपुगेको छ । यो एकल परिवारको परिणाम पनि हो ।
तैपनि जापान यो अवस्थामा आइपुग्न ६०-७० वर्ष लाग्यो, तर नेपाल त्यो अवस्थामा पुग्न यतिका वर्ष कुर्नुपर्ने छैन । किनकि अत्यन्तै तीव्र गतिमा हामी रुपान्तरण हुने गरेका छौं । प्रारम्भमा नुवाकोटे सचिवको जो मैले उल्लेख गरें, त्यो त उदाहरणमात्र हो । हजारौं हैन, लाखौंको संख्यामा त्यो अवस्था होला । हिराध्वज शाहमा जुन असन्तुष्टि देखिँदैछ, त्यो पनि लाखौं नेपालीको प्रतिनिधिमूलक घटना हो ।
गत दश वर्षको बीचमा पहाडी क्षेत्रमा विकासका संरचना यति तीव्र रुपमा बनेका छन् कि तिनको उपयोगिताका बारेमा धेरै प्रश्न गर्न सकिन्छ । कुरा पहाडको मात्र हैन, अहिले शहर पनि खाली हुने क्रम चलेको छ । नेपालबाट जसरी युवा पलायन भइरहेको छ, अन्ततः त्यसको परिणाम के होला ? धेरै दिमागी माथापच्ची गर्नुपर्दैन । हरेक गाउँ र शहरको उपर्युक्त तथ्य प्राप्त हुनेगरी जनसांख्यिक विवरण संकलन गरे पुग्छ । मुलुकमा केही नभएर विदेश जानेले भन्ने गरेको रोजगारीको अभावले मात्र यो समस्या सृजना भएको हो कि अरु पनि कुनै कारण होला ?
प्रायः विदेशतिर सबै घर आरसीसी बन्दैनन् । स्थानीय कच्चापदार्थमा आधारित सुविधा सम्पन्न घर बनेका हुन्छन् । यसो गर्दा नेपालमा पनि कम्तीमा ३३ प्रतिशत बचत हुन्छ । त्यो पैसा पेशा, व्यवसायमा लगानी गर्दा पैसा देशभित्रै रहने थियो । हाम्रो ध्यान यसतर्फ गएन ।
नेपालमा यतिवेला बहसको अर्को विषय पैसा कहाँ गयो भन्ने पनि छ । व्यापार, उद्योग नचलेपछि पैसा कतै गयो होला ! म अहिले त्यसबारे चर्चा गर्दिनँ, तर बेफ्वाँकमा पैसा खर्चेर हामीले अनावश्यक दुःख बेसाइरहेका त छैनौं ?
प्रायः शहरका घर किन खाली भइरहेका छन् ? व्यापार नभएर हो कि उपभोग गर्ने व्यक्ति नभएर हो ? प्रश्न यहाँनिर पनि छ । उपभोक्ता कसरी बढ्छन् ? अहिले परिवारको संख्या घटेको छ । एक परिवार पाँच सदस्य हाम्रो परम्परागत मान्यता भत्कँदैछ । अब औसतमा एक परिवार चार वा तीन सदस्यको अवस्था होला । त्यो पनि प्रायः घरमा बुढाबुढीमात्र रहने अवस्था विद्यमान छ ।
अर्थात् प्रकारान्तरले हामी जापानकै बाटोमा छौं । म सुन्दैछु, अब दक्षिण कोरियाले पनि स्थायी बसोबासको प्रवन्ध गर्दैछ । संसारमै सबैभन्दा थोरै बच्चा पाउने मुलुक यतिवेला दक्षिण कोरिया हो । उनीहरु विवाह गर्न मान्दैनन् रे ! किनकि विवाह गरेर सँगै बस्ने र बच्चा जन्माउने फुर्सद हुन छाड्यो । यही कारण हो, उसले स्थायी बसोबासका लागि विदेशबाट जाने वातावरण बनाउँदैछ । अन्यथा श्रम बजारमा मानिसको खाँचो पर्नेछ र अहिले सञ्चालनमा आएका उद्योगधन्धा वा खेतीपाती ठप्प हुनेछन् ।
कतिपय कुरा सुन्दा लाग्छ, यी सबै सपनामात्र हुन् कि ? तर हैन ।
अर्को पक्षबाट पनि हेरौं
नेपालमा यतिवेला बहसको अर्को विषय पैसा कहाँ गयो भन्ने पनि छ । व्यापार, उद्योग नचलेपछि पैसा कतै गयो होला ! म अहिले त्यसबारे चर्चा गर्दिनँ, तर बेफ्वाँकमा पैसा खर्चेर हामीले अनावश्यक दुःख बेसाइरहेका त छैनौं ?
यसबारे मलाई लागेको एउटा पक्ष यस्तो छ-
विसं २०५२ सालको कुरा हो । मेरो बुवा बुटवलमै हुनुहुन्थ्यो । सानो कोठा भाडामा लिएर बसेको थिएँ । घर बनाउने उपाय थिएन । जिन्दगी कहाँ पुग्छ, त्यो पनि थाहा थिएन । आमाको निधन भइसकेकाले बुवाका लागि एक्लो जीवन थियो । पहाडबाट कपिलवस्तुको विजयनगर, वाणगंगा, रुपन्देहीको रामापुर हुँदै बुटवलको आदर्शनगरस्थित एउटा कोठामा सीमित हुनु चानचुने कुरा थिएन । बेलवासमा कच्ची जग्गामा घडेरी त थियो । घर बनाउने उपाय थिएन । एक दिन बुवाले घर नबनाउने भए देवघाटतिर गएर बस्छु भन्नुभयो ।
बुवाको चिन्ता- कसैगरी आफ्नो मृत्यु भयो भने अर्कैको घरमा बसेर कसरी काजक्रिया हुन्छ ? अहिले जस्तो त्यतिवेला क्रिया घर पनि बनेका थिएनन् । त्यतिवेला श्रीसगरमाथा दैनिकमा काम गर्थें । विज्ञापन आदि उठाएर विशेषांक प्रकाशन गरेकाले एकै पटक ३० हजार रुपैयाँ प्राप्त भयो र मैले बेलवासमा आएर घर बनाएँ । बुवा एक हदसम्म खुशी हुनुभयो ।
अर्थात् हरेक नेपालीको सपना एउटा घर बनाउने हुन्छ । दुई-अढाई तले घर बनाउँदा कम्तीमा ६० देखि ९० लाखसम्म खर्च आउँछ । एक तलाको घर बनाउँदा पनि सिमेन्ट, इँटा, डन्डी, गिट्टी-बालुवा, झ्यालढोका, पाइप, ट्यांकी, भान्सा, बाथरुम, टायल-सिंगमर, बिजुली जडान, रंगरोगनसमेत गर्दा कम्तीमा ४० लाख खर्च हुन्छ । भूकम्प प्रतिरोधीको नाममा सिमेन्ट र छडको सत्यनाश भइरहेको छ ।
यो पैसाको पनि करिब ५० प्रतिशत विदेश जान्छ । केही समय अघिसम्म भाडामा लगाएर बुढेसकालमा जीवन गुजार्ने मानसिकता थियो, तर अहिले अवस्थामा बदलाव आयो । घर सफाइ गर्नसमेत मान्छे खोज्नुपर्ने अवस्था आउँदैछ ।
खासमा व्यवसायिक घर र ठूला आवास घर (अपार्टमेन्ट) बाहेक अन्यको हकमा आरसीसी हुन नपर्ने वा नपाइने व्यवस्था राज्यले गरिदिने हो भने यति धेरै पैसा सकिने थिएन ।
अब प्रश्न उठ्छ, आवासका लागि त्यति धेरै खर्च गर्नु उचित हो ? मेरो विचारमा यो सर्वथा अनुचित हो ।
प्रायः विदेशतिर सबै घर आरसीसी बन्दैनन् । स्थानीय कच्चापदार्थमा आधारित सुविधा सम्पन्न घर बनेका हुन्छन् । यसो गर्दा नेपालमा पनि कम्तीमा ३३ प्रतिशत बचत हुन्छ । त्यो पैसा पेशा, व्यवसायमा लगानी गर्दा पैसा देशभित्रै रहने थियो । हाम्रो ध्यान यसतर्फ गएन । अर्थात् कुनै पनि सरकारले यसप्रकारको नीतिगत व्यवस्था गरेनन् । अनुसन्धानकर्ताहरुले मानिसलाई चाहिने यस्ता विषयमा अनुसन्धान गर्दैनन् ।
खासमा व्यवसायिक घर र ठूला आवास घर (अपार्टमेन्ट) बाहेक अन्यको हकमा आरसीसी हुन नपर्ने वा नपाइने व्यवस्था राज्यले गरिदिने हो भने यति धेरै पैसा सकिने थिएन । यस्ता धेरै उदाहरण छन् । दुईचार घरलाई सडक, विद्युतलगायत भौतिक संरचनामा हुने खर्च त्यत्तिकै डरलाग्दो छ । के हामीले यस्ता ससाना विषयमा लगानीको अनुपातमा हुने लाभको हिसाब गरेर नवीन ढंगले काम गर्न सक्दैनौं ? स्थानीय तहमध्ये देशभरबाट कुनै एउटा पालिकाले पनि यस्ता विषयमा चिन्तन किन गर्दैन ?
गत वर्ष जापानकै सन्दर्भमा सार्वजनिक भएको एउटा समाचारमा ५ लाख घर खाली रहेको तथ्य प्रकाशमा आएको थियो । घर खाली, गाडी बेवारिस, मान्छेका शव कैयौं दिनसम्म हराउने जस्ता यावत समस्या संसारव्यापी नै हुने देखिन्छ ।
कुरा जापानको मात्र हैन, नेपालमा पनि अबको १० वर्षमा ३० प्रतिशत घर खाली हुनसक्ने देखिन्छ । किनकि पहाडमा अहिले पनि सो संख्याभन्दा बढी खाली नै छन् । वास्तवमा अहिले घरहरुमा गरेको लगानी माटोमा विलिन हुने अवस्था हामीले कुरेर बसेका छौं । यसै पनि हेर्दा के देखिन्छ भने पहिलो पुस्ता बसेको घरमा दोस्रो पुस्ता र दोस्रो पुस्ता बसेको घरमा तेस्रो पुस्ता नबस्ने अवस्था देखिँदै गयो । त्यसैले हरेक नागरिकले आवासका लागि बनाउँदा आफ्नो कार्यकालका लागि मात्र घर बनाउनुपर्यो ।
कसैले व्यवसायिक वा अपार्टमेन्टमा लगानी गरेर व्यवसाय गर्छ भने त्यसलाई सरकारले प्राथमिकता दिन जरुरी छ । प्रश्न के हो भने यस्ता विषयमा कसले जानकारी गराउने ? जनतालाई कसरी बुझाउने ? मेरो सम्पत्ति जे गर्न पनि पाउँछु भनेर खर्च गर्न दिने कि सही व्यवस्थापन गर्ने ?
यस्ता अनेक पक्षमाथि मसिनो गरी केलाउँदै जाने हो भने अर्बौं रुपैयाँ बचत हुनसक्छ र बचत पैसा हाइड्रोपावर, पर्यटनका पूर्वाधार वा अन्य आम्दानी हुने क्षेत्रमा लगानी गराउन सकिन्छ । सार्वजनिक क्षेत्रमा कम्पनीमार्फत् समयावधि तोकेर लगानीको वातावरण बनाउँदा त्यसबाट प्राप्त मुनाफाले जीवनको उत्तरार्द्ध सुखी र खुशी हुनसक्छ । यसो गर्दा राज्यको बोझ पनि कम हुनसक्छ ।
प्रश्न के हो भने यस्ता विषयमा कसले जानकारी गराउने ? जनतालाई कसरी बुझाउने ?