सुदूरपश्चिम माओवादीको विद्यार्थी सङ्गठनमा पनि गुटको लडाइ : फेरि वर्षमान र जनार्दन आमनेसामने – Nepal Press

सुदूरपश्चिम माओवादीको विद्यार्थी सङ्गठनमा पनि गुटको लडाइ : फेरि वर्षमान र जनार्दन आमनेसामने

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

प्रदेश सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गरिएको छ । १३ पदाधिकारीमा दुई जना सर्वसम्मत भए पनि अन्यमा भने मतदान भएको थियो । सदस्यहरू भने सबै सर्वसम्मत भए । ६५ सदस्यीय कमिटीमा ५४ सर्वसम्मत हुँदा ११ जना पदाधिकारीको लागि निर्वाचन भयो । पदाधिकारी निर्वाचनमा माओवादी भित्रै चरम गुटबन्दी देखिएको छ ।

माओवादी दुई उपमहासचिव वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर निकटका विद्यार्थी नेताहरू दुवै टिम बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रका नेता विभाजित हुँदा प्रदेश स्तरमा नेताहरू पनि दुई टिममा देखिएका छन् ।

वीर बहादुर थापा प्यानललाई अनन्त निकटका नेता कार्यकर्ताहरूको समर्थन रहेको देखिएको छ भने वीरेन्द्रराज विष्ट प्यानलाई प्रभाकर निकट नेता कार्यकर्ताहरूको समर्थन देखिएका थियो ।

यसअघि वर्षमानसँग देखिएका माओवादी प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने प्रभाकर निकट रहेका अध्यक्ष उम्मेदवारलाई समर्थन गरेका थिए । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेश धामी पनि सोही टिममा देखिए ।

विष्टको पक्षमा स्थायी समिति सदस्य खगराज खगराज भट्ट, हरि ज्ञवाली, नरेन्द्र कुवर, जनक बुढा, दीपक साउद, अक्कल रावल, वीरमान चौधरी लगायतले समर्थन गरेका थिए । थापा प्यानलाई त्रिलोचन भट्ट, ओमविक्रम भाट सरल, मानबहादुर धामी, मानसिंह माल, झपट साउद लगायतले समर्थन गरेका थिए ।

माओवादी उपमहासचिव समेत रहेका प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल र सहइन्चार्ज विना मगरले खुलेरै कसैलाई समर्थन वा विरोध नगरे पनि उनीहरूको ग्रिन सिग्नल भने फरक फरक प्यानलाई रहेको थियो । पोख्रेलले प्रभाकर निकट रहेका अध्यक्षका उम्मेदवार विष्टलाई र मगरले अनन्त निकट अध्यक्षका उम्मेदवार थापालाई ग्रिन सिग्नल दिएका थिए ।

माओवादी नेताहरू मात्रै होइन विद्यार्थी नेताहरू पनि दुई टिममा विभाजित भए । प्रदेश अध्यक्ष दीपक डिसी र महासचिव डम्बर भट्टराईले विष्टलाई, प्रदेशको इन्चार्ज भीम भट्ट र दुई उपाध्यक्षले थापालाई समर्थन गरेका थिए ।

दुई प्यानलसहित भएको निर्वाचनमा अनन्त निकट प्यानलबाट उम्मेदवार बनेका थापा निर्वाचित भए । १३१ मत ल्याए थापा विजयी हुँदा विष्टले ११५ मत पाए ।

उपाध्यक्षमा निर्वाचित तिलक बहादुर माल र सचिवमा निर्वाचित कमल थापा दुवै टिममा परेका थिए । मालले १८५ मत पाएका थिए भने थापाले १०५ पाए । विष्ट टिममा रहेका उपाध्यक्ष लक्ष्मी चौधरी र कोषाध्यक्ष सुन्दर गौतम निर्विरोध भएका थिए ।

उपाध्यक्षमा थापा टिममा रहेका कैलाश चन्द्र गिरि १५७, मतसहित, जीवन बिसी १३८ मतसहित विजयी हुँदा विष्ट प्यानलका साजेन्द्र कोली १०४ मतसहित विजयी भएका थिए ।

प्रमुख सचिवमा विष्ट प्यानलका देविजंग बहादुर सिंहले १२८ मत सहित विजयी हुँदा थापा प्यानलका प्रमुख सचिवका उम्मेदवार शिवराज सन्ञ्जालले १०५ मत पाएका थिए ।

विष्ट प्यानलबाट सचिवका उम्मेदवार बनेका प्रकाश आचार्यले १३१ मत सहित विजयी हुँदा थापा प्यानलका मनोज पुन मगरले १२३ र रोहित जोशीले ९८ मत पाएर विजयी भएका थिए ।

२९ गते उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलले उद्घाटन गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष पञ्जासिंह पनि उपस्थित थिइन् । २६३ प्रतिनिधि मध्ये २५१ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर