‘खुस्मा’को प्रिमियर सम्पन्न – Nepal Press

‘खुस्मा’को प्रिमियर सम्पन्न

काठमाडौं । असोज ३ अर्थात् भोलि बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को प्रिमियर सम्पन्न भएको छ । मङ्गलवार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो ।

प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । निर्देशक निश्चल बस्नेत, रेनेशा राई, घनश्याम लामिछानेलगायत कलाकारको उपस्थिति रहेको थियो ।

प्रिमियरमा सिनेमा हेरेपछि अधिकांशले सिनेमाले दर्शकलाई होल्ड गर्ने बताए । तत्कालीन माओवादी र सरकारबीच द्वन्द्वले आम नागरिक कसरी प्रभावित हुन पुगे र निर्दोष नागरिक त्यसको शिकार भए भन्ने सिनेमाले सरल तरिकाले देखाएको सिनेमाकर्मीले प्रतिक्रिया दिएका छन् ।

धिरज मगर र उपासना सिंह ठकुरीको कामको खुलेर प्रशंसा भएको छ । सिनेमाले सरकार(माओवादी द्वन्द्वले आम नागरिकसँगै मायालु जोडीलाई पारेको प्रभाव देखाएको छ ।

द्वन्द्वको नाममा कसरी निर्दोष व्यक्ति पीडित भए र त्यसबीच उमेर पाकेका व्यक्तिदेखि नवविवाहित जोडी र केटाकेटी कसरी गुज्रिनु परेको थियो भन्ने सिनेमाले देखाएको छ ।

दुई दशक अगाडिको नेपाली समाज बुझ्ने सिनेमा हो खुस्मा । दुई दशक पहिलाको द्वन्द्वको घाउ अझै पनि खाटा नबसिसकेको भन्दै सरकारलाई खोइ जिम्मेवार बनेको भन्ने प्रश्न पनि सिनेमाले गरेको छ ।

सिनेमा भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।

डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शीर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर