सेती नदीमा ट्याक्टर खस्दा तीन जना घाइते, दुई बेपत्ता – Nepal Press

सेती नदीमा ट्याक्टर खस्दा तीन जना घाइते, दुई बेपत्ता

कैलाली । सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्, भने तीन जना घाइते भएका छन् ।

बुधवार बिहान करिब ९ः ३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

यस्तै ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय नीरज विकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

उद्धार गरिएका तीनै जना सामान्य घाइते रहेको र उनीहरूको केदारस्युँ गाउँपालिका-९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन् ।

ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडक खण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ ।

बेपत्ता र घाइते सबै जाजरकोटबाट उक्त सडक खण्डमा काम गर्न मजदुरको रूपमा बझाङ आएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर