दाइको जग्गा राखेर निकालेको ऋण ‘प्रेमिका’ लाई- पैसा फेरि थप्न भन्दा हत्या – Nepal Press

दाइको जग्गा राखेर निकालेको ऋण ‘प्रेमिका’ लाई- पैसा फेरि थप्न भन्दा हत्या

हत्यापश्चात प्रहरीकहाँ लगेर बुझाऊ भन्दै साथीलाई गरेका थिए पप्पुले फोन

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुरकी ३९ वर्षीया मीनाको धारिलो हतियारबाट गयराति हत्या भयो । उनलाई १६ ठाउँमा चक्कुले हानिएको छ । छिमेकी पप्पु भनिने शिव चौधरीले मीनाको हत्या गरेको गरेको प्रहरीसामु स्वीकारेका छन् ।

मीनाका श्रीमान् बालकृष्ण लामो समयदेखि मलेसियामामा रोजगारीमा छन् । एक छोरा कामका लागि भारतको गुजरात र छोरी नेपालगन्ज बसेर पढ्दै छिन् । घरमा मीना र बुहारीमात्रै बस्थे । ४० वर्षीय अविवाहित पप्पु नजिकै औषधि पसल गरेर बसेका स्वास्थ्यकर्मीसमेत हुन् ।

सधैँजसो पप्पु घरमा आउने र मीठोमसिनो खाएर जाने गरेको छिमेकी बताउँछन् । पप्पु-मीनाबीच प्रेम सम्बन्ध रहेको उनीहरूको भनाय छ । मंगलबार रातिको घटनाले आश्चर्यमा परेको छिमेकीहरू बताउँछन् ।

वडा सदस्यसमेत रहेका मीनाका छिमेकी विश्राम थारुका अनुसार मीनाले पप्पुबाट केही रकम ऋण लिएका थिए ।

‘घरमा पप्पु सधैँजसो आइरहेको, हाँसीखुसी रहेको सबैले देखेका थियौं । उनीहरूको सम्बन्धबारे हामीले जान्ने कुरा भएन, तर पप्पुले आफ्नो जग्गा बन्धकी राखेर डेढ लाख ऋण दिएका रहेछन्, मीनाले पुनः २ लाख थपिदिन भनेको कुरा पनि आएको छ, मंगलबार आफैँले फोन गरेर खाजा बनाउन लगाएर आएको मान्छेले राति यस्तो घटना घटाएछन्’, विश्रामले भने ।

बुहारी भागेर अर्को घरमा गएपछि हत्याको हल्ला भएको उनले सुनाए ।

‘घटनापछि पप्पु आफैँले साथीलाई भनेर मलाई प्रहरीकोमा लगेर बुझाऊ भनेका रहेछन्, खै किन यसरी मति बिग्रियो पप्पुको ?’

घटनाको सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका विश्रामका अनुसार पप्पुले पनि आफ्नो दाइको जग्गा धितो राखेर मीनालाई ऋण दिएका थिए । तर, धेरै समयसम्म त्यो रकम नउठिरहेको बेला उल्टै मीनाले थप ऋण मागेपछि उनलाई समस्या परेको थियो ।

केही समयअघि पप्पुको विवाहका लागि स्थानीय एक युवतीसँग मगनी भएपनि केटाको बानी व्यहोरालाई लिएर केटीले नमानेको साथै केही रकम दिएर रद्द गरिएको छिमेकी बताउँछन् ।

‘हामीले बाहिरबाट हेर्दा पनि पप्पुलाई सबैतिर तनाव देखिन्थ्यो तर त्यसरी मिलेर बस्ने मान्छेलाई किन यति निर्मम भएर हत्या गर्‍यो भन्ने विषय प्रहरीको अनुसन्धानमा पक्कै खुल्ला’, थारुले भने ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले मीना थारुलाई घरमै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र उनको उपचारका क्रमममा नगर अस्पताल जयनगरमा मृत्यु भएको बताए ।

हत्या अभियोगमा बारबर्दिया-११ जब्दीका ४० वर्षीय शिव चौधरी ‘पप्पु’ लाई पक्राउ गरिएको उनले बताए । उनलाई बारबर्दिया नगरपालिका-५ सिटी बरेलीबाट प्रहरीले पक्राउ गरेको र बुधबार म्याद थप गरेर हत्याका सम्बन्धमा अनुसन्धान थालिएको छ ।

प्रारम्भिक विवरणअनुसार दुवै पक्षको असमझदारी देखिएपनि ठ्याक्कै कारण नखुलेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर