संविधानविरोधी गतिविधि रोक्न प्रहरी सतर्क, राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमा – Nepal Press

संविधानविरोधी गतिविधि रोक्न प्रहरी सतर्क, राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमा

काठमाडौं । संविधान दिवसका दिन बिहीबार राजधानी काठमाडौंसहित देशभर सम्भावित संविधानविरोधी गतिविधीलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

काठमाडौंमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तीनवटै जिल्ला प्रहरी कार्यालयले टीम परिचालन गरेका छन् ।

करिब डेढ दर्जन राजनीतिक दल तथा संघसंस्था संविधानको विरोधमा उत्रन सक्ने भन्दै प्रहरीले उनिहरूलाई नोटिसमा राखेको छ । त्यसमा राजेन्द्र लिङ्देन र कमल थापाको पार्टीदेखि राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिसम्म छन् ।

महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी, पशुपति खड्का अध्यक्ष रहेको शाही युवा शक्ति, सन्तोष राजावादी अध्यक्ष रहेको अनवरत तत्पर फौज (एटीएफ), अनिल बस्नेत अध्यक्ष रहेको शिव सेना नेपाल, राहुलराज यादव अध्यक्ष रहेको युथ एसोसिएसन अफ नेपाल, प्रभु शाह अध्यक्ष रहेको आम जनता पार्टी, तराई मधेश राष्ट्रिय काउन्सिल, शुसिलमान शेरचन अध्यक्ष रहेको बीपी कांग्रेसलाई प्रहरीले निगरानीमा राखेको छ ।

यस्तै गोविन्द निरौला अध्यक्ष रहेको समाजवादी कांग्रेस, महेन्द्र लावतीको पहिचानवादी मोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रवादी नागरिक समाजलगायत पनि प्रहरी निगरानीमा छन् । प्रभु शाह अध्यक्ष रहेको आम जनता पार्टीले संविधान अन्त्येष्टि यात्रा गर्दैछ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कालो दिवसका रुपमा मनाउने र साँझ ८ बजे १ मिनेट बत्ती निभाउने निर्णय गरेर संविधानको विरोधको आव्हान गरेको छ । पहिचानवादी मोर्चा, मंगोल अर्गनाइजेसन, राष्ट्रवादी नागरिक समाजले पनि विरोध कार्यक्रम गर्ने बुझिएको छ ।

संविधान दिवशको अवसरमा दरबारमार्गमा विशेष कार्यक्रम आयोजना हुन लागेकाल प्रहरीले त्यसको सुरक्षामा उच्च सतर्कता अपनाएको छ ।

हिजोमात्र वसन्तपुरमा आयोजित इन्द्रजात्रा समारोहमा बालेन लेखिएको टिसर्टधारी केही युवालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्यो । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली र एमालेको आलोचना गरिरहेका बालेन इन्द्रजात्रा समारोहमा ओलीसँगको भेट टार्न भारत पुगेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर