संविधान दिवसमा खुल्ने भयो आधुनिक धरहरा – Nepal Press

संविधान दिवसमा खुल्ने भयो आधुनिक धरहरा

काठमाडौं । संविधान दिवसको दिन आधुनिक धरहरा सर्वसाधारणको लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले बिहीबारदेखि औपचारिक रुपमा सर्वसाधारणको लागि आधुनिक धरहरा खुला हुने जनाएको हो ।

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न सर्वसाधारणले तत्काल शुल्क तिर्नुपर्ने छैन ।

सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटको लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ ।

वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको इकाइले जनाएको छ । सोहीअनुसार टिकट स्क्यान गरेर निःशुल्क आधुनिक धरहरा चढ्न पाइनेछ ।

एक दिनमा अधिकतम ५०० जना सर्वसाधारणले निःशुल्क धहरार चढ्न पाउने इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार त्यसबाहेक थप १०० जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरु चढन् पाउनेछन् ।

उनी भन्छन्, ‘भोलिदेखि कार्यालयकै अधिकृत बसेको हुन्छ । उहाँले त्यो कुरा हेरेर त्यो वर्गका १०० जनालाई टिकट दिनुहुन्छ । बाँकीले वेबसाइटबाट आफ्नो डिटेल इन्ट्री गराएर आउने क्यूआरको भरमा चढ्न पाउनुहुन्छ ।’

निर्देशक अधिकारीका अनुसार वेबसाइट भने बुधबार बेलुकासम्म तयार हुनेछ । उनले भने, ‘हामी हतारमा छौं । आजै वेबसाइट सञ्चालनमा ल्याउने प्रयास गर्दैछौं । सम्भवतः बेलुकासम्म सकिएला ।’

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा खुला गर्ने तयारी गरेको थियो । नवनिर्मित आधुनिक धरहराको कन्स्ट्रक्सनको काम अझै सकिएको छैन । भोलिदेखि मुख्य संरचनाहरुमात्र सञ्चालनमा ल्याइने इकाइका आयोजना निर्देशक अधिकारीले बताए ।

ठेकेदार कम्पनीले बाँकी काम अझै गरिरहेको छ । त्यो काम सकाएर हस्तान्तरण गरेपछि मात्र कसलाई सञ्चालन गर्न दिने भन्ने टुंगो लाग्ने उनी बताउँछन् । अहिलेलाई निःशुल्क गरिए पनि पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा केही निर्णय भइनसकेको उनको भनाइ छ ।

‘कसलाई कसरी सञ्चालन गर्न दिने भन्ने टुंगो लागिसकेको छैन’, अधिकारी भन्छन्, ‘अहिलेलाई निःशुल्क नै हो । यसको गठन आदेशदेखि सबै कुरा बन्न प¥यो । भोलि कुन निकायले सञ्चालन गर्ने टुंगो लागेको छैन । अहिले कन्स्ट्रक्सनको समय पनि अलिकति बाँकी छ । ठेकेदार कम्पनीले काम पनि गरिराखेको छ । त्यो काम सकिएर कसलाई दिने भनेर नेपाल सरकारले गठन आदेश बनाउँछ । गठन आदेश बनाइसकेपछि अनि बल्ल कुन निकायले सञ्चालन गर्ने हो । गठन आदेशमा के उल्लेख भएको हुन्छ, त्योअनुसार गर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेकाले पुनः धरहरा उद्घाटन गर्ने कार्यक्रम नरहेको विभागले जनाएको छ ।

यसअघि ओलीले तेस्रो कार्यकालमा निर्माणाधीन आधुनिक धरहराको उद्घाटन गरेका थिए, तर उद्घाटन भए पनि धरहरा अझै सर्वसाधारणको लागि खुला गरिएको थिएन । सर्वसाधारणले धरहरा उद्घाटन भएको तीन वर्षपछि औपचारिक रुपमा चढ्न पाउन भएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सय दिने कार्यकालभित्र धरहरा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । ओलीले निर्देशन दिएपछि ठेकेदार कम्पनी र विभागलाई काम सकाउन दबाब परेको थियो । तोकिएको समयमा सबै संरचना सञ्चालनमा ल्याउन नसक्ने भएपछि ठेकेदार कम्पनीले हतारहण्तार मुख्यमुख्य संरचना तयार गरिदिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक धरहराको ठुटो त्यत्तिकै राखेर निर्माण गरिएको आधुनिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । यसअघि सातौं पटक म्याद थप गरेको निर्माण कम्पनीले गत असारमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने भनेको थियो ।

भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।

आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । धरहरा परियोजनाअन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ ।

यस्तै धरहराभित्रको बेसमेन्टको पार्किङ पनि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् ।

ठेकेदार कम्पनी बालेनसँग आक्रोशित : महतो भन्छन्- धरहरा महानगरको होइन, मेयरले स्टन्ट गर्नुभयो

सुन्धारामा चिटिक्कका बस स्ट्यान्ड: बालेनको वाहवाही, तर बनाएको कसले ?

कार्यकालको सयौं दिनमा धरहरा खाेल्न प्रधानमन्त्री आतुर, सुन्धारालाई फाल्टै ठेक्का लगाउने विभागको सुर


प्रतिक्रिया

One thought on “संविधान दिवसमा खुल्ने भयो आधुनिक धरहरा

  1. ओलि बाहेक अरू भएका भए खुल्दैनथियो धरहरा अझैपनि । दलालहरू काम गर्न नलगाउने अनि ओलिलाई धरहरा बनायो भनेर गालि गर्दै बस्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *