सिन्धु जल सन्धिमा संशोधन गर्न पाकिस्तानलाई भारतको अधिसूचना – Nepal Press

सिन्धु जल सन्धिमा संशोधन गर्न पाकिस्तानलाई भारतको अधिसूचना

नयाँदिल्ली । भारतले ६ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधनका लागि पाकिस्तानलाई औपचारिक रूपमा सूचित गरेको छ । किशनगङ्गा र रतले जलविद्युत परियोजनाहरूसँग सम्बन्धित लामो समयदेखिको विवादले भारतलाई सन्धिमा संशोधनको माग गर्न प्रेरित गरेको छ ।

सन्धिअनुसार सिन्धु, झेलम र चिनाबको पानी पाकिस्तानलाई दिइएको थियो भने पूर्वी नदीहरू रावी, व्यास र सतलजमाथि भारतको अधिकार थियो । भारतलाई नदी प्रवाहमा आधारित परियोजनाहरूबाट विद्युत उत्पादन गर्ने अधिकार छ ।

यद्यपि पाकिस्तानले बारम्बार यी परियोजनाहरूमा आपत्ति जनाउँदा भारतमा जल प्रवाह प्रभावित भएको छ ।

स्रोतहरूका अनुसार ‘भारतले सन् २०२४ अगस्त ३० मा सिन्धु जल सन्धि (आईडब्ल्यूटी) अन्तर्गत उक्त सन्धिको समीक्षा र संशोधनको माग गर्दै पाकिस्तानलाई औपचारिक सूचना पठाएको छ, सन्धिअनुसार यसका प्रावधानलाई समय–समयमा दुवै सरकारबीच उक्त उद्देश्यका लागि सम्पन्न विधिवत अनुमोदन गरिएको सन्धिमार्फत संशोधन गर्न सकिने छ ।’

भारतको अधिसूचनाले परिस्थितिमा मूलभूत र अप्रत्याशित परिवर्तनहरूलाई प्रकाश पार्दछ र यसका लागि सन्धिका विभिन्न धाराअन्तर्गत दायित्वहरूको पुनर्मूल्याङ्कन आवश्यक हुन्छ ।

विभिन्न चिन्ताहरूमा जनसाङ्ख्यिकीमा परिवर्तन, भारतको उत्सर्जन लक्ष्यहरू पूरा गर्न स्वच्छ ऊर्जाको विकासमा तीव्रता ल्याउने पर्यावरण मुद्दा र निरन्तर सीमापार आतङ्कवादको प्रभाव समावेश छन् ।

किशनगङ्गा र रतले जलविद्युत परियोजनासँग सम्बन्धित छुट्टै लामो विवादको पृष्ठभूमिमा उक्त सूचना जारी गरिएको हो । यस सम्बन्धमा विश्व बैंकले समान मुद्दामा तटस्थ विशेषज्ञ संयन्त्र र मध्यस्थता न्यायालय दुवैलाई एकैपटक सक्रिय गरेको छ । त्यसैले भारतीय पक्षले सन्धिअन्तर्गत विवाद समाधान संयन्त्रमा पुनर्विचार गर्न पनि आह्वान गरेको छ ।

उक्त अधिसूचनासँगै भारतले पाकिस्तानलाई सन्धिअन्तर्गतका प्रावधानअन्तर्गत सन्धिको समीक्षा गर्न सरकार–देखि–सरकार वार्ता सुरु गर्न आह्वान गरेको छ । -रासस/एएनआई


प्रतिक्रिया

One thought on “सिन्धु जल सन्धिमा संशोधन गर्न पाकिस्तानलाई भारतको अधिसूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *