ग्रेटवालमा झण्डा फहराउन नपाउँदा…
अगस्त १६ को साँझपख कुइयाङको होटलको सामूहिक भेलामा बेइजिङ भ्रमणबारे लिजले सुनाइन्- ‘वर्षातको समय छ, छाता अनिवार्य, हलुका कपडा, स्पोर्टस् जुत्ता लैजान नभुल्नुहोला । मौसमले साथ दियो भनेमात्र ग्रेटवाल यात्रा सफल हुन्छ ।’ मनमा चिसो पस्यो, कतै मौसमले साथ नदिने पो हो कि ! कुइचाउको कुइयाङ शहरमा मध्यरातमा घुम्दै गर्दा मन भने बेचैनी थियो, कतै मौसम प्रतिकूल पो हुने हो कि भनेर ।
चीनको १७ दिने भ्रमण तालिका आउनासाथ दिमागमा तीन कुरामात्र फनफनी घुमेका थिए, ग्रेटवाल, पोतला दरबार र कैलाश पर्वत अर्थात मानसरोवर । यी तीन ठाउँ भ्रमण गर्ने मेरो उत्कट अभिलाषा पोतला दरबार र मानसरोवर तिब्बतमा पर्ने भएकाले सम्भव थिएन, बाँकी रहेको ग्रेटवाल पनि मौसममा निर्भर रहने ।
तीव्र विकास र शहरीकरण भैरहेको चीनका हरेक ठाउँ र गाउँ हेर्नलायक थिए, तर त्यो शहरीकरण, विज्ञान र प्रविधिले भन्दा मेरो मस्तिष्कले ग्रेटवाल रोजेको थियो । प्रकृतिमाथि विजय हासिल गरिरहेको चिनियाँ प्रविधिको कुरा मेरो जानकारीमा थियो । नक्कली सूर्य बनाउन, ओलम्पिक प्रतियोगितामा वर्षा रोक्न सकेको चीनको प्रगतिका कुरा संसारसामु लुकेको विषय होइन, तर ती विकास र समृद्धि भने ग्रेटवालसामु होचा थिए मेरा लागि ।
ग्रेटवाल विश्वको सातौं आश्चर्य । नाङ्गो आँखाले अन्तरिक्षबाट देखिने एकमात्र मानव निर्मित संरचना । विश्व सम्पदा सूचीमा सूचीकृत प्राचीन तथा ऐतिहासिक स्थल, जसले गर्दा चीन र ग्रेटवाल मेरो मन मस्तिष्कभित्र गडेर बसेको थियो ।
ग्रेटवाल विश्वको सातौं आश्चर्य । नाङ्गो आँखाले अन्तरिक्षबाट देखिने एकमात्र मानव निर्मित संरचना । विश्व सम्पदा सूचीमा सूचीकृत प्राचीन तथा ऐतिहासिक स्थल, जसले गर्दा चीन र ग्रेटवाल मेरो मन मस्तिष्कभित्र गडेर बसेको थियो ।
अगस्त १८ को साँझ पनि लिजले बेइजिङको वाङजिङ साउथस्थित होटल लबीमा त्यही दोहोर्याइन्- ‘लगाउने कपडा, लैजानुपर्ने सामग्रीदेखि बिहान ८ बजे तयार भएर होटल लबीमा जम्मा हुने ।’ अगस्त १९ अर्थात भदौ २ ग्रेटवाल पुग्ने साइत । हिन्दूहरुको पवित्र पर्व जनै पूर्णिमा परेको दिन । घरमा भएको भए बिहान ३ बजेदेखि शुरु हुन्थ्यो जनै पुज्न जान गरिने संस्कार कर्म, तर बेइजिङको होटलको रेस्टुरेन्टमा ललितपुरका पत्रकार साथी अमृतनाथ तिमिल्सेनाले दिएको जनै फेरेर कर्मकाण्ड पूरा गरें ।
बिहानको खाजा खायौं । निर्धारित समय बिहान ८ बजे शुरु भयो ग्रेटवालको हाम्रो यात्रा । कुइचाउ एकेडेमी अफ साइन्सेजका डेपुटी डाइरेक्टर फुझाङजुङको नेतृत्वमा नेपाल, दक्षिण अफ्रिका, म्यानम्यार, अफगानिस्तान, क्युबा र इजिप्टका गरी झण्डै तीन दर्जन प्रतिनिधि बस चढेर ग्रेटवाल प्रस्थान गर्यौं । मौसम एकदमै सफा नभए पनि खराब पनि थिएन ।
जब बसमा दोभासे लिजले मनोरञ्जन गराउन आआफ्नो देशको गीत गाउनसक्ने जानकारी गराइन्, हाम्रो टोलीका तिमिल्सेनाले सूर्यदेवको मन्त्रोच्चारण गरे । त्यसपछि हामीले रेशम फिरिरी गायौं, चिनियाँ र अन्य विदेशी गीत संगीतको प्रस्तुतिबाट करिब एक पौने घण्टा रमायौं । दुई घण्टाभन्दा बढी समय लाग्ने बस यात्रामा बाँकी समय भने आ-आफ्नो सीटबाट नियाल्दै अघि बढ्यौं ।
हामी १०ः३० मा ग्रेटवालको बेसस्टेशन पुग्यौं । आइतबार सार्वजनिक बिदा भएकाले होला निकै भीडभाड थियो । अत्यन्तै सफासुग्घर र कुशल व्यवस्थापन, ठाउँ-ठाउँमा माइकिङ गरिरहेका कर्मचारी, लोभलाग्दो थियो बेसस्टेशन । त्यहाँ पूरा गर्नुपर्ने प्रक्रियापछि केही बेरमै हाम्रो यात्रा शुरु भयो । आयोजकले घोषणा गरे- ‘भीड छ, सबै सँगै नहुन पनि सक्छौं, यदि समूहबाट छुट्टिए पनि फर्किएर दिउँसो १ बजे यसै ठाउँमा भेटौं ।’
ग्रेटवाल चीनको राजधानी बेइजिङलाई उत्तरी शासकबाट सुरक्षित राख्न झण्डै दुई हजार वर्ष लगाएर बनाइएको संरचना । ईशापूर्व पाँचौं शताब्दीदेखि १६ औं शताब्दीको मध्यसम्म यसको निर्माणकाल मानिन्छ ।
मुख्य द्वारबाट भित्र पसेर टोली उकालो लाग्यो । भदौरे घाम कडा थियो, उकालो यात्रा, छिचोलिनसक्नु भीड, शुरुमा सँगसँगै रहेको हाम्रो टीम फोटो खिच्ने र दृश्यावलोकन गर्ने क्रममा तितरबितर भयो । कोही धेरै अगाडि, कोही धेरै पछाडि । ग्रेटवालको बीचबीचमा दुई–तीन तले घर, सहायक पर्खाल भएकाले अलमल पनि हुँदो रहेछ । पैदल हिँड्न नसक्नेका लागि केवलकारको पनि सुविधा । हामी सबै पैदल यात्रामा थियौं । ग्रेटवालको अग्लो प्वाइन्ट अन्तिम लक्ष्य थियो ।
उकालो चढ्दै गर्दा युनिभर्सिटीका डेपुटी डाइरेक्टर फुसहित नेपाली टोलीका पत्रकार अमृतनाथ तिमिल्सेना, सहकारी बोर्डका ओमप्रकाश गैरे, अफगानिस्तानका अब्दुल रहिम मजदी र यो पंक्तिकार अरुसँग बिछोडियौं । फोटो खिच्दै जाँदा भीडभाडमा अरु कता पुगे, पत्तै भएन । हाम्रो टोली ग्रेटवालको सबैभन्दा हाइटमा पुग्यो । त्यहाँ पुग्दा ठूलै युद्ध जिते जस्तो, सफलताको सिंढी पार गरे जस्तो महसुस भयो । हत्तेरिका ! नेपाली झण्डा ल्याउनुपर्ने ! म बोल्दै थिएँ, गैरेले ब्यागबाट निकालिहाले, तर सुरक्षाकर्मीले त्यसलाई फहराउन भने दिएनन् । त्यसलाई सहज स्वीकार्नुको विकल्प थिएन ।
त्यतिबेलै युनिभर्सिटीकी डेपुटी डाइरेक्टर फूलाई असहज भयो । हामीभन्दा छिटो उकालो चढेकी फूलाई चर्को गर्मी र उकालो यात्राले गाह्रो बनाएको थियो । शीतलमा टाउको समातेर बसेकी उनलाई तिमिल्सेनाले गोजीमा रहेको एउटा चकलेट दिए, त्यसैले उनलाई ऊर्जा दिएछ क्यार ! करिब पाँच मिनेटपछि पूर्ववत अवस्थामा फर्किइन् ।
हामी बेसस्टेशन फर्किने अब दुइटा बाटो थिए । एउटा- अझै अगाडि गएर सहायक पर्खाल हुँदै फर्किने र अर्को- गएकै बाटो । हामीले अप्ठेरो भए पनि अझै अगाडिबाट जाने निधो गर्यौं, जुन अत्यन्तै उकालो र ओरालोले गर्दा अलि अप्ठेरो रहेछ । ऐतिहासिक पर्खालको फोटो, भिडियो र त्यहाँबाट देखिने पहाडी श्रृंखला, वनपाखा अवलोकन गर्दै निर्धारित समयभन्दा आधा घण्टा ढिलो बेसस्टेशन झर्यौं ।
चीनका प्रथम सम्राट शी हुआङले ठूलो पर्खाल बनाएर राज्य सुरक्षित गर्ने कल्पना गरेका थिए । पछि मिङ वंशका शासकले निर्माण शुरु गरेर दुई हजार वर्ष पछिसम्म पनि निर्माण जारी रह्यो ।
ग्रेटवाल चीनको राजधानी बेइजिङलाई उत्तरी शासकबाट सुरक्षित राख्न झण्डै दुई हजार वर्ष लगाएर बनाइएको संरचना । ईशापूर्व पाँचौं शताब्दीदेखि १६ औं शताब्दीको मध्यसम्म यसको निर्माणकाल मानिन्छ । पूर्वमा शानहाई गुआनदेखि पश्चिम लोप नुरसम्म पहाडमाथि नागबेली झैं फैलिएको यो विशाल पर्खालको लम्बाइको विषयमा फरक फरक तथ्य भेटिन्छन् । सन् २०१२ मा भएको एक सर्भेले ग्रेटवालको कुल लम्बाइ शाखा र उपशाखा जोडेर २१ हजार १९६ किमि रहेको देखाएको छ । त्यसअघि यसको लम्बाइ ८ हजार ८५१ किलोमिटर रहेको तथ्य थियो ।
बाहिरी शत्रुबाट जोगाउन निर्माण गरिएको ग्रेटवाल सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले एक ठाउँमा भत्काएर त्यहीबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए । चीनमा यो पर्खाललाई वान ली चेङ चेङको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइको एकसाथ पाँचवटा घोडा वा १० जना सैनिक पैदल हिँड्न सक्छन् । पर्खाल माटो, ढुंगा र चामलको पिठोले बनाइएको छ । यसको उचाइ ३५ फिट छ । बीचबीचमा शत्रुलाई हेर्न स-साना प्वाल, लुक्ने किल्लाहरु पनि छन् ।
चीनका प्रथम सम्राट शी हुआङले ठूलो पर्खाल बनाएर राज्य सुरक्षित गर्ने कल्पना गरेका थिए । पछि मिङ वंशका शासकले निर्माण शुरु गरेर दुई हजार वर्ष पछिसम्म पनि निर्माण जारी रह्यो । ग्रेटवाल सम्पन्न गर्न २० देखि ३० लाख मानिसले आफ्नो जीवन लगाएका थिए । निर्माणका क्रममा करिब १० लाख मानिसको मृत्यु भएको र उनीहरुलाई पर्खाल मुनि गाडिएको थियो । जसले गर्दा ग्रेटवाललाई संसारकै सबैभन्दा ठूलो चिहान पनि भनिदोरहेछ, तर यो विषय भने खोज हुन बाँकी छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९८७ मा ग्रेटवालका कतिपय भागलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।
ग्रेटवाल चिसो मौसममा चढ्न कठिन छ । तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने र बाक्लो हिउँ जम्ने भएकाले करिब दुई महिना अलि सुनसान देखिन्छ । वार्षिक १ करोड ५० लाख मानिस ग्रेटवाल अवलोकन गर्न पुग्ने गरेका छन् । त्यतिविधि भीडभाड हुने ग्रेटवालको चिरिच्याट्ट सरसफाइ र व्यवस्थापन हेर्दा लाग्थ्यो, माल पाएरमात्र हुँदैन, चाल पनि पाउनुपर्छ । चिनियाँ माल र चालले संसारलाई लोभ्याइरहेछ ।