विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने – Nepal Press

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

लुम्बिनी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय पहिचान बनाउँदै विदेशी विद्यार्थी ल्याउन सुझाव

रुपन्देही । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको छ ।

संसदीय समितिले उच्च शिक्षा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि गम्भीर रूपमा छलफल गरिने जनाएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसँग शिक्षा दिवसको अवसरमा गरिएको छलफलमा बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै विदेशी विद्यार्थी ल्याउन सक्ने समितिको निष्कर्ष निकालिएको छ ।

संसदीय समितिको अध्ययन टोलीले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयलाई सोही रूपमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । ‘हामी विश्वविद्यालयका समस्या समाधान तथा उच्च शिक्षाका नीतिका सन्दर्भमा मन्त्रालयसँग छलफल गर्छौ, समितिका सभापति अम्मरबहादुर थापाले भने, ‘अन्तराष्ट्रियस्तरमा यही विश्वविद्यालय फैलिन सक्छ, यसलाई विशेष महत्त्व दिन जरुरी छ ।’

छलफलमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको अवस्था र समस्याहरूका विषयमा समितिलाई जानकारी गराएका थिए ।

विश्वविद्यालयको ऐनको प्रस्तावना अनुसार अन्य संरचना बनाउनका लागि ऐन संशोधन गर्नुपर्ने, बोर्ड ट्रष्टी सम्बन्धमा ऐनमै व्यवस्था, समकक्षता सम्बन्धी नीतिगत व्यवस्था, अन्तर्राष्ट्रिय शिक्षक तथा विद्यार्थीको आवागमनमा सहजीकरण, पर्याप्त बजेट व्यवस्थापन, बौद्ध गुम्बाहरूमा अध्ययनरत विद्यार्थीहरूको समकक्षता सम्बन्धी समस्या समाधानमा पहल गरिदिन उनले समितिसमक्ष आग्रह गरे ।

विद्यार्थी संख्याका आधारमा बजेट व्यवस्थापन नभई विशिष्टकृत विश्वविद्यालय अनुसार सम्बोधन गरिनुपर्ने उनले बताए । बौद्ध प्राकृतिक चिकित्सा सम्बन्धी सोवा रिग्पा मेडिसिनलाई चिकित्सा शिक्षामा सूचीकरण नगर्नु तथा पूर्ण रूपमा पुरातत्त्व विषय अध्ययन सकेका विद्यार्थीहरूले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न नपाउनु विडम्बना भएको भन्दै त्यस्ता समस्या समाधान हुनुपर्ने उनले बताए ।

समितिका सभापति थापाले उच्च शिक्षा सम्बन्धी नीति तथा शिक्षा सम्बन्धी विधेयकहरू बन्दै गरेको भन्दै कतिपय व्यवस्थाहरू नीतिगत रूपमा समाधान गरिने प्रतिबद्धता जनाए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयको विकासमा प्राप्त हुने लगानी भित्र्याउनका लागि सरकारी सहजीकरण गर्नुपर्ने बताए । उनले विश्वविद्यालयमा उपाधि तथा छोटो अवधिका शैक्षिक कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भित्र्याउने कार्यको सुरुआत भएको भन्दै नीतिगत रूपमा सहजीकरण गर्नुका लागि आग्रह गरेका थिए ।

उनले देवदहमा रहेको शिक्षा विकास परियोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्नका लागि विश्वविद्यालयले काम गरिरहेको बताए । अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन सकिएमा स्वदेशी विद्यार्थी पनि यही बढ्ने अवस्था सिर्जना हुने उनले बताए ।

विदेश नै जान चाहनेलाई पनि २ प्लस टु अन्तर्गत दुई वर्ष नेपाल र दुई वर्ष विदेशका विश्वविद्यालयमा पठाउन थालिएको उनको भनाई छ । जसका लागि चीन, जापान, रुस, भारत, अमेरिकासहितका विश्वविद्यालयसँग सहकार्य सम्झौता भइसकेको बताए ।

संसदीय समितिका सदस्य छविलाल विश्वकर्माले विश्वविद्यालयको देवदह परियोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाको रूपमा राख्नु उपयुक्त हुने भन्दै त्यसका लागि तयारी गर्न आग्रह गरे । समितिका अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालयले भोगिरहेका समस्या समाधानमा छलफल गरेर आवश्यक निर्देशन गरिने बताए ।

बौद्ध विश्वविद्यालय नै मुलुकको बलियो विश्वविद्यालयका रूपमा स्थापित हुन सक्ने भन्दै उनले अन्तराष्ट्रियस्तरमा पहिचान बनाउनका लागि सरकारबाट पहल हुनुपर्ने बताए । उनले सीपयुक्त र अब्बल जनशक्ति उत्पादन गरेर विश्वविद्यालयको छुट्टै पहिचान दिलाउन सुझाव समेत दिए ।

त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयको जनशक्ति बौद्ध भावनाले ओतपोत हुनु नै विश्वविद्यालयको पहिचान हुने बताए । विश्वविद्यालयले अगाडी सारेका परियोजनाको कार्यान्वयन तथा समस्याहरूको समाधानमा संसदीय समितिले छलफल गर्ने उनले प्रतिबद्धता जनाए ।

सांसद दीपा शर्माले बौद्ध विश्वविद्यालयले विश्वलाई शान्ति प्रवर्द्धन गर्ने नीतिलाई आत्मसाथ गरी अन्तराष्ट्रियस्तरमा पहिचान स्थापना गर्नुपर्ने बताइन् । लुम्बिनीमा बौद्ध विश्वविद्यालय हुनु नै महत्त्वपूर्ण रहेको भन्दै उनले यसलाई राष्ट्रकै गहनाका रूपमा अघि बढाउनुपर्ने बताइन् ।

सांसद रामप्रसाद चौधरीले विश्वविद्यालयमा घटिरहेको विद्यार्थीहरूको संख्यालाई बढाउनका लागि आधुनिक प्रकृतिका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।

विश्वविद्यालयका प्रशासन प्रमुख चुरामणि पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विश्वविद्यालयका योजना तथा मूल्यांकन निर्देशक डा. कुलप्रसाद खनालले विश्वविद्यालयको कार्यक्रम र रणनीतिका विषयमा जानकारी गराएका थिए । संसदीय समितिले विश्वविद्यालयका विभिन्न निकायहरूको दुई दिन अवलोकन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर