क्यानडामा नेपाली विद्यार्थी बढ्दै, काठमाडौंमा दूतावास स्थापना गर्न परराष्ट्रमन्त्री राणाको आग्रह – Nepal Press

क्यानडामा नेपाली विद्यार्थी बढ्दै, काठमाडौंमा दूतावास स्थापना गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । नेपालले क्यानडालाई काठमाडौंमा दूतावास राख्न आग्रह गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडेली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार ओटावामा भएको द्विपक्षीय वार्तामा यो विषय उठाइएको हो ।

सो वार्ताका क्रममा नेपाल-क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको क्यानडास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

क्यानडेली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडमा छन् । भेटका क्रममा उनीहरूले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताए । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस अवसरमा मन्त्री राणाले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गर्दै भनिन्- अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानडेली पर्यटकको संख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ । त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्न आग्रह गर्छु ।

एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन् ।

क्यानडेली विदेशमन्त्री पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि प्रशंसा गरेकी थिइन् । त्यसैगरी उनले क्यानाडेली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर