आधुनिक धरहरा खुलेको पहिलो दिन जे देखियो (भिडिओ) – Nepal Press

आधुनिक धरहरा खुलेको पहिलो दिन जे देखियो (भिडिओ)

उद्घाटन भएको ३ वर्षपछि सर्वसाधारणका लागि खुला, अझै केही कामहरु अधुरा छन्

काठमाडौं । नारायणथानबाट आएकी ७९ वर्षीया दुर्गाकुमारी लिम्बु यसअघि पुरानो धरहरा चढेकी थिइनन् । आज नयाँ धरहरा चढ्न लाइनमा बसिरहेकी उनी माथि हेर्दै भन्दै थिइन्, ‘होइन कति अग्लो ! खसिने त होइन नि !’

उनलाई छोरी पञ्चमाया थुम्बाले ल्याएकी हुन् । पञ्चमायाका श्रीमान सशस्त्र प्रहरीमा छन् । सिंहदरबारमा कार्यरत श्रीमानले डियूटीबाटै फोन गरेर आज धरहरा चढ्न पाइने सुनाए । श्रीमानले धरहरा चढ्न जानु भनेपछि आमा र सानी छोरीलाई साथ लिएर सुन्धरा आइपुगिन् ।

उनीहरु आइपुग्दा लामो लाइन थियो । ज्येष्ठ नागरिकको लागि छुटै लाइन भनिएपनि ज्येष्ठ नागरिकको परिचय खुल्ने कागजपत्र मागेपछि उनीहरु अलमलमा परे ।

तीन वर्षअघि केपी ओलीले धरहरा उद्घाटन गरेको दिन पनि उनी धरहरा चढ्न पाइन्छ कि भनेर आमालाई साथमा लिएर आइपुगेकी थिइन् ।

‘तर त्यतिबेला चढ्न पाइएन । अहिले खोलेको खबर पाउनेवितिकै बस चढेर आइहाल्यौं,’ उनले भनिन् ।

पञ्चमाया यसअघि पुरानो धरहरा चढिसकेकी थिइन् ।

‘म त पहिले पनि चढेको छु २०७२ बैशाख १ गते नयाँ वर्षको दिन चढेको थिएँ । १२ गते त भूकम्पले भत्किहाल्यो । त्यो भन्दा अघि ०६८ सालमा पनि चढेको थिए । आमा चाहीँ पहिलो चोटी हो,’ उनले उत्साही हुँदै भनिन् ।

उनलाई धरहरा चढ्न डर लागेको छैन । पुरानो भन्दा अहिलेको अलिकति ठूलो जस्तो लागेको पञ्चमायाले बताइन् ।

‘पहिलेको त एकदमै सानो थियो । अहिलेको ठूलो छ कि जस्तो लाग्छ’, उनले भनिन् ।

०००

काम विशेषले चार दिनअघि काठमाडौं आइपुगेका सिन्धुपाल्चोकका भक्त रिजालले आज धरहरा खुलेकै दिन चढ्न पाए ।

हिजो साँझतिर मात्रै आजबाट धरहरा खुल्छ रे भन्ने खबर पाएपछि उनी धरहरा चढ्न भनेर बिहानै कोठाबाट निस्किएका थिए ।

‘३२ सालतिर यहाँ खलल पानी आउने धारा थियो । पहिला ९ तलाको धरहरा हुँदा पनि चढिएको थियो । मम पसलहरु मात्र थिए । अहिले २२ तलाको धरहरा भनेको छ । तर २० तलासम्म रहेछ,’ उनले सुन्धरा र धरहरा हेर्दै भने ।

लिफ्टमा आफूलाई कहाली लागेको उनी बताउँछन् । तर माथि पुगेर हेर्दा एकदमै राम्रो देखिएको बताए ।

‘यहाँभित्र आएपछि पुरानो सुन्धारा पनि हेरँे । भित्र गएपछि लिफ्ट र भर्याङ दुवै रहेछ । म त प्रेसरको विरामी, लिफ्टबाट गएँ । २० तलामाथि पुगेर हेर्दा त एकछिन रिङ्गटा लाग्यो । आज मौसम खुलेकोले होला एयरपोर्ट स्वयम्भु डाँडा एकदमै राम्रो देखिएको थियो । तर धेरै अग्लो भएर होला कहाली लाग्यो । त्यही भएर धेरैबेर बसिन म,’ उनी भन्छन् ।

फिनिसिङ पनि राम्रोसँग भइनसकेकाले पूरा गर्न उनले सुझाव दिए ।

(भिडिओ)

०००

चावहिलबाट ८१ वर्षिय वयोवृद्ध पर्शुराम लामिछाने पनि धरहरा हेर्न भनेर आएका थिए ।

उनले आफनो अनुभव सुनाए, ‘आकाश उघ्रिएकाले होला वरिपरि देखियो । घरहरु धेरै देखेँ । पहिले पनि चढेको हो । पहिलाको त माटाको थियो, अहिलेको धेरै राम्रो छ । लिफ्ट प्याक भएकाले हामी २० तलासम्म हिँडेरै गयौं ।’

‘फेसबुकमा धरहरा खुलेको देखेपछि बुढाबुढी आएका हौं । धरहरा गजब लाग्यो । तर मान्छे धेरै भएर निस्सासिनुपर्यो’, लामिछानेले भने ।

०००

शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले आजदेखि ९ वर्षअघि भूकम्पले भत्काएको धरहराको निर्माण गरी सञ्चालनमा ल्याएको छ । तत्कालको लागि निःशुल्क रुपमा दिनमा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकसहित ६ सयजना चढ्न मिल्ने गरी धरहरा सञ्चालनमा ल्याइएको हो ।

धरहरा चढ्नको लागि अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको थियो । अनलाइनबाट टिकट काटेर क्युआर देखाएपछि प्रवेश गर्न पाइने भएतापनि अनलाइनबाट भन्दा त्यही उपस्थित भएर टिकट काटेर धरहरा चढ्न जानेको भीड थियो । सुरुमा सीमित कर्मचारीले धानिरहेको भीडलाई मध्य दिउँसोमा भने थाम्नै मुस्किल परेको थियो । जताततै खुल्ला रहेकाले केही सर्वसाधारण गेट बाहिरदेखि नै लाइन लागेर पालो पर्खिरहेका थिए भने केही जताततैबाट भित्र छिरिरहेका थिए ।

बाहिर लाइनमा उत्तिकै सर्वसाधारण थिए भने धरहराको गेट छिर्न त्यस्तै भीड थियो । सुरक्षा गार्डलाई भीड सम्हाल्न हम्मेहम्मे पर्यो । नेपाल प्रहरीका सुरक्षाकर्मी पनि खटिएका थिए । तर पनि भीड एकैछिनमा बढेपछि अस्तव्यस्त बन्न पुग्यो । मुख्य प्रवेशद्वार छिरेपछि भ¥याङ चढ्ने वा लिफ्ट प्रयोग गर्ने दुई विकल्प छन् । लिफ्टमा पालो पर्खदाभन्दा सिँढी चढ्दा छिटो पुगिने स्थिति थियो ।

लिफ्टमा पालो आउनै मुस्किल पर्ने देखिएपछि ज्येष्ठ नागरिक र बालबालिकाहरु पनि सिँढी उक्लेका थिए । सिँडीमा पनि चढ्ने र झर्नेको भीडले उकुसमुकस बनाएको सर्वसाधरणहरुले गुनासो गरे ।

अपूरो छ धरहरा

सर्वसाधारणका लागि खुलाइए पनि धरहरा पुनर्निमाण सम्पन्न भइसकेको भने छैन । धरहरा प्रवेश गर्ने गेटबाट छिर्नेबित्तिकै कोही कामदारहरु टायल हालिरहेको त कोही बिजुलीका तारहरु फिटिङ गरिरहेको देखिन्छ ।

निर्माण कम्पनीका अनुसार बगैँचाको काम, प्लम्बिङ, पार्किङ क्षेत्रमा बत्ती, वायरिङ, टायल फिटिङ लगायत काम बाँकी नै छन् । यसअघि निर्माण कम्पनीले धरहराको काम अन्तिम चरणमा पुगेकाले असोज तेस्रो साताभित्र सकेर हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो, तर अन्तिम समयमा डिजाइन परिवर्तन भएपछि काम पछाडि धकेलिन पुग्यो ।

निर्माण कम्पनीले मंसिर–पुससम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सय दिने कार्यकालभित्र धरहरा खुलाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालय अन्तरर्गतको आयोजना इकाइले आंशिक रुपमा भएपनि खुलाउने तयारी गरेको हो ।

गत २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि नै सर्वसाधारणको लागि खुला गर्ने निर्णय गरेपछि शहरी विकास मन्त्रालय दबाबमा परेको थियो ।

धरहराभित्रको दुईमध्ये एउटा लिफ्ट अझै सञ्चालनमा आइसकेको छैन । पार्किङ एक तलामा मात्र सञ्चालनमा आएको छ । शहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि आंशिक रुपमा मात्र धरहरा सञ्चालन गरिएको स्वीकारेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक धरहराको ठुटो त्यत्तिकै राखेर आधुनिक धरहरा निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।

त्यसको तीन वर्षपछि निर्माण पूरा नहुँदै तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ बैशाख ११ मा तयार भएको मूल टावर (आधुनिक धरहरा) को उद्घाटन गरेका थिए । उद्घाटन गरिएको ३ वर्षपछि बल्ल सर्वसाधरणले आधुनिक धरहरा चढ्न पाएका हुन् ।

आधुनिक धरहरा निर्माण गर्ने ठेक्का जीआइइटीसी–रमण कन्स्ट्रक्सन (जेभी) ले पाएको थियो । उक्त आयोजना सम्पन्न गर्न तीन अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ ।

आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछन् ।

धरहराभित्रको बेसमेन्टको पार्किङ पनि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । आधुनिक धरहराको बेस दुई तला अण्डरग्राउण्ड छ । एउटा ग्राउण्डफ्लोर छ । पार्किङको लागि त्रिपल बेसमेन्ट छ ।

यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

सुन्धरा र पूरानो धरहरा अलपत्र

धरहराको मुल गेटबाट प्रवेश गर्ने बित्तिकै बीचमा जिर्ण अवस्थामा सुन्धारा देख्न सकिन्छ । फोहोर पानी जमेको, पानी नआउने धारा रहेको सुन्धारा धरहरा परिसरभित्रै छ ।

भूकम्पअघि नै सुन्धाराको अवस्था बेहाल थियो । जीआइइटीसी रमन जेभीले सफा गरेपछि सुन्धारा केही हदसम्म हेर्नलायक भएको हो । सबैतिर मर्मतसम्भार हुँदा त्यहाँ कसैले वास्ता गरेको देखिदैन । सुन्धारामा पानी बगेको देखेका स्थानीय त्यहाँ पुगेपछि भावुक हुन्छन् । उनीहरुले पहिले त्यहाँको पानी खाएको र नुहाएको सम्झन्छन् । शहरी विकास मन्त्रालयले सुन्धारा मर्मतको लागि कुनै टेन्डर हालेको छैन ।

आधुनिक धरहरा निर्माण भइरहँदा सुन्धारा जीर्ण अवस्थामै रहने भएपछि जीआइइटीसी (रमन जेभीले त्यसको पनि पुनर्निर्माण गर्न खोजेको थियो, तर त्यसअघि उक्त निर्माण कम्पनीको सम्झौताभित्र सुन्धारा परेको थिएन । पछि यही कम्पनीलाई दिने भनेर काम अघि बढाइएको थियो, तर स्थानीय र त्यहाँका वडाध्यक्षले काम गर्न दिएनन् । स्थानीय आफै बनाउँछौं भन्दै अघि सरेका थिए ।

सुन्धारामा पहिले मेलम्चीको पाइपलाइन ल्याएर जोड्ने विभाग योजना थियो । सँगै त्यहाँ दुइटा बोरिङ गरिसकेको थियो । यो पानी रिजर्भ ट्याङकी बनाएर सुन्धारामा निरन्तर पानी खसाल्ने योजना अघि सारिएको थियो ।

पछि स्थानीय र महानगरपालिकाले प्राकृतिक मूलबाटै पानी आउने व्यवस्था गर्नुपर्ने बताएपछि सुन्धाराको जीर्णोद्धार रोकिएको शहरी विकास मन्त्रालयका आयोजना प्रमुख कोषनाथ अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले बनाएको संरचनामा अब काम गर्दा पुनः भत्काउन नपर्ने गरी प्राकृतिक स्रोतबाट पानी भेटिएको अवस्थामा त्यहाँको पाइपबाट जोडेर पानी ल्याउने योजना छ ।

आधुनिक धरहराको पछाडि जालीले छोपेर राखिएको पुरानो धरहराको भग्नावशेष छ । भूकम्पले क्षति पुर्याएर भग्नावशेषमात्र रहेको भीमसेन स्तम्भ (ऐतिहासिक धरहरा) को ठुटो कभर गरेर व्यवस्थित गर्ने सम्झौतामा उल्लेख थियो, तर त्यो काम पुरातत्व विभागले अघि बढाउन दिएन । अहिले कोही अघि नसर्दा दिनदिनै उक्त भाग क्षतिग्रस्त बन्दै गएको छ ।

विभागले पुरातत्वलाई निर्माण अघि बढाउन पत्रसमेत पठाएको थियो, तर पुरातत्वले ऐतिहासिक भीमसेन स्तम्भको अवशेषको संरक्षणमा तदारुकता देखाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *