४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास – Nepal Press

४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास

पोखरा । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए । प्रदेश सरकारकै सहयोगमा गाउँपालिकामा गाउँ–गाउँमा मोटरबाटो पुगेको उनले सुनाए । ‘प्रदेश सरकार बन्नु पहिले ५० मिटर पिच बाटो थियो । अहिले धेरै ठाउँमा बाटो बनेको छ,’ निवर्तमान मुख्यमन्त्री अधिकारीले भने, ‘अहिले केही टोलमा पिच बाटो बन्न बाँकी छ । यसले प्रदेश सरकार किन चाहिने रहेछ भनेर देखाउँछ ।’

गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको उनले टिप्पणी गरे । रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पु¥याउने विषयमा ध्यान दिनुपर्ने अधिकारीको भनाइ थियो । ‘खेतबारी बाँझो रहन दिनु हुँदैन । बजारबाट किनेको खान्न भन्ने हुनुपर्छ,’ उनले भने, ‘बजारबाट खाली आउने गाडीलाई यहाँबाट भरेर पठाउनुपर्छ । पोखराबाटै सामान बोकेर आउने अवस्था भयो भने हामी र भोलिको पुस्ताका लागि अभिशाप हुन्छ ।’

भौतिक मन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । निर्माण कार्यमा बजेट अभाव हुन नदिने मन्त्री केसीले सुनाए । ‘अहिले बेगनास तालबाट रामकोटसम्म आउने सडक स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट विभिन्न खण्डमा काम भइरहेको अवस्था छ,’ मन्त्री केसीले भने, ‘प्रदेशले काम गर्ने गरि छुट्टाइएको खण्डमा बजेट अभाव हुन नदिने तथा सघंले काम गरिरहेको खण्डमा समेत समयमा नै काम सम्पन्न गराउन मेरो पहल रहने छ ।’

गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गरे । सडकमा धेरै लगानी गरेको भनेर प्रश्न आउने गरेको तर उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेको उनले बताए । आगामी आर्थिक वर्षमा रिङरोडको बाँकी ३५ किलोमिटर सडकलाई पनि बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे ।

निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाए । उनले स्थानीय एकजुट भएमा काम गर्न सहज हुने सुनाए ।

शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा–१ का वडाध्यक्ष रामबहादुर गोदार, रूपा–७ का वडाध्यक्ष कृष्णराज सुवेदी, अन्य जनप्रतिनिधि, नेपाली कांग्रेस रूपा गाउँपालिका समिति सभापति विमल न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि माधव पौडेललगायत उपस्थित थिए ।

यो मोटर बाटो निर्माणको ठेक्का एम÷एस जी.एन.सी.पी.एल–बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सी.डी.ई सोभियत खड्काले जानकारी दिए । रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *