लुम्बिनीका ६ पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको सर्वेक्षणसहितको चासो – Nepal Press

लुम्बिनीका ६ पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको सर्वेक्षणसहितको चासो

जंगली जनावरबाट क्षति नहुने र सहजै उत्पादन हुने भएकाले निर्यातको योजना बनाउन सुझाव

रुपन्देही । लुम्बिनीका पहाडी जिल्लामा टिमुर खेतीबारे विदेशीको चासो बढ्न थालेको छ । प्रदेशका पहाडी भू-भाग रहेका रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पाका विभिन्न स्थानमा अर्ग्यानिक टिमुर खेती हुँदै आएको छ ।

खेती भए पनि यसलाई पूर्ण व्यावसायिक रूपमा अगाडि बढेको छैन । तर अहिले केही विदेशी नागरिकहरूले यसलाई अध्ययनको विषय बनाएर निर्यातसम्मको योजना बनाएपछि स्थानीयसँगै सरकारको पनि चासो बढेको हो ।

प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर अगाडि बढाएको यसको व्यावसायिक उत्पादनलाई विदेशीले चासो राखेपछि सरकारले पनि सघन छलफल थालेको छ ।

प्रदेशमा गत जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । प्रदेशमा रहेको १० लाख हेक्टर वन क्षेत्रमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ ।

एक हेक्टर जमिनमा चार सय बिरुवा हुर्काउने सकिने, एउटा बिरुवाबाट मात्रै तीन केजीसम्म टिमुर उत्पादन गर्न सकियो भने प्रतिवर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार यो सम्मेलनले दिएको थियो ।

अहिले प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँ किलोमा सहजै बिक्री हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७/०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको छ । अहिले पनि रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यावसायिक खेत हुँदै आएको छ ।

विषादीरहित टिमुरलाई विश्व बजारमा पुर्‍याउदा त्यहाँबाट राम्रो आम्दानी हुनसक्ने भएपछि सर्वेक्षणसमेत सुरु भएको छ । माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्ग्यानिक टिमुरलाई विश्व बजारमा पुर्‍याउन सकिने बारेमा विदेशी कम्पनीहरूले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले अर्ग्यानिक टिमुर खेतीबारे प्रदेश सरकारले व्यावसायिक योजना बनाउन साथ दिने प्रतिबद्धता गरेका छन् । टिमुरको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर सुधार गर्न सकिने भनाई मुख्यमन्त्री आचार्यको छ ।

विदेशी दातृ निकाय तथा उद्यमीहरूसँग बिहीबार राप्ती उपत्यका देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्बोधन गरिएको जानकारी दिए ।

‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाइदा हुने गरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ’मुख्यमन्त्री आचार्यले भने, ‘युरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजारसम्म पुर्‍याउन सकिन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा टिमुर खेती प्रवर्द्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ ।

मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेलगायत संग फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेटेर यो विषयमा छलफल गरेका थिए ।

उनले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताएका थिए । नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्ग्यानिक उत्पादनको रूपमा मूल्यसमेत राम्रो पाउने धारणा उनले राखेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले टिमुरबाट प्रदेशको समृद्धि र विकासको आधार निर्माण गर्न सकिने बताए । पूर्व मुख्यमन्त्री तथा कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्नसक्ने आधार रहेको बताए ।

‘लुम्बिनी प्रदेशले टिमुरबाट राम्रो गर्नसक्छ । यसको आधार छ’उनले भने,‘किसानले पाउने मूल्य कम छ । प्रदेश सरकारले किसानलाई समृद्ध बनाउने अभियानका रूपमा यो कार्यक्रम जोड्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *