बालेनको नारा लाउँदै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त, प्रहरीले जिल्ला अदालतमा बुझाउँदै – Nepal Press

बालेनको नारा लाउँदै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त, प्रहरीले जिल्ला अदालतमा बुझाउँदै

काठमाडौं। संविधान दिवसका अवसरमा शुक्रवार दरबारमार्गमा भएको कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन समर्थकमध्ये एक जना ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ।

तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। ‘हाम्रो रेकर्डमा उनी फरार रहेको देखिएका छन्। अरू कुरा बुझ्ने काम भइरहेको छ’, एसपी अधिकारीले भने। खड्का बझाङको मस्टा-३ घर भई हाल माछापोखरीमा बस्दै आएको पाइएको छ।

प्रहरीले दरबारमार्ग क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये तीन जनालाई शुक्रवार छाड्ने प्रहरीको तयारी छ। खड्कालाई भने पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने छ।

यी व्यक्ति बालेनको टी-सर्ट लगाएर इन्द्रजात्रा पनि हुलदंगा गरेपछि प्रहरीले निगरानीमा राखेको थियो । तीनै व्यक्तिहरू नेशनल डे कन्सर्ट सुरु हुने बेला देखि नै बालेन ! बालेन ! भन्दै नारा लगाउँदै पछाडि जम्मा भएपछि प्रहरीले सुरुमा सम्झाइ बुझाइ गरेको बताइएको छ ।

साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।

प्रहरी हिरासतमा लगेर सोधपुछ गर्दा पक्राउ परेका ४ जना मध्ये खड्का पक्राउ परेको खुलेको थियो ।

स्रोतका अनुसार चार महिनाअघि त्रिचन्द्र कलेजभित्र भएको विवादमा उनले इँटा प्रहार गरी विद्यार्थीलाई घाइते बनाएका थिए। त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो।

‘कार्यक्रमका क्रममा खुट्टा कुल्चिएको भन्दै झगडा भएको रहेछ, एक अधिकारीले भने। खड्का त्रिचन्द्र कलेजमा बीएस्सी पहिलो वर्षमा अध्ययनरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *