जिमखाना खोल्ने तयारीमा थिए प्रकाश, दाजु भन्छन्- सुपारी पनि खाँदैन थियो – Nepal Press

जिमखाना खोल्ने तयारीमा थिए प्रकाश, दाजु भन्छन्- सुपारी पनि खाँदैन थियो

काठमाडौं । मिस्टर काठमाडौं जितेको ५ दिनपछि मृत्यु भएका प्रकाश राईको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सकिएपछि शव शुक्रबार साँझ मोरङ लैजाने तयारी छ ।

त्यसअघि राईको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा राखिनेछ । मृतक राईका दाजु प्रदीपका अनुसार पोस्टमार्टममा खटिएका चिकित्सकले प्रारम्भिक रुपमा हृदयघातबाहेक अन्य कारण नदेखिएको बताएका छन् ।

‘अब भिसेरा परीक्षणका लागि पनि पठाइएको छ रे, त्यसको पनि रिपोर्ट आएपछि थप प्रस्ट होला’, भाइको शव लिन काठमाडौं आएका प्रदीपले भने ।

चिकित्सकले प्रकाशलाई यसअघि पनि माइनर एट्याक आएको हुनसक्ने तर उनले चाल नपाएको हुनसक्ने आफन्तलाई बताएका छन् ।

‘एकैपटक यस किसिमको हर्ट अट्याक हुँदैन रे ! पहिला माइनर अट्याक भएपछि मात्र यस्तो हुन्छ भन्नुभयो’, प्रदीप भन्छन् ।

धापासीस्थित एक होटलमा म्यानेजर मनोज सुवेदीसहित बस्दै आएका ४५ वर्षीय राई बुधबार बिहान बेहोस अवस्थामा भेटिएपछि तत्काललै ग्रान्डी अस्पताल पु¥याइएको थियो । मनोजका अनुसार बिहान केही बेरअघिसम्म कुराकानी गरेका प्रकाश पानी तताएर दिँदा बेहोस अवस्थामा भेटिएका थिए ।

प्रकाशले गत शनिबारमात्र काठमाडौंमा आयोजना भएको मिस्टर काठमाडौंको उपाधि जितेका थिए । ७५ केजी तौल समूहमा पहिलो भएका उनले ‌ओभरलमा पनि सबैलाई पछाडि पारेर उपाधि जितेका थिए । त्यसपछि काठमाडौंमा भइरहेका विभिन्न कार्यक्रम र भेटघाटका लागि उनी म्यानेजरसहित होटलमा बसिरहेका थिए ।

दाजु प्रदीपका अनुसार परिवारका सन्तानका रुपमा तीन दाजुभाइ छन् । उनीहरु संयुक्त परिवारमा बस्छन् । प्रकाश माइला हुन् । कान्छा भाइ मकाउमा छन् । प्रकाश पनि झन्डै १५-१६ वर्ष मकाउ बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए ।

प्रदीप आफैं पनि लामो समय मकाउ बसेर फर्किएका हुन् । दुई दशकभन्दा बढी समययता बडी बिल्डिङमा सक्रिय रहेका प्रकाशले पथरीमा एक कठ्ठा जग्गा किनेर त्यसमा जिमखाना बनाउन भवन तयार गर्दै थिए । प्रदीपका अनुसार प्रकाश जिमखानामा आवश्यक पर्ने सामानहरु खोजिरहेका थिए । पछिल्लो समय उनी उर्लाबारीमा फोनिक्स फिटशालामा सिकाउँथे पनि । मिस्टर काठमाडौंमा उनले फोनिक्स फिटशालाकै नामबाट खेलेका थिए ।

‘पूर्वी नेपालको बडी बिल्डिङमा ऊ गुरु जस्तो थियो’, प्रदीपले भने । प्रदीपका अनुसार प्रकाशले जाँडरक्सी, चुरोड, बिँडी, सुपारी केही पनि खाँदैनथे ।

‘अरु त परै जाओस् चिया र कोल्ड ड्रिक्स पनि खाँदैन थियो । स्वास्थ्यमा त्यति कन्सियस थियो’, उनले भने । प्रकाशलाई कुनै रोग नलागेको र औषधि सेवन गरेको पनि थाहा नपाएको पारिवारिक सदस्यहरुले बताएका छन् ।

उनका श्रीमती र एक नौ वर्षीय छोरा छन् । मकाउबाट भाइ र आफ्नै घरमा हुर्किएका नजिकको नाताका दिदीहरु हङकङबाट आइपुगेपछि शनिबार अन्त्येस्टि गर्ने परिवारको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *