राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा – Nepal Press

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् ।

होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् । होटेलियर पावर लिस्टमा समावेश हुनु भनेको विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको मान्यता हो ।

यस सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्व प्रसिद्ध ब्रान्डहरू समावेश छन् ।

‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तार र वर्ल्डक्लास सर्भिसको रुपमा लिएको छु’, चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिविम्ब गर्छ । लगातार पाँचौं वर्ष होटेलियर इन्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु ।’

सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यमा १८५ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ, जसमा ११ हजारभन्दा बढी किज (रुम) रहेका छन् । कम्पनीको लक्ष्य सन् २०२५ सम्ममा २०० भन्दा बढी होटल र १२ हजार किज सञ्चालन गर्ने रहेको उनले बताए ।

सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, र्‍याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि छन् ।

सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ । यसको सुरुवात टाटा समूहको आईएचसीएलसँग माल्दिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलमा लगानी गरेर भएको थियो ।

‘सीजी हस्पिटालिटीको रणनीतिक साझेदारीमा केन्द्रित दृष्टिकोण, हाम्रो सम्पूर्ण हस्पिटालिटीका कर्मचारीहरुको समर्पण र दृष्टिकोणप्रतिको प्रतिबद्धता नै हाम्रो सफलताको मूल आधार हो । यसले आतिथ्य उद्योगमा हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ’, चौधरीले भने ।

राहुल चौधरीको यो उपलब्धि र सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तारले नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रियस्तरमा बढ्दो प्रभाव र पहिचानलाई प्रदर्शित गर्नुका साथै नेपाली व्यवसायिक नेतृत्वको विश्वव्यापी सम्भावनालाई उजागर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *