ग्यालेक्सी टीभीमा २ वर्षमै कसरी डुब्यो १६ करोड ? यस्तो छ संसदीय समितिको विश्लेषण – Nepal Press

ग्यालेक्सी टीभीमा २ वर्षमै कसरी डुब्यो १६ करोड ? यस्तो छ संसदीय समितिको विश्लेषण

संसदीय समितिको स्वीकारोक्ति- प्रवन्ध निर्देशक रवि आफैं तलबी कर्मचारी !

काठमाडौं । सहकारी ठगीको छानबिन गर्ने जिम्मेवारी पाएको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानले संलग्न गोर्खा मिडिया प्रालीको समेत छानबिन गरेको छ । कर्मचारीको तलब-भत्तामा अत्यधिक रकम खर्च हुँदा गोर्खा मिडिया वित्तीय संकटमा परेको समितिको प्रतिवेदनमा औंल्याइएको छ ।

गोर्खा मिडियाको स्थापना २०७७ साल भदौ १४ गते भएको हो, जसको संस्थापक शेयरधनी गितेन्द्रबाबु राई (जीबी) र छविलाल जोशी थिए । २०७७ सालको अन्त्यतिर स्वेट शेयरसहित रवि लामिछानेको प्रवेश भयो । टेलिभिजनको उद्घाटन २०७८ असोज १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

ग्यालेक्सी टीभी उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री देउवा र रवि लामिछाने ।

२०७८ र २०७९ सालमा क्रमशः छविलाल जोशी र रवि लामिछानेले उक्त कम्पनीको शेयर छोडेपछि हाल गितेन्द्रबाबु राई, कुमार रम्तेल र जीबी ग्रुप अफ कम्पनीज सञ्चालकका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका आफन्तको नाममा ऋण तथा पेश्की गरी जम्मा रु २ अर्ब ५८ करोड बराबरको रकम पठाइएको थियो । उक्त रकममध्ये ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालीको खातामा जम्मा भएको देखिन्छ । सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ जम्मा भएको छ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाइ गोर्खा मिडियामा जम्मा गरेर जीबी राईको नाममा ऋण कायम गरिएको पाइएको छ ।

जम्मा भएको रकमध्ये रु १२ करोड गोर्खा मिडियाको शेयर पूँजिवापत थियो भने ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेका थिए । रवि लामिछानेसमेतले गोर्खा मिडिया छोडेपछि जीबी ग्रुप अफ कम्पनीजले २०७९/०३/३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रूपैयाँ ऋण लिई गोर्खा मिडियालाई २०७९/०३/३१ मा २) लाख ऋण प्रवाह गरेको देखिन्छ ।

गोर्खा मिडियाबाट आर्थिक वर्ष २०७८/७९ सम्म विभिन्न व्यक्तिहरूलाई ६ करोड ९२ लाख, ९७ हजार, ४५२ रूपैयाँ पेश्की प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । उक्त पेश्की रकम फर्च्छ्यौट भएको छैन । रियालिटी शो बनाउने कम्पनी नोबडी प्रोडक्सनको सबैभन्दा बढी ४ करोड २१ लाख ९३ हजार ७५० रूपैयाँ पेश्की फर्च्छ्यौट हुन बाँकी रहेको छ ।

प्रतिवेदनले म्यानेजिङ डाइरेक्टरको पदमा रहे पनि रवि लामिछानेले गोर्खा मिडियाको ‘कर्मचारी’ कै हैसियतमा काम गरेको स्वीकारोक्ति प्रतिवेदनमा देखिन्छ । गोर्खा मिडियाले आर्थिक वर्ष २०७८/७९ मा कर्मचारीहरूलाई १ करोड १७ लाख ३० हजार ८ सय ९२ रूपैयाँ पेश्की प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । पेश्की पाउने कर्मचारीको सूचीमा दोस्रो नम्बरमा रवि लामिछानेको नाम छ ।

सूचीअनुसार सो आवमा सबैभन्दा बढी शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रूपैयाँ पेश्की लिएका छन् । दोस्रोमा रविले १७ लाख १८६ रूपैयाँ पाएका छन् । त्यसपछि विपीनकुमार आचार्य, पुष्पराज गिरी, टीकाराम राई लगायत छन् । प्रतिवेदनअनुसार रविले आव २०७७/७८ मा ‘कर्मचारी पेश्की’ ६४ हजार ५ सय ३१ रुपैयाँ लिएका थिए । यस्तै, उनले २०७८/७९ मा १० लाख ५५ हजार ५५ रूपैयाँ पेश्की लिएर कुल १७ लाख १८६ रुपैयाँ प्राप्त गरेका हुन् । कुनै पनि कर्मचारीलाई मासिक तलबबाट काटिने गरी अग्रिमरूपमा दिइने रकमलाई पेश्की भनिन्छ । यो विवरणका आधारमा रविले ग्यालेक्सी टिभीमा तलवी कर्मचारीकै हैसियतमा काम गरेको समितिले स्वीकार गरेको छ ।

ग्यालेक्सी टीभी पहिलो दुई वर्षमै १६ करोड नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार यसको मुख्य कारण सुरुवाती चरणमा अत्यधिक तलब खर्च रहनु हो । कम्पनीले आव २०७७/७८ को ६ महिनामा मात्रै ११२ जना कर्मचारीको तलब खर्च २ करोड १९ लाख ३५ हजार ७११ रूपैयाँ लेखांकन गरेको छ ।

यस्तै, आव २०७८/७९ मा २४४ जना कर्मचारीको तलब खर्च १२ करोड ७३ लाख ८६ हजार ३२१ रुपैयाँ लेखांकन भएको छ । कम्पनी नोक्सानीमा रहे पनि कर्मचारीको तलबभत्ता समयमै भुक्तानी भएको थियो भने कर्मचारीलाई पेश्कीसमेत दिइएको थियो ।

समितिले निष्कर्षमा भनेको छ, ‘गोर्खा मिडिया असफल हुनुको कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *