सेयर बजार बियरिस ट्रेन्ड नजिक, के भन्छन् विश्लेषक ? – Nepal Press

सेयर बजार बियरिस ट्रेन्ड नजिक, के भन्छन् विश्लेषक ?

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा छ । भदौ १ देखि असोज ४ गतेसम्म २० दिन सेयर कारोबार भयो । २० मध्ये १४ दिनको कारोबारमा बजार घटेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ ।

यो अवधिमा बजार बढ्नेभन्दा घट्ने दिन बढी देखिन्छ । नेप्से इन्डेक्समात्र होइन, कारोबार रकमले पनि साथ छोड्दै गएको देखिन्छ ।

बजारको कारोबार रकम ५ अर्बमा झरिसकेको छ । बजारमा बुल प्रवेश गरेसँगै १६.३० प्रतिशतले बजार घटेको छ । सामान्यतया बजार २० प्रतिशतभन्दा बढीले बढ्यो भने त्यहाँबाट बुल रन शुरु भएको मानिन्छ । त्यस्तै २० प्रतिशतभन्दा कम भयो भने बियर चक्र शुरु भएको मानिन्छ ।

यस आधारमा बजार बुल रनबाट निकै तल झरेको छ, तर प्राविधिक विश्लेषकहरु यो घटाइलाई बुल रनभित्रको करेक्सन भएको बताउँछन् । सेयर बजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाले बजार २५०० र २५५० को बीचमा रहेर केही प्रक्रिया दिन खोजिरहेको बताए ।

अहिलेको बजारको अवस्थाले बुलभित्रको करेक्सन अन्त्यतिर आइसकेको देखाउँछ ।

‘बजार अब केही समय साइडवेजमा रहने प्राविधिक चार्टले देखाउँछ । बुलभित्र ठूलो करेक्सन पनि आउनसक्छ । चार्टहरुले बजार करेक्सनको अन्ततिर देखाए पनि कम्फरमेसन गरेको छैन’, ढुंगाना भन्छन्, ‘२५०० देखि २५५० सम्मको लेभलमा बजारले केही प्रतिक्रिया दिन खोजेको छ । केही समय साइडवेजमा बसेर मार्केट फर्किन्छ भन्ने देखिन्छ । त्यसपछि बजार २८६० माथि लाग्यो भने करेक्सन सकियो भन्ने बुझिन्छ ।’

करेक्सन सकिएपछि बजार फर्किंदा १० अर्बको हाराहारीसम्म लगातार ३÷४ दिनसम्म कारोबार भयो भने बजारले बल्ल पिकअप लिने उनको भनाइ छ ।

अहिलेकै जसरी बजार घट्यो भने बजार निकै तल जानसक्छ, तर त्यसरी नघट्ने देखिन्छ । यद्यपि कारोबार रकममा भने ड्राइनेस छ । बजार २५०० देखि २८०० को बीचमा केही समय खेल्ने पनि देखिएको छ ।

बजारको इडेक्समात्र होइन, कारोबार रकम पनि ६ अर्बबाट ८ अर्ब र त्यसबाट बढ्दै १० अर्ब हुँदै कारोबार रकम क्रमशः बढ्दै गएको अवस्थामा बजार फर्किने ढुंगाना बताउँछन् ।

कोरोनाकालमा पनि बजार ५० प्रतिशत बढेर ३० प्रतिशत करेक्सन आएको थियो, तर बजारको बुल यात्रा सकिएको थिएन । बजार २०–२५ प्रतिशतभन्दा माथि लाग्छ भने बजार बुलभित्रैको करेक्सन भएको मानिने विश्लेषकहरु बताउँछन् ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार जसरी करेक्सन नआइकन बढेको थियो, त्यसरी नै घटेको बताउँछन् । बजार घट्नुको एउटा कारण करेक्सन नभई बढेको बजार पनि भएको उनले बताए । उनले भने, ‘बजारमा करेक्सन आउनु स्वाभाविक हो । बजार २८०० पुग्नेबित्तिकै नाफा खान आत्तिएर कतिपय लगानीकर्ताले सेयर बेचे । त्यसबीचमा सत्ता परिवतर्नका कुराहरु पनि आए । यसले बजार घटेको हो । करेक्सन लगभग सकिने अवस्थामा छ ।’

नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सोही लाभांश खाएर भए पनि सेयर भएका लगानीकर्ताहरु अब पर्ख र हेरको अवस्था बस्नुपर्ने उनको सुझाव छ ।

नयाँ लगानीकर्ताका लागि सेयर खरिद गर्ने उचित समय

बजार उच्चतम विन्दुबाट ४२४.०५ विन्दुले घटिसकेको छ । यो पटक बजारको उच्चतम विन्दु ३०००.८१ (साउन ३१ मा) थियो । त्यसपछि बजार घट्दै गएर २५७६.७६ (असोज २ मा) विन्दुमा आइपुगेको छ । बजार यति धेरै घट्दा सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताका लागि भने सही समय भएको विश्लेषकहरु बताउँछन् ।

विश्लेषक ढुंगानाले सेयरमा लगानी गरेका लगानीकर्ताकहरुले लाभांश खाने र नयाँ लगानीकर्ताले राम्रा कम्पनी हेरेर सेयर खरिद गर्ने बेला भएको बताए ।

बजार बुल यात्रामा पुगेपछि कहिले बजार घट्ला र सेयर किनुला भनेर बसेका लगानीकर्तामा लागि भने अहिले सही समय भएको तुलसीराम ढकाल बताउँछन् ।

बजारको उच्चतम बिन्दुबाट हालसम्म आइपुग्दा सेयर बजारको पुँजीकरण ६ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँले घटिसकेको छ । यो भनेको लगानीकर्ताको फोर्टफोलियो ६ खर्ब ६८ अर्बले घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *