देवकुमार नेपालीको माग- मेरो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिन पाउँ – Nepal Press

देवकुमार नेपालीको माग- मेरो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिन पाउँ

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था पोखराका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय छानबिन समितिलाई पत्र पठाएका हुन् ।

उनले हुलाकमार्फत समितिलाई पठाएको पत्रमा आफू आबद्ध भएको सहकारी बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ हाराहारी फिर्ता गर्न बाँकी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसका साथै बैंकमा धितो राखी लिएको रकम ३१ करोड रुपैयाँमात्रै छ । काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ । कुन-कुन कित्ता बैंकमा घितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत समितिसमक्ष आह्वान गर्न चाहन्छु । अतः संघर्ष समितिको भर पर्दा एकातिर मेरो घरजग्गा सम्पत्ति हडप्न दलालहरु लगाउने, अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको छ ।’

नेपालीले संघर्ष समितिमा रहेका सबै पदाधिकारी सदस्यहरुलाई समेत छानबिनको दायरामा लिन आग्रह गरेका छन् । उनले संघर्ष समितिमा रहेका प्रतिनिधिहरुको नाम निवेदनमै समावेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर