‘छक्कापञ्जा’ टीमको स्त्रीद्वेषी दूषित सोच- ‘ब्रेकअप’ गीतबाटै भयो एक्सपोज – Nepal Press
ब्लग

‘छक्कापञ्जा’ टीमको स्त्रीद्वेषी दूषित सोच- ‘ब्रेकअप’ गीतबाटै भयो एक्सपोज

नेपाली चलचित्र जगतमा रावायण चल्नुअघि एकाएक पल शाह र पूजा शर्माको अन्तर्वार्ता र अन्तर्वार्ताको प्रत्युत्तरमा गायिका समीक्षा अधिकारीको भनाइले प्रशस्त चर्चा पायो । दर्शक-श्रोता या भनौं सामाजिक सञ्जाल प्रयोगकर्ता दुई भागमा फ्याक भए । समग्रमा पूजा शर्माको चलचित्र प्रचार गर्ने शैली र महिला तथा बालबालिकाको सवालमा पूजाको गलत बुझाइ दर्शकले मन पराएनन् । अर्कोतर्फ पलको पछिल्लो उपस्थितिलाई दर्शकले रिजेक्ट जस्तै गरिदिए ‘रावायण’मार्फत । कमजोर अभिनय, खेलाची जस्तै गरिएको भेषभुषा त ट्रोल नै बने । अझ पूजाले चलचित्र नचल्नुमा जातीयतालाई जोडेर फेरि विवादको फुर्का थपिन् ।

यता मीनबहादुर भामको चलचित्र ‘साम्बाला’ले हलमा सामान्य व्यापार गरे पनि बलिउडलाई मात्र लोभ्याएन, बर्लिन फिल्म फेस्टिभलमा छनोट तथा ओस्कारको प्रतिनिधित्व गर्ने हैसियतमा समेत आफूलाई उभ्याउन सफल भयो ।

हुन त विश्वव्यापी रुपमै आर्ट फिल्म र कमर्सियल फिल्म अलगअलग ढङ्गले निर्माण हुन्छन् र तिनीहरुका उद्देश्य फरक हुन्छन्, तर नेपालको परिप्रेक्ष्यमा बनेका फरक र मौलिक कथाका फिल्मले विश्वलाई चिनाउन प्रयास गरिरहँदा व्यवसायिक र ‘मेन स्ट्रीम’ मानिएका चलचित्रहरुले आफ्नो पहिचान दरिलो बनाउन नसक्नु चुनौतीपूर्ण अवस्था देखिएको छ । यद्यपि रङ्गमञ्चबाट खारिएका कलाकारहरुको बाक्लो उपस्थितिले उद्योगलाई आशालाग्दो नबनाएको हैन । तर पनि समग्रतामा सानो बजार, बृहत बजारको खोजीमा कमी, सरकारको प्रोत्साहनको अभाव, दर्शकको उच्च अपेक्षा, चलचित्र निर्माण पक्षको कमजोरी जस्ता पक्षले नेपाली चलचित्रमाथि चुनौती थपिदिएको छ ।

यी त भए चुनौतीहरु, तर चलचित्रले आफ्नो उत्तरदायित्व कसरी निर्वाह गरिरहेको छ त बहसको विषय बनेको छ । अक्सर ‘ड्याम्म’ जसरी ट्रेलर देखाएर ‘फुस्स’ का अवस्थामा हलमा भेटिने आमचलचित्रलाई एकखाले दर्शकले पत्याउनै छोड्न लागेको अवस्था छ । अर्काेतर्फ कोभिडपछि विस्तार व्युँतेको इन्डस्ट्रीमा केही राम्रा ब्रान्डेड ब्यानरका चलचित्रले कहीँ न कहीँ बजार तताएकै छ । अक्सर तीज-तिहार रोजेर रिलिज गरेरै भएनि करोड क्लबमा यी दुईचार चलचित्र दौडेका छन्, तर चलचित्र बिल्कुल ‘हर्के हवल्दार’ भन्ने सिरियलमा हर्के हवल्दार नभए झैं, मुख्य चुरो कुरो हराए झैं भेटिन्छ, यो ‘तीतो सत्य’ जगजाहेर छँदैछ ।

सामाजिक अगुवाहरुको भनाइमा नेपाली चलचित्रमा कहिले सामाजिक सद्भाव हराउँछ, कहिले अपाच्य र अश्लील सामग्री जबरजस्ती बेचिन्छ । चलचित्र समाजलाई जस्ताको तस्तै देखाइदिने ऐनामात्र नभई चलचित्र समाजको मार्गदर्शक पनि हो । उदाहरणका रुपमा धूमपान र महिलामाथिको दुर्व्यवहार चलचित्रहरुले यसरी सामान्यीकरण गरेर देखाइदिन्छ कि किशोरकिशोरीहरु हिरोगिरीका नाममा चलचित्रका कलाकार झैं बनिदिन्छ्न् । हेल्मेट नलगाई मोटरसाइकल चलाउनु, टेन्सन हुँदा धूमपान, मद्यपान गर्नु चलचित्रहरुकै प्रभाव हुन् कतै न कतै ।

टिकटक तथा युट्युबमा सामान्य अश्लील भाइरल कन्टेन्टहरु आउँछन् र तुरुन्तै बिलाउँछन् । बरु यिनले समाजलाई निर्देश गर्न सक्दैनन्, तर राम्रा कलाकारहरुले गाएका, नाचेका, अभिनय गरेका गीत तथा चलचित्रहरु जनताका मनमा यसरी गढ्छन् कि त्यसले लामो समयसम्म समुदायको भावलाई निर्देश गर्ने ल्याकत राख्छन् ।

टिकटक तथा युट्युबमा सामान्य अश्लील भाइरल कन्टेन्टहरु आउँछन् र तुरुन्तै बिलाउँछन् । बरु यिनले समाजलाई निर्देश गर्न सक्दैनन्, तर राम्रा कलाकारहरुले गाएका, नाचेका, अभिनय गरेका गीत तथा चलचित्रहरु जनताका मनमा यसरी गढ्छन् कि त्यसले लामो समयसम्म समुदायको भावलाई निर्देश गर्ने ल्याकत राख्छन् ।

चर्चा गरौं ‘छक्कापञ्जा- ५’ को ब्रेकअप गीतको । हुन त निर्माण पक्ष कथाको कन्टेन्ट या हास्यव्यङ्ग्य भनेर पन्छिएला, तर ‘छक्कापञ्जा- ५’ को सरापे गीतले समाजमा अङ्गभङ्गसमेत होस् भनेर सराप्नुलाई सामान्यीकरण गर्दैछ । अब केही दिन तोतेबोली बोल्नेदेखि परिपक्वहरुसमेत सामाजिक सञ्जालमा ‘ब्रेकअप दिनेको आँखै फुटोस् भन्दै पैसा र बैंस फिर्ता’ माग्नेको लर्को लाग्नेछ । यसले चलचित्रलाई त फाइदै होला, तर समुदायलाई लङटर्म इफेक्ट गर्नेमा दुई मतै छैन ।

साहित्यकार सीमा आभास भन्छिन्, ‘यदि कसैले गीत, कविता सिर्जना गर्छ भने शब्द छान्न सय पटक सोच्नुपर्दछ, तर यस्ता सरापलाई गीत नभनोस् । चलचित्र सेन्सरबोर्डले यी सरापे गीतलाई किन सार्वजनिक गर्न दिएको ? कलाकारहरू समाजप्रति जिम्मेवार हुनुपर्दैन ? ती शब्द र भावप्रति ठूलो आपत्ति छ । अझ ‘तेरो पैसा लैजा, मेरो बैँस फिर्ता ले’ भन्ने शब्दवाला गीतले दिमाग रन्थनिएको छ ।’

‘अपराधी मनोविज्ञानलाई बढावा दिन कलाकारितामा कसरी अभ्यास गरिँदैछ र यो स्थापित हुँदैछ भन्ने ज्वलन्त उदाहरण ‘छक्कापञ्जा–५’ का गीत हुन् । यी गीत चल्ने सम्भावना धेरै छ, तर अपराधमाथि कसरी मनोरञ्जन लिइन्छ भन्ने उदाहरणको उदांगो रूप यी गीत हुन्’, सीमा आभासको भनाइ छ ।

दीपक-दीपा सामाजिक उत्तरदायित्वमा संवेदनशील छैनन् भन्ने ‘छक्का-पञ्जा’ले पटकपटक उदाङ्गो बनाइसकेको छ । ब्रान्डेड मानिएका चलचित्र उत्पादकहरु भेलु-भाइरलको हैसियतमै रहन थालेपछि नेपाली चलचित्रको मौलिकता ‘साम्बाला’ र ‘कालो पोथी’हरुले नै जोगाइदिनु परेको अवस्थालाई नकार्न सकिँदैन ।

थप कुरा, दर्शकको मुटु यस्तै सराप्नेलाई सपार्नेतर्फ लागेपछि नै हो हाम्रा चलचित्र यस्तै पानीपुरी र चटपटेमात्र बनिरहेका र ‘साम्बाला’हरु जन्मिनुअघि दश पटक सोचिरहेका छन् ।

देश बिगारे भनेर राजनीतिकर्मीलाई सम्झाउने यो जोडी (टीम)ले आफू कलाकार हुँदा निर्माण गरेको फिल्मले आफ्नो थैलो भर्नेबाहेक फिल्ममार्फत पनि देश र संस्कृतिका पक्षमा कस्तो कार्य गरेको छ ? स्वयं मूल्याङ्कन गर्नसमेत आवश्यक छ । आफैं नेपाली चलचित्रलाई माया गरौं भन्ने अभियान चलाइरहँदा, आफ्नै मौलिकता झल्किने र समुदायको उत्तरदायित्वसमेत बहन गर्ने क्षमता भएको चलचित्रमा कन्टेन्ट उत्पादन गर्न एड्भोकेसी हुँदा चलचित्रकर्मीले यसलाई नकारात्मक रुपमा नलिई आगामी दिनमा समालोचनात्मक सुझाव ग्रहण गर्दै अघि बढोस् र बढ्नु अपरिहार्य देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *