काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले बुझाए प्रगति प्रतिवेदन, सरुवा भएका परियारको बिदाइ – Nepal Press

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले बुझाए प्रगति प्रतिवेदन, सरुवा भएका परियारको बिदाइ

नेतृत्वको नीतिलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ : परियार

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएका छन् ।

आफ्नो कार्यकाल ७ महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदनमा समावेश गरिएका छन् । सरुवा भएर जाँदा आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखेर उनले प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन ग्रहण गरिसकेपछि प्रमुख शाहले प्रमुख प्रशासकीय अधिकृत परियारका कामको प्रशंशा गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

नेपाल सरकार, मन्त्री परिषदको भदौ २७ गतेको निर्णयअनुसार परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएर गएका छन् । भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो ।

२०८० माघ ३ गतेको मन्त्री परिषदको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका थिए । उनले माघ १० गते पद वहाली गरेका थिए ।

आज सभा कक्षमा प्रशासन विभागले आयोजना गरेको विदाइमा बोल्दै परियारले, नेतृत्वको नीतिलाई सफल बनाउन महानगरपालिकाका कर्मचारीहरुमा प्रवल क्षमता रहेको उल्लेख गरे ।

‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ । कार्य सम्पादनका क्रममा यो सोच राखेर काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ । यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानु प्रगति बढ्दै जानेछ’, उनले आफ्नो कार्यकालका सम्झना योग्य कामका बारेमा चर्चा गर्दै भने, ‘वितेका ५ वर्षमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च भयो । एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र सञ्चालनमा आयो । विद्युतीय शासन प्रणालीहरु परिष्कृत गरिए । यी सबै कामलाई संस्थागत अभिलेखन गरेर हस्तान्तरण गरेको छु ।’

कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकालले, परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहँदा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का लागि गहन काम भएको उल्लेख गरे । परियारका कार्यकालमा थालिएका कामहरुलाई निरन्तरता दिइनेछ ।

ढकालले भने, ‘प्रमुख प्रशासकीय अधिकृतबाट विभागीय प्रमुखसँग कार्य सम्पादन सम्झौता भएको छ । अधिकार प्रत्यायोजन भइसकेको छ । यसपछि खुरुखुरु काम गर्न सक्ने अवस्था छ ।’

बिदाइ अवसरमा विभागी प्रमुखहरुले परियारको कार्यकाल सुखद र स्मरणीय रहेको उल्लेख गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर