बम्जन परिवारको ‘सहकारी ठगी’को जालो, २०० बढी सहकारीमा फैलियो पालैपालाे – Nepal Press

बम्जन परिवारको ‘सहकारी ठगी’को जालो, २०० बढी सहकारीमा फैलियो पालैपालाे

काठमाडौं । अधिकांश सहकारीमा बम्जन परिवारले ठगीको जालो फिजाएको तथ्य खुलेको छ । डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका अधिकांश सहकारीलाई ठगी खाने भाँडोको रुपमा प्रयोग गरिएको पाइएको हो ।

सहकारीकाे रकम छानबिन विशेष समितिकाे प्रतिवेदनका अनुसार उनीहरूको पारिवारिक जालो यसरी फ्याँकियो जसले देशभरका अधिकांश सहकारीमा हाली मुहाली गरेकाे खुलेकाे हाे । सर्वसाधारणको ठूलो रकम आफ्नो स्वार्थमा प्रयोग गरे ।

अहिले ब्रिटिश गोरखा समूहका आफन्त र त्यहाँबाट छुट्टिएर गएका कर्मचारीहरूद्वारा देशभर खोलिएका ३०० भन्दा बढी सहकारी संस्थाहरू छन् । २०० भन्दा बढी सहकारी संस्थाहरूले ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

यस्तो बदमासी र ठगीको जालोमा देखिएका सहकारीका सञ्चालकहरू प्रायः बम्जन परिवारले सुरु गरेको सहकारीबाट प्रवर्द्धित छन् । अरु त्यहाँबाट छुट्टिएका शेयरधानी वा कर्मचारीले त्यहींको शैली र सफ्टवेयर लिएर सञ्चालन गरेका सहकारीहरू धेरै रहेका देखिन्छ ।

देशभरका सहकारीको कार्यकारी भूमिकामा रहेका ८० प्रतिशत व्यक्तिहरूको २ देखि ५ वर्षबीचको सम्पत्ति छानबिन गर्दा सबै सहकारीबाट बचत रकम कसरी हिनामिना, अपचलन र ठगी भएको विषय छर्लङ्ग हुने स्थिति रहेको छ ।

यसरी फिजियो बम्जन परिवारको सहकारी ठगीको जालो

गोरखा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भएर निस्किएपछि डीबी बम्जनका कान्छी आमापट्टिका साइला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड स्थापना गरे । यस सहकारीमा २०६० सालमा केरदानाथ शर्मा उपाध्यक्ष बनेका थिए ।

हाल शिवशिखर र तुलसी सहकारी चलाएका केदारनाथ शर्माको शान्तिनगर गेट नजिकै दुइ सटरको राम्रो पसल थियो । उपकारमा सबैभन्दा बढी पैसा राख्ने केदारनाथ नै थिए । यसै कारण उनलाई उपकारकै उपाध्यक्ष बनाइयो ।

चाबहिलको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभलि सहकारीको पनि संस्थापक अध्यक्ष उनै ज्ञानबहादुर तामाङ थिए । उनीपछि उनकै श्रीमती पुष्पाकुमारी तामाङ हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल सो संस्थामा ईश्वर किराँत राई अध्यक्ष रहेका छन् ।

ज्ञानबहादुर तामाङको तजबिजीमा भक्तपुरमा खोलिएको हिमाल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभमा डमीका रूपमा उपकारको कलेक्सनमा कार्यरत विज्ञान राईलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको थियो । हाल उक्त सहकारी संस्थाको अध्यक्ष ईश्वर किरात रहेका छन् । यसको पनि संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन नै रहेको देखिन्छ ।

बज्रयोगिनी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ ज्ञानबहादुरकै स्कूलका सहपाठी सूर्यध्वज न्यौपानेलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्पलेक्स न्यूरोडमा सहकारीको कार्यालय रहेको छ । अहिले सूर्यध्वज सल्लाहकार र सूर्यध्वजकी श्रीमती सुनिता कार्की अध्यक्ष रहेकी छन् ।

डीबी बम्जनकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष रहेर नयाँ बजारमा कार्यालय राखी लालीगुराँस सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभसञ्चालन गरिएको थियो । स्थापनाकालमा डीबी बम्जनका भाञ्जी ज्वाईं धनबहादुर तामाङ प्रवन्ध निर्देशक थिए । डीबी बम्जनकी भाञ्जी संगीता तामाङ गोरखा विकास बैङ्कको एचआर, एडमिन र प्रोक्युरमेन्टमा काम गर्थिन् । उनैमार्फत धनबहादुर तामाङ लालिगुराँसको अध्यक्ष बनेका थिए ।

बम्जन परिवारको इन्ट्री एक पछि अर्को सहकारीमा हुँदै सहकारीकै सम्राज्य विस्तार भयो । यूनाइटेड गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ, स्वर्णलक्ष्मी सेभिङ एण्ड क्रेडिट कालीमाटी, बालुवाटरमा मुकुल सेभिङ एण्ड क्रेडिट, चन्द्रागिरिमा देवदर्शन सहकारी, ठिमीको शिखर बचत तथा ऋण सहकारी, गोरखाव्दिप सेभिङ, कल्याण सेभिङ र कस्मीक बचत सहकारी सम्म बम्जन परिवारको इन्ट्री भयो ।

यस्तै मनोकाँक्षा र जनमुक्तिमा पनि बम्जन परिवारको संलग्नता रह्यो । उनीहरुको सहकारी ठगीको धन्दा काठमाडौ उपत्यकामा मात्र सिमित नभइ सुर्यदर्शन सहकारीबाट उपत्यका बाहिर विस्तार भयो ।

सूर्यदर्शनपछि ईमेजको जन्म भयो । पोखरामा चल्तोपुर्जा देखिएको सूर्यदर्शन सहकारीमा देवकुमार नेपाली ४६ सहित ४ जना मेखबहादुर वि.क. विकास श्रेष्ठ र कल्पना पहरीले २०६७ मा शेयर राखे ।

पहिलो बैठकबाट देवकुमार सूर्यदर्शन सहकारीको उपाध्यक्ष बने । तर लगातार तीनवटा बैठक बस्दा नबस्दै विवाद उत्पन्न भयो । विवादको जड ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको भन्ने देवकुमार नेपाली पक्षको जिकिर थियो ।

उक्त रकम काठमाडौं पठाएको देखिएको थियो । ज्ञानबहादुर बम्जनसँग देवकुमार नेपालीको स्वार्थ नमिलेको देखिन्छ, उनीहरूकै इगोमा ईमेज सहकारी संस्था खोलेका थिए। पैसा सङ्कलन गर्ने शैली सूर्यदर्शनकै कर्मचारीबाट सिकेको प्रष्टै देखिन्छ ।

को हुन बम्जन परिवार ?

दर्जबहादुर तामाङ ब्रिटिश सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए । उनकी जेठी श्रीमती बिबिमाया तामाङबाट ५ भाइ, २ बहिनी जन्मिए । सात सन्तान जन्माएपछि बिबिमायाको डीबी २ वर्षको नाबालक हुँदा निधन भयो ।

दर्जबहादुरले दोस्रो श्रीमतीका रूपमा विबिमायाकै भदैनी आइतमाया तामाङसँग विवाह गरे । आइतमायाबाट पनि चार भाइ र पाँच बहिनीको जन्म भयो । १४३ तिनै १६ दाइ भाइ, दिदीबहिनीको विवाह, सम्धि सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए ।

दर्जबहादुर तामाङको पहिलो श्रीमती बिबिमाया तामाङको तर्फका छोराहरूः उत्तरबहादुर तामाङ, पदमबहादुर तामाङ, र मेशबहादुर तामाङ, तेजबहादुर तामाङ रडम्बरबहादुर तामाङ (बम्जन) थिए । यस्तै छोरीहरू विष्णु तामाङ र हेमकुमारी तामाङ थिए ।

दर्जबहादुर तामाङको दोस्रो श्रीमती आइतमाया तामाङको छोराहरू खड्गबहादुर बम्जन, शेरबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, खिलाबहादुर तामाङ थिए भने छोरीहरू नन्दा कुमारी बम्जन निर कुमारी बम्जन, नेत्र कुमारी बम्जन निशा भनिने भगवति बम्जन र रेश्मा बम्जन थिए ।

ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरू पछिल्लो समय अधिकांश नेपालका घरहरू बेचबिखन गरेर बेलायतमै स्थायी बसोबास गरेका छन । आर्थिक समृद्धिमा लागेका ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरूको रकमसँगै ब्रिटिश गोरखा ब्राण्ड नै धुमिल हुने गरी डीबी बम्जन परिवारले सोझा इमान्दार ब्रिटिश गोरखा भूतपूर्व सैनिक परिवारको रकम आफ्नो स्वार्थमा दुरूपयोग गरेको सहकारी छानविन समितिको प्रतिवेदनको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *