विद्यालय तहको पाठ्यक्रम परिवर्तनको तयारीमा शिक्षा मन्त्रालय – Nepal Press

विद्यालय तहको पाठ्यक्रम परिवर्तनको तयारीमा शिक्षा मन्त्रालय

पाठ्यक्रम परिमार्जनको आधार पहिचान गर्न असोज दोस्रो साता विज्ञसँग छलफल गर्ने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न तयारी अघि बढाएको छ । पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन मन्त्रालयले तयारी अघि बढाएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी गराएकी हुन् ।

शिक्षा पत्रकार समूहको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कायृक्रममा शिक्षामन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको आधार पहिचान गर्न असोज दोस्रो साता विज्ञ छलफल गर्न लागेको बताए । उनले भनिन्, ‘पाठ्यक्रमको परिमार्जनको लागि असोज दोस्रो साता छलफल गरेर निष्कर्षमा पुग्छौ । यसको लागि केही सर्वेक्षण गरेर तथ्याङ्क समेत आइसकेको छ ।’

विद्यार्थी फेल गरेर विद्यालय तह पुरा नगर्ने परीक्षा प्रणाली समेत हटाउन लागेको शिक्षामन्त्री भट्टराईले बताईन । उनले कक्षा १० को मात्रै नभई आधारभूत तहदेखि नै परीक्षाको मुल्याङकन व्यवस्थित बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिईन । उनले भनिन्, ‘१२ कक्षाको परीक्षा विद्यालय तह छाडेर उच्च शिक्षामा जाने भएकोले क्षमता विकासको जाँच लिनुपर्छ । तल्लो कक्षामा परीक्षाको कारणले विद्यालय छाड्ने व्यवस्था अन्त्य गर्नु पर्ने परीक्षा व्यवस्थित बनाउनु पर्छ ।’

उनले एउटा तहको परीक्षा वर्षमा दुई पटक लिने कि नलिने भन्दै परीक्षा व्यवस्थित गर्नुपर्ने बताइन । उनले थप्दै भनिन्, ‘अब परीक्षाको इन्डिकेटरलाई बदल्नु पर्छ । कटप राखेर रोक्नु आवश्यकता छैन ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले निःशुल्कको कुरा मात्रै नगरी तीन तह बिच सहकार्य र व्यवस्थित गर्न सहज भएकोले आफूले कार्यान्वयन गर्न लागि परेको मन्त्री भट्टराईले बताइन । उनले भनिन् ‘ऐनले दिएको बाटो पहिल्याउन सकेको थिएन । सरकारले यतिसम्म कि त्यो ऐनको जिम्मेवारी लिएको थिएन । सरकारले विद्यालय तहको जिम्मा लिनुपर्छ भनेर सुरुवात गरेको छु । स्थानीय तहको अधिकार खोस्ने होइन । संघ, प्रदेश र स्थानीयको सामूहिक कोष बनाएर विद्यालय तह निःशुल्क बनाउन सकिन्छ भनेर लागि परेका छौ ।’

कोष कार्यान्वयन स्थानीय तहलाई दिए पछि विद्यालय शिक्षा निःशुल्क बनाउन सकिने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर