काकाकुल पोखरीकाँडाबासीलाई त्राण– अब लगाउनु पर्दैन कुवामा ताल्चा ! – Nepal Press

काकाकुल पोखरीकाँडाबासीलाई त्राण– अब लगाउनु पर्दैन कुवामा ताल्चा !

सुर्खेत । बराहताल गाउँपालिका, सुर्खेतका स्थानीयबासीलाई एकताका खानेपानी अभाव जीवनकै ठूलो समस्या थियो । वडा नम्बर ६ का बासिन्दाले वर्षौंसम्म पानीको अभाव भोगे ।

‘बम्बई जाने गाडीलाई रेल भन्छन्, पोखरीकाँडाको पानीलाई तेल भन्छन्’ जस्ता लोकगीतले यहाँको पानीको समस्या प्रतिविम्बित गर्थ्यो । पानीको लागि संघर्ष यहाँका नागरिकको दैनिक जीवनको अनिवार्य हिस्सा बनेको थियो । गाउँका केही कुवामात्र चालू भएकाले पानी जोगाउन पोखरीकाँडाबासीले कुवामै ताल्चासम्म लगाए ।

कतिपयले आफ्नो कुवामा अरुलाई बन्देज गर्थे । खानेपानीकै अभावले यहाँ धेरै परिवारले गाउँ छाड्नुपर्‍यो ।

स्थानीय गोपाल बुढा भन्छन्, ‘पानी नभएर धेरैजना बसाइ जान बाध्य भए । पशुहरूलाई समेत खुवाउन समस्या थियो । पानी चोर्ने हुँदा कुवामा ताल्चा लगाएर राख्नुपर्ने अवस्था थियो ।’

कुवामा पानी तान्न महिलाहरूले असाध्यै दुःख पाएको तीतो पोख्छिन् सिर्जना कामी ।

उनी भन्छिन्, ‘कुवामा पानी तान्न जाँदा चिप्लिएर लड्ने, नुहाउन र लुगा धुन महिनौं पर्खनु पर्थ्यो ।’

पछिल्ला दिनमा भने काकाकुल यो ठाउँमा केही राहत भएको छ । कर्णाली जल परियोजना र गाउँपालिकाको प्रयासबाट खानेपानी योजना बन्न थालेको हो । बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीका अनुसार ५ वर्षभित्र गाउँमा खानेपानी र सिँचाइ समस्या समाधान गर्ने योजनासहित काम भइरहेको छ ।

पहिलो चरणमा ८६ लाख र दोस्रो चरणमा ६५ लाखको लागतमा खानेपानी योजना सम्पन्न भइसकेको छ । वडा नम्बर १, २, ३,७ र ९ मा खानेपानी पुगिसकेको र बाँकी वडामा पनि काम भइरहेको अध्यक्ष भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘१० वटै वडामा खानेपानीको समस्याको समाधान गर्न ५ वर्षमा ५० वटा योजना बनाइसक्ने लक्ष्य लिएर लागिपरेका छौं । तर, ठूलो बस्ती भएको ठाउँमा संघीय सरकारको लगानीमा वृहत योजना छन् । जुन योजनाको काम अलपत्र छन् । त्यसले प्रभावित पारेको छ ।’

उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ मा बन्दै गरेको संघ सरकारको १२ करोड लागतको योजनामा लापरवाही हुँदा निर्माण अलपत्र छ । यस्तै, वडा नम्बर ५ र ७ मा पनि यस्तै समस्याले पानीको अभाव ज्यूँका त्यूँ छ ।

गाउँका धेरै ठाउँमा संघीय सरकारको योजनामा केही अवरोध आए पनि, समग्रमा अधिकांश घरहरूमा अहिले धारा पुगेको छ । यसले आफूहरूको आधा सरो दु:ख सकिएको गृहिणीहरू बताउँछ्न् ।

अहिले घरघरमा धारा पुगेपछि बराहातालबासीमा खुसी छाएको छ । पानीको सहज पहुँचले खेतीपाती, सरसफाइ, र दैनिक जीवनका अन्य गतिविधिमा समेत सुधार आएको छ ।

अध्यक्ष भण्डारी भन्छन्, ‘पानीका लागि सधैँ संघर्ष गरिरहेका यहाँका स्थानीय अहिले आत्मनिर्भर र स्थायित्वको यात्रामा लागेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *