छो-रोल्पा ट्रेक : जाँदाखेरि मुस्कान थियो, फर्किंदा आँखाभरि आँसु
चरिकोटबाट चढेको बस छेदछेद आइपुगेपछि रोकियो । बसबाट ओर्लियौं । पैदल यात्रा सुरु भयो, तर यात्रा सुरु हुनासाथ झरी सुरु भयो । तल तामाकोशी नदी उर्लिरहेको थियो । झोलुंगे पुलबाट नदी तर्नुपर्ने थियो, तर पुल टेक्नेबित्तिकै खुट्टा काम्न थाल्यो । थर्थराइरहेको पुलमाथिबाट मैले हठात भगवानलाई पुकारें ।
‘ओत माङे सेवारो !’
हतारहतार तामाकोशी तर्यौं । झरीले रुझेको हामीलाई पुलपारि गौरीशंकर गाउँपालिकाको गेटले पनि रुझ्दै स्वागत गर्यो । गौरीशंकर गाउँपालिका हुँदै पुगिन्थ्यो छो-रोल्पा ।
बाटोको सुरुमै नाक ठोक्किने उकालो थियो, उकालोभरि पक्की सिँढी । भित्तापट्टि डरैलाग्दो अजङ्गको पहरा, पहरामुनि ठूलो ओढार । छेउपट्टि कहालीलाग्दो भीर । ओढारको टुप्पोटुप्पोबाट खसिरहेको झरना । त्यो झरना तामाकोशीमा खस्थ्यो । पानीले भिजेर सिँढी चिप्लो भएको थियो । चिप्लो सिँढीमा खुट्टा चिप्लियोमात्रै भने सीधै तामाकोशीमा खस्थ्यौं ।
हामी हतारहतार ओढारभित्र ओतियौं ।
‘दाइ ! बाढीपहिरोले दुःख दियो भने पो टेन्सन हुन्छ’, रेनकोट लगाउँदै मिराक आन्सेले भन्यो ।
‘मनसुनको ट्रेक हो आन्से ! अलिकति एड्भेन्चरस त हुन पर्यो नि’, ओढारको टुप्पोबाट खसिरहेको झरना हेर्दै भनें । झरनाका छिटाहरुले चस्मा भिजाएर आँखामा बाक्लो तुवाँलो लाग्यो ।
‘माथि त नेटवर्क पनि दिँदैन होला है’, आन्सेको बोलीमा स्पष्ट डर थियो ।
‘डुल्दा कसैको वास्ता नगरी डुल्नुपर्छ हौ आन्से’, मैले चस्मा पुछ्दै आफ्नो मनसाय राखें ।
लठ्ठीको सहारामा हामी उकालो चढ्न थाल्यौं । तामाकोशीबाट उठेको कुहिरोले झ्याप्पै बाटो छोपिदियो । सुरुमै यस्तो गाह्रो बाटो, पछि झन कस्तो होला ? मनमनै सोचें । दर्किरहेको झरीले तप्प तप्प गर्दै रेनकोटको टोपी छेड्ला जस्तो गरिरहेथ्यो । बल्लतल्ल ३०० सिँढी उकालो चढेपछि सास बढ्न थाल्यो । थकान मार्दै ब्यागबाट इन्हेलर निकालेर तानें । इन्हेलरले सास बढ्न कम भयो । थकान मार्दा तलबाट निथ्रुक्क भिजेर मेरै उमेरको एकजना मान्छे आइपुग्यो ।
‘छो-रोल्पा हो तपाईं पनि’, सहयात्री हो कि भन्ठानेर सोधें ।
‘हैन सर, सिमीगाउँसम्म मात्रै हो ।’
‘कताबाट आउनुभएको?’
‘छेदछेदबाट’, उसले पनि हाम्रो छेउमा थकान मार्दै भन्यो ।
‘घरै सिमीगाउँ हो ?’
‘हजुर सर ।’
‘सिमीगाउँ पुग्न चैँ कति लाग्ला अब ?’
‘तपाईंहरुलाई त लाग्छ होला डेढ घण्टा ।’
‘तपाईंहरुलाई चैँ कति लाग्छ’, स्थानीयको गतिको अड्कल गर्न सोधें ।
‘४५ मिनेट !’
०००
साँझ ६ बजेतिर सिमीगाउँ पुगियो । भिरालो जस्तो देखिने ठाउँमा मज्जाले बसेको तामाङ र शेर्पाहरुको गाउँ । प्रत्येक घर र बाटोमा लुङदर झुन्ड्याइएको । प्रायः घरहरु टिन र काठहरुले बनेका । केही घर ढुङ्गा र परालका पनि । त्यस्तो पहरामाथि यति सुन्दर गाउँ छ भनेर पत्याउनै नसकिने !
घरहरुको संख्या धेरै भए पनि जनसंख्या भने कमै रैछ । यातायात, शिक्षा र स्वास्थ्योपचारको असुविधाको कारण प्रायः सिमी गाउँवासी काठमाडौं बस्दा रैछन् ।
‘होटल बुक गर्नुभो’, गाउँ छिर्ने बाटोको माने ढोगेर उसले सोध्यो ।
‘छैन नि, हामी त अव्यवस्थित पो हिँड्दैछौं’, मैले सिमी गाउँ नियाल्दै भनें ।
‘उसो भए मितिनी होटलमा जानुहोला । अलि राम्रो छ । म फोन गरेर खाना भन्दिउँला’, उसले आत्मीयता देखाउँदै भन्यो ।
‘लु धन्यवाद है !’
‘निमातेन्जिङ तामाङ भन्दा सबै होटलले चिन्छ मलाई’, उसले आफ्नो नामको रवाफ बतायो र आफ्नो घरतिर लाग्यो । हामी मितिनी होटलतिर लाग्यौं ।
ढुङ्गा बिछ्याइएको भए पनि बर्खाले गर्दा बाटो हिलो थियो । ठाउँठाउँ बाटोको लोकेसन देखाउने बोर्ड भए पनि झाडी र बुट्यानले नदेखिने । त्यहाँबाट आधा घण्टामा पुगिने होटल हामी दुई घण्टामा मात्रै पुग्यौं ।
मैले रेनकोट राख्दै ब्याग बिसाएँ । पानीले गिजिकगिजिक भएको जुत्ता खोलें । खुट्टा चिलाइरहेको थियो । मोजा त रगतले ल्याप्प टाँसिएको रैछ । हतारहतार मोजा खोलें । बुढीऔंलाको चेपको रातो रगतको लप्टाबाट तीनवटा ढाडिएका काला जुका भुईंमा पल्टिए ।
साहु पेम्बा शेर्पाले भित्रबाट नून ल्याएर जुकामाथि छर्किदियो ।
०००
बिहान पारिलो घाम लाग्यो । झ्याल खोलेर हामीले लामबगर हेर्यौं । हिजो निमातेन्जिङले भने जस्तै झरना त कति हो कति ! पहराको हरेक कापकापबाट सेतो झरना खसिरहेथ्यो । घामको उज्यालोमा ती झरना चाँदी झैँ टलक्क टल्किए । ती झरनाका शिरमा बादलको ससाना झुप्पाहरु अल्झिएका थिए । बादलको झुप्पा हेर्दाहेर्दै फेरि घाम निभिहाल्यो र वरिपरि भुईंकुहिरोले छोप्यो ।
‘यस्तै हो सर, मनसुनको मौसम, बिहान एकछिन उघ्रिन्छ अनि झरी पर्न थालिहाल्छ’, पेम्बाले भन्यो ।
कफी पिएर त्यहाँबाट बाटो लाग्यौं ।
त्यो दिन बेदिङ पुग्ने लक्ष्य थियो । पेम्बाले ढिलोमा १० घण्टाको यात्रा हो भनेका थिए । गाउँमा हिँडिरहेकै हो, हिँडिहालिन्छ नि भन्ने सम्झ्यौं । मनमा आत्मविश्वास थियो, शरीरमा जोश ।
एक घण्टा तेर्सैतेर्सो हिँडेपछि भेटियो रोल्वालिङ खोला । वन नै थर्काएर गडगडाउँदै बगिरहेको थियो । त्यहाँबाट दुइटा बाटो छुट्टिन्थ्यो । हामीले दायाँतिरको खोलाको डिलैडिलको बाटो समात्यौं ।
तल रोल्वालिङ खोला, माथि भिरालो डाँडा । बीचमा सानो गोरेटो बाटो । बाटो एकदमै चिप्लो र अप्ठेरो थियो । रोल्वालिङमा मिसिने ससानो खोल्सी त कति हो कति ! ती सबै खोल्सी तर्न बाँस र काठको साँघु बनाइएका थिए । लेउ र पानीले चिप्लो भएका ती साँघुले डर, त्रास र कठिनाइ थपेका थिए । सँगै यात्राको रोमाञ्चकता पनि बढिरहेको थियो ।
‘यस्तो दामी दृश्य हेर्न छाडेर के फोटो खिचिरा हो दाइ’, आन्सेले भन्यो ।
‘हामीले हेरे हामीमात्र देख्छौं । क्यामेराले कैद गरे सबैले देख्छन्’, मैले थोरै दर्शन छाँटें ।
एकछिनपछि फेरि उकालो सुरु भो । उकालो देख्नेबित्तिकै खुट्टा फतक्क गल्यो । धन्न बाटोलाई कुहिरोले छोपेको थियो । नत्र त छिचोल्नुपर्ने अनन्त उकालो देखेर आँटै मर्दो हो । वरिपरिको दृश्य छेकिदिँदा रिस उठेको कुहिरोसँग शिरमाथिको उकालो बाटो छोपिदिँदा भने माया बस्यो । परिस्थितिसँगै हरेक कुराको महत्व फेरिँदो रैछ ।
हामी ९ बजे सुर्मुचे पुग्यौं । प्रायःले बिहानको खाना यही खाँदा रहेछन् । हामीले चाहिँ क्याल्जेमा खाने सल्लाह गर्यौं । हामी चियामात्रै पिउन सुर्मुचे होटलमा छिर्यौं ।
सुर्मुचेबाट चिया पिएर बाटो लाग्नासाथ फेरि झरी सुरु भयो । रेनकोट लगायौं । हिजोसम्म खुट्टामा मात्र चढ्ने जुका उचाइ बढेसँगै आज घाँटीमै चढ्ने अवस्थामा थियो । जसोतसो हामी जोगिँदै हिँड्यौं ।
झरी जोडले दर्किरहेको थियो । हामी ११ बजेतिर क्याल्जे होटल पुग्यौं । बिहानको खाना त्यही खाएर बाटो लाग्यौं । क्याल्जेबाट आधा घण्टा तेर्सैतेर्सो हिँडेपछि निकै तल रोल्वालिङ खोलाको किनारमा देखियो एउटा बस्ती ।
‘दोङहाङ हो यो । मैले भ्लगमा हेरेको थिएँ’, मिराक आन्सेले भन्यो ।
हामीले एकछिन डाँडाबाट दोङहाङ हेर्यौं । पाँचवटा चिटिक्क मिलेका घर । रङ्गिचङ्गी टिनको छाना । उकालो हिँड्दाहिँड्दा थाकेको हामी ओरालो भेटेपछि उत्साहित भयौं र हतारहतार दोङहाङ झर्यौं ।
दोङहाङ झर्दा ह्वात्तै गर्मी बढ्यो । लगभग प्रायः होटल बन्द थिए । मान्छे नभएको संकेत पाएपछि हामी बात मार्दै बाटो लाग्यौं ।
‘कहाँसम्म हिँडेको नानीहरु’, छेउपट्टिको होटलबाट एकजना बुढो बोजुले भन्नुभो ।
‘छो-रोल्पा गाको बाेजु ।’
शरीरमा लगाएको पाङ्देन देख्दा बोजु शेर्पा हो भन्ने थाहा लागिहाल्यो । बाहिरबाट नीलो स्वेटर लाउनुभएको थियो । टाउकोमा भने मजेत्रो ओढ्नुभएको थियो ।
‘अनि होटलहरु त सब बन्द छ त बाेजु ?’
‘बर्खामा मान्छे हुँदैन । त्यसैले सबैजना च्याउ खोज्न जान्छन् ।’
‘तपाईं चाहिँ नजानुभाको अनि’, सोधें ।
‘म त हिँड्नै सक्दिनँ नि नानी हो’, बोजुले मजेत्रोले मुख पुछ्दै भन्नुभो । अनि फेरि सोध्नुभो, ‘यस्तो बर्खामा किन हिँड्नुपरेको होला ?’
‘यतिबेलै मौका जुर्यो त बोजु ।’
०००
दोङहाङबाट रोल्वालिङ खोलाको किनारैकिनार हिँड्नुपर्ने रैछ । त्यत्रो लामो र एकान्त बाटोमा हाम्रो साथी भनेकै रोल्वालिङमात्रै थियो । हिमालबाट मधेशतिर झरिरहेको ऊ र मधेशबाट हिमालतिर उक्लिरहेको हाम्रो गन्तव्य विपरीत भए पनि यात्रा समानान्तर थियो । एउटै थियो ।
रोल्वालिङ बेलाबेला घुम्तीमा हराएर ओझेल पर्थ्यो । बेलाबेला स्वाँ स्वाँ गर्दै निस्कन्थ्यो । बेलाबेला उसको सुसाइ ठूलो सुनिन्थ्यो । बेलाबेला हाम्रो सासको उच्छवास ठूलो सुनिन्थ्यो । बेलाबेला उसको नागबेली फैलावट लामो देखिन्थ्यो । बेलाबेला हाम्रो पाइतालाको घुम्ती लामो, बेलबेला एउटै गन्तव्यमा यात्रारत साथीभन्दा फरक गन्तव्यमा यात्रारत साथी निकै आत्मीयलाग्दो रैछ ।
झरी परिरहेकै थियो । मौसम खुल्ने छाँट थिएन । जताततै कुहिरैकुहिरो । कुहिरोले छपक्क छोपेको बाटो छिचोलेर हामी डाँडामा निस्कन्थ्यौं । फेरि त्यो कुहिरो उडेर हाम्रो अगाडि बसिदिन्थ्यो । फेरि छिचोलेर अर्को डाँडा पुग्थ्यौं । फेरि अगाडि आएर बसिदिन्थ्यो । बाटोको डिल हुँदै सल्लाघारीको टुप्पी टुप्पी उडिरहेको कुहिरोसँग हाम्रो निकैबेरसम्म अव्यक्त प्रतिस्पर्धा भइरह्यो ।
दिन खुले त सायद हाम्रैअघि ठिंग उभिरहेको हिमाल देखिँदो हो । हरेक ऋतुले भिन्नभिन्नै सौन्दर्य सजाएर बाँच्छ । यो बर्खाको सौन्दर्य भनेकै झरना र कुहिरो थियो । के हिउँदमा आउनेले यी झरना र कुहिरो देख्न पाउलान् ?
अलि माथि भेटियो एउटा डरलाग्दो पहरा, टाउकोमै खस्ला जस्तो उभिरहेको । पहराको टुप्पोमा धुम्म परेर बसेको बाक्लो कुहिरो । कुहिरोको बीचबाट झरिरहेको झरना । लाग्थ्यो कि त्यो झरना पहराको टुप्पोबाट झरिरहेको छैन, सीधै स्वर्गबाट झरिरहेको छ ।
हिजो साँझ निमातेन्जिङले भनेको सम्झें । झरना त हेर्दाहेर्दा साँच्चै वाक्कै लाग्ने रैछ ।
अलि माथि पुगेपछि भने त्यस्तो टाउकोमै खस्ला जस्तो पहरा त कति हो कति ! झरना देखेर आश्चर्य नभए जस्तै विस्तारै पहरा देखेर डरै लाग्न छाड्यो । लगभग एक घण्टाको किनारैकिनारको बाटो पार गरेपछि फेरि उकालो चढ्यौं । उकालो छिचोलेपछि बाटोमा चारवटा पसल भेटिए । पसल छेउमा एउटा बोर्ड रैछ, रेनकोटको टोपी खोल्दै हेरें । हामी थाङदिङ आइपुगेछौं । अल्टिट्युड हेरें, करिब ३५ सयको उचाइमा रैछौं । हामी आज पुग्नुपर्ने बेदिङ थियो । अल्टिट्युडमुनि बेदिङको दुरी हेरें । अझै पाँच किलोमिटर टाढा रैछ । पुग्ने निर्धारित समय भने करिब तीन घण्टा ।
साँझ ढल्दै थियो । हिमालमा चाँडै रात पर्छ । रात परे बेदिङ पुग्न गाह्रो पर्थ्यो । मोबाइल निकालेर समय हेरें, साढे तीन बजिसकेको थियो । उसो त अझै अँध्यारो हुन दुई घण्टा बाँकी थियो । आ हतार केलाई छ र ! पुग्नुपर्ने आखिरीमा चिहानसम्म त हो !
पसल्नी दिदी चिया पकाउँदै हुनुन्थ्यो । बेन्चमा दुई जना भरिया ओत लागिरहेका थिए ।
‘नास्ता के बन्ला दिदी ?’
‘के बनाइदिनु र हौ भाइ ? सामान खासै केही छैन ।’
‘नास्ताभन्दा पनि जिउ तताउनुपर्छ हौ दाइ’, मिराकले भित्र पस्दै भन्यो ।
थकित शरीर, त्यसमाथि दिनभरि रुझेको । भनें, ‘तताउने भए तताउँ ।’
‘भाइहरु पूर्वको हो कि क्या हो’, दिदीले सोध्नुभो ।
‘हो नि दिदी । पूर्व लिम्बूवानका लिम्बूहरु हौं है !’
‘त्यै त, बोली त्यस्तै लागेर नि’, दिदीले लोकल झानिदिँदै भन्नुभो ।
‘तपाईं चाहिँ’, मिराकले सोध्यो ।
‘म पनि राई हो नि’, दिदीले हाँस्दै भन्नुभो ।
०००
लकडाउनको बेला धेरै व्यवसायीको व्यवसाय चौपट भयो । यात्रु आउन छाडेपछि पोर्टरको काम गरिरहेकी लोखिम सोलुखुम्बुकी आरती राई पनि बेरोजगार बनिन् । व्यवसाय रोकिएपछि दिदी गाउँमै थन्किइन् । दोलखाको उत्तरी भेगमा बिजुलीको पोल बोक्न जाने गाउँको माइतीहरु सोलुखुम्बु फर्के । उनीहरुले एकदिन गौरीशंकर संरक्षण क्षेत्रमा यातायातको असुविधा भएकोले लकडाउनको बेला पनि खाद्य सामान ओसारपसार गर्ने काम पाइन्छ भनेर सुनाए । केही दिनपछि आरती दिदी ती माइतीहरुसँगै दोलखा आइपुगिन् ।
छेदछेदबाट जोफ्याकमा खाद्य सामग्री बोक्ने टन्नै स्थानीय थिए । राईले श्रीमानसँग मिलेर पोर्टरको रुपमा एक वर्ष छेदछेदबाट ना गाउँसम्म खाद्य सामान ओसारपसार गर्ने काम गरिन् । पोर्टरको काम गर्दागर्दै मनमा होटल व्यवसाय गर्ने रहर पालिन् । अन्ततः थाङदिङमा एउटा टहरा बनाएर चिया नास्ता बेच्न थालिन् । विस्तारै व्यवसाय राम्रै चल्न थाल्यो । व्यवसाय चलेपछि एउटा घर किनेर होटल व्यवसाय चलाउन थालिन् ।
कथा सुनिसक्दा लोकल पनि रित्तिसकेको थियो। लोकलले शरीर तात्तियो । तात्तिएको शरीर लिएर बाहिर निस्कियौं ।
‘माइत नगा’को वर्षौं भाथ्यो । मलाई त आफ्नै भाइहरु भेटे जस्तै लाग्यो’, दिदीले भन्नुभो ।
जङ्गलमुनि तल कतै रोल्वालिङ सुसाइरहेथ्यो । जंगली जनावरको अपरिचित आवाजले जङ्गल थर्किरहेथ्यो । कुहिरोले बाँकी केही पनि दृश्य देखिएन । अलि पर पुगेपछि अलि अप्ठेरो बाटो आइपुग्यो । वरपर पहिरो खसिरहेथ्यो । ढुङ्गाको ग्याबिङ हालेर हिँड्न बनाइएको पुल पनि ठाउँ-ठाउँ खोल्सीले बगाएको थियो । एकदम सावधान भएर हिँड्नुपर्ने बाटो साँघुरो थियो ।
निकै माथि चारपाँच वटा घरको अवशेष भेटियो । ढुङ्गाको गाह्रोको अस्थिपञ्जरमात्रै बाँकी रहेको त्यो राम्दिङ गाउँ रैछ । २०७२ सालको भूकम्पले तहसनहस बनाएको त्यो गाउँमा बस्नयोग्य अवस्था थिएन । अलि पर एउटा पाटी भेटियो । पाटीमा बस्दा अचानक म भावुक भइहालेछु । गुनगुनाउन थालिहालें- राई माइलाले गाउँ छोड्यो रे !
भावुक हुँदाहुँदै झमक्क अँध्यारो भइहाल्यो । ठम्याउन मिल्नेमात्रै बाटो देखिन्थ्यो । अलिकति उकालो हिँडेपछि एउटा पाटी जस्तो प्रवेशद्वार भेटियो । त्यहाँभित्र माने र बुद्धका तस्बिरहरु अंकित थियो । माने घुमाउँदै माङलाई सम्झियौं । एकैपटक बत्ती बलिरहेको बस्ती पुगेरमात्रै खुट्टा रोकिए ।
बस्तीको प्रवेशद्वारमै रैछ साङ्गप छ्योलिङ गुम्बा । हामी बेदिङ आइपुगेछौं । बेदिङबाट सुरु हुने रैछ रोल्वालिङ भ्याली । करिब दुई हजार मिटरको अल्टिट्युडबाट हामी ३६ सय आसपासको अल्टिट्युडमा आइपुगेका थियौं । एकदिनमै १६ सय मिटर उचाइमा चढेछौं ।
थाकेर लोत भएको हामी गौरीशंकर होटलभित्र छिर्यौं । बेदिङको करिब ५-६ वटा होटलबाट धुँवा पुतपुताइरहेको थियो । झिसमिसे अँध्यारो, सेतो भुईंकुहिरो अनि घरको छानामाथि पुतपुताइरहेको धुवाँ । प्रकृतिको क्यानभासमा साँझले बिछट्टै सुन्दर स्केच कोरिरहेको थियो ।
हामी आइपुगेको ठीक एक घण्टापछि थकित भएर दुई जना नयाँ साथी पनि आइपुगे । उनीहरु पनि छो-रोल्पा नै हिँडेका रैछन् । हामी अघि छौं भन्ने थाहा पाएर बाटोभरि हामीलाई सोध्दै आएछन् ।
‘लु साथी पाइहालियो नि’, मैले भनें ।
‘त्यै त, हामीलाई पनि बर्खामा एक्लै हौला जस्तो लागेको थियो’, लुतेलुते अलि अग्लो साथीले भन्यो ।
०००
बिहान ५ बजे नै बिउँझ्यौं । कुहिरोले हिमाल र पर्वत पूरै छोपेको थियो । नत्र बेदिङको शिरमै गौरीशंकर हिमाल देखिने रैछ । हिमालको फेदमै बसेको बस्ती । बस्तीमाथि ठूलो पहरा । रोल्वालिङ खोलाको बायाँ किनारमा अवस्थित बस्ती । ढुङ्गाले बनेको लगभग ५०-६० घर । घरको छाना भने नीलो र रातो जस्ताको । मिलाएर बनाइएको ठूल्ठूलो झ्याल । झ्यालमा ढुङ्गा कुँदेर बनाइएको बुट्टा । प्रायः झ्याल भने काठको । सबै घर होटल, तर बर्खामा होटल नचल्ने भएपछि मान्छेहरु भने चारपाँच घरमा मात्रै बसेका रैछन् । सिजनमा त एउटै घरमा ५० जना जति हुन्थे रे !
भिजेका कपडा सुकाएर अर्को फुको कपडा लगायौं । फर्किएर त्यही आउने भएकाले ब्याग कोठामै छोड्यौं । पानी पिउन थर्मस र सम्भावित झरीलाई ख्याल राखेर रेनकोट बोक्यौं । लेक लाग्छ कि भनेर साहुनीलाई अलिकति सातु मागें । हिजो भेटेका साथीहरुसँग होटल बाहिर निस्कियौं ।
‘विस्तारै जानू है बाबुहरु, लेक लाग्ला’, साहुनी रिकु शेर्पाले भनिन् ।
‘यस्ता लाठेहरुलाई केको लेक लाग्नु’, साहु आङदोम शेर्पाले भने ।
०००
चारै दिशा पहरैपहरा, पहरामाथि ओथारो बसेको कुहिरोको बथान । माथि नीलो आकाश, आकाशमा छिटफुट बादलका झुप्पा । मौसमले दिन खुल्ने छनक देखाइरहेको थियो । दुई वर्ष अगाडिबाट म हिमालको सम्मोहनमा परिरहेको थिएँ । जति पटक हेर्थें, मलाई हिमालले बोलाइरहे जस्तो लाग्थ्यो । बल्लबल्ल यसपल्ट मौका जुरेको थियो । छो-रोल्पाबाट जसरी पनि गौरीशंकर हिमालको दर्शन गर्ने चाहना थियो ।
दुई जना अघिअघि थिए, म र मिराक पछिपछि । बाटोभरि ससानो माने, मानेको ढुङ्गाभरि सेतो अक्षरमा बौद्ध मन्त्र लेखिएको । कतै गौतम बुद्ध र गुम्बाहरुको चित्र खोपिएको । लाग्यो फुट्ने उच्च जोखिममा रहे पनि छो-रोल्पाबाट रोल्वालिङ उपत्यकाका बासिन्दालाई यिनै मन्त्रहरुले बचाइरहेछ ।
हामी हिमाली क्षेत्रमा प्रवेश गरिसकेकाले ठूल्ठूला रुखहरु देखिन्थेनन् । विस्तारै मेरो सास बढ्न थाल्यो । शरीर थाके जस्तो भयो । अलिकति हिँड्नेबित्तिकै आराम गर्न पर्ने भयो । म थ्याच्च बसें, इन्हेलर निकालेर तानें ।
‘अल्टिट्युड बढ्यो’, रोकिएर डिजिटल घडीमा डिस्टेन्स र अल्टिट्युड हेरिरहेको अलि अग्लो साथीले भन्यो ।
‘भोकले पनि हो’, अर्को साथीले भन्यो ।
मैले ज्याकेटको गोजीबाट सातु निकालेर तातोपानीसँग खाएँ । त्यो साथीले बट्टामा बोकेको औषधि निकालेर दियो । अदुवा, मह, लसुन र अरु जडिबुटी गुणयुक्त खाद्यान्नको मिश्रण रहेको औषधि रैछ । त्यसले अलि तागत दियो ।
त्यसपछि उनीहरु म सँगसँगै हिँड्न थाले । मेरो गति कछुवाको जस्तै भइरहेथ्यो । अल्टिट्युड बढ्दा एक समान गतिमा विस्तारै हिँड्नुपर्छ । आफ्नै शरीर भारी भइरहेको मलाई त ज्याकेट पनि खोलेर बाटोमै फालौं जस्तो भइरहेथ्यो । धन्न मिराक आन्सेले थर्मस बोक्दिएपछि अलि राहत भयो ।
अलि पर एउटा ठूलो ढुंगा देखियो । ढुंगाको छातीमा बुद्धको तस्बिर र मन्त्रहरु लेखिएका थिए । वरिपरि भने ध्वजाहरु फर्फराइरहेका थिए ।
‘अब चैँ ना गाउँ आइपुगियो होला’, थकानले एक पाइला पनि सार्न नसकिरहेको मैले सोचें ।
‘छैन, अझै बीस मिनेट लाग्छ’, डिजिटल घडीवाले साथीले भन्यो ।
उत्साहले फुरुङ्गिँदै गरेको मन फेरि निरास बन्यो । फक्रिन खोज्दै गरेको मुस्कान ओठको कापमा निभाइहाल्यो । इन्हेलर हातमै बोकिरहेथें । सास बढ्नेबित्तिकै तानिहाल्थें । अलि माथि एउटा होर्डिङ बोर्ड देखियो । अब चैँ ना गाउँ पुगेको निश्चित भो । सायद धेरै कष्टकर यात्रापछि गाउँ आइपुगेर होला थोरै शक्ति बढे जस्तो भयो । झण्डै दुई दर्जन घर, बेदिङभन्दा अलि फराकिलो र सानो बस्ती । हामी नास्ता गर्न होटल ना भ्यु प्वाइन्ट छिर्यौं ।
साहुनी निमा फुटी शेर्पाले एकैछिनमा अण्डा चाउचाउको सुप तयार गर्दिनुभो । भोक र थकानले क्लान्त हामीले भोङ्ग्रायो जस्तै अण्डा चाउचाउको सुप खाइसक्यौं ।
पानी पर्ने छाँटकाँट नभएकाले म र मिराक आन्सेले त्यही होटलमा रेनकोट छोड्ने भयौं । बाहिर निस्कँदा झललल घाम लागिरहेको थियो । आकाश आधा खुलेको थियो । त्यो आधा खुलेको नीलो आकाशमा गौरीशंकर हिमालको थोरै अनुहार देखियो । मैले हतारहतार क्यामेरा निकालेर फोटो खिचें । पाँचदस मिनेटपछि गौरीशंकरलाई फेरि कुहिरोले छोपिहाल्यो ।
हिउँले खाएका चट्टानहरुको बीचबीचमा ठूल्ठूलो खोंच । खोंचबाट ससानो खोल्सी बगिरहेको, केही ठाउँ भने सेतो ग्लेसियर जमिरहेको । सुख्खा फाँटभरि चट्टानबाट खसेको ढुङ्गाको रास । त्यसको छेउमा हिउँनदीले बगाएको बालुवा र माटोका ढिस्काहरु । अब भने हिमालको निकै नजिक आइपुगेको अनुभव भयो ।
रङ्गिचङ्गी जङ्गली फूल फुलेको हरियो चरनमा चरिरहेका सात वटा जोफ्याक । चाउर छेउमा कलकल बगिरहेको रोल्वालिङ । लाग्यो, छो–रोल्पा अब टाढा छैन ।
एक घण्टा हिँडेपछि अगाडि एउटा चट्टानहरुको ढिस्काले बनेको सानो डाँडा देखियो । त्यो डाँडाको छेउबाट रोल्वालिङ झरिरहेथ्यो । डिजिटल घडीवाले साथीले नक्सा हेर्यो । छो-रोल्पा नजिकै थियो । हाम्रो पाइला झनझन छिटो बढ्न थाल्यो । आँखा उतैतिर मात्रै एकोहोरो सोझिन थाले ।
हिमाल नदेखिए पनि हिमालमुनिका चट्टानी पहराहरु राम्ररी गोचर भइरहेका थिए । मैले उकालो हेरें । धेरैमा १० मिनेटमा पार गर्न सक्छु जस्तो लाग्यो । अन्तिम बल गरेर उकालो चढ्न थाल्यौं । फेरि कुहिरो उठिहाल्यो र हेर्दाहेर्दै वरिपरिको दृश्य छोपिहाल्यो ।
कुहिरोले वरिपरि छोपेको झोंक, पूरै ताल नदेखिने शोक । मुर्मुरिँदै आधा उकालो छिचोलें । एक पाइला बढ्छु, सास बढ्ने, खुट्टा गल्ने । इन्हेलर तान्दा पनि काम गरेन । हेर्दा १० मिनेटमा चढिएला भनेर सोचेको उकालो छिचोल्न लगभग आधा घण्टै लाग्यो । उचाइमा हाम्रो अनुमानले काम नगर्दो रैछ । नेपालको प्रमाणिक समय तोकिएको टाइम जोन गौरीशंकर हिमालको सामु मेरो समयले फेल खायो ।
उकालो छिचोल्ने बित्तिकै बोर्ड देखापर्यो, ‘छो-रोल्पा हिमतालमा तपाईंलाई हार्दिक स्वागत छ’ ।
मिराक र म खुसीले गदगद भयौं । दगुर्दै अगाडि बढ्यौं । हिउँले छोपे जस्तै देखिने कुहिरोले छोपेको सेतो ताल । वरपर चट्टानको प्राकृतिक पर्खाल । वर्षौं तपस्यामा लीन भए जस्तै शान्त र निर्मल, हिमालको काखमै बसे जस्तो । हाम्रो अगाडि छाती फिँजाएर फैलिरहेको थियो छो-रोल्पा हिमताल । त्यही हिमतालको एक छेउबाट निस्किरहेको थियो रोल्वालिङ । त्यस्तो शान्त छो-रोल्पामा रोल्वालिङ बनेर डाँडाबाट खसिरहेको पानीको सननन आवाजमात्रै थर्किरहेथ्यो ।
ताल वरिपरि घुम्न चैँ सम्भव नहुने रैछ । मैले आँखाले ठम्याइञ्जेलसम्म छो-रोल्पा हिमताल नियाँलें । कुहिरोले छोप्दा त यत्रो देखिन्छ । दिन उघ्रँदा त झन कति ठूलो देखिएला ? एकछिन तालको अवलोकन गरेपछि ब्यागबाट क्यामेरा निकालेर हामीले सक्दो फोटो खिच्यौं, भिडियो बनायौं । मैले लारुम्बा सम्झिँदै ससानो ढुङ्गा भेला गरेर तालको छेउको ढुङ्गामा ओत लेखें । अनि त्यसको छेउमा बाउआमा, दिदीभाइ र सबी सम्झेर ढुङ्गाकै थाकको माने बनाएँ ।
हावाले बेस्सरी हान्यो । सास फेर्न निकै कठिन भइरहेथ्यो । तैपनि सक्दो ताल हेर्यौं । अब भने ताल वरिपरिको हिमाल हेर्न मन थियो । हामी एकछिन कुहिरो उघ्रिने मौसमको पर्खाइमा बस्यौं । एक घण्टा पर्खे पनि मौसम उघ्रेन ।
‘फर्कौं हैन त’, फोटो खिचिसकेर अग्ले साथीले भन्यो ।
‘अब फर्किने त होला नि’, हिमाल हेर्ने घिटघिटो बाँकी नै भए पनि मैले भनें ।
०००
एकदुई पाइला सारेर ओरालो झर्नमात्रै के आँटेका थियौं, झरी सुरु भइहाल्यो । दुई जना साथीले रेनकोट साथैमा लिएका थिए । मिराक र मसँग भने रुझ्नबाहेक विकल्प थिएन । झरीले रुझेर ज्याकेट, ट्र्याक, जुत्ता, भेस्ट र भित्री वस्त्रसमेत भिज्यो । कपडा सबै भिजेपछि चिसोले लगलग काम्न थालें । टाउको दुःखेर फुट्ला जस्तै भयो । मिराकको हालत पनि उस्तै थियो ।
बेदिङ फर्किंदा चार बजिसकेको थियो । जसरी पनि दोङहाङसम्म पुगेर बास बस्ने योजना बनायौं । साहुजी आङदोम शेर्पा र साहुनी रिकु शेर्पासँग बिदा मागेर बाटो लाग्यौं । चिसोले टाउको फुट्ला जस्तो हुन थाल्यो । हातले रगड्दा पनि दुख्न छोडेन । यत्रो लामो यात्रामा एउटा रुमाल पनि नबोकेकोमा खुब पछुतो लाग्यो । यात्रामा फकिरिजमले जति मज्जा दिन्छ, उति नै दुःख पनि दिँदोरैछ ।
उकालो चढ्दा सबैभन्दा पछि परेको म ओरालो झर्दा भने सबैभन्दा अघि थिएँ । कसैले भनेको सम्झिएँ, शिखर चढ्नु जति कष्टकर हुन्छ झर्नु त्यति नै कष्टकर हुन्छ । मलाई भने छो-रोल्पा उक्लिन जति कष्टकर भएन त्यहाँबाट ओर्लन । दुई साथीलाई निकै पछि छोडेर हिँडेका हामी उनीहरु आइपुगुञ्जेल राईनी दिदीकहाँ बस्यौं ।
दिदीले फेरि लोकल झानिदिइन् । दुई जना साथी पनि आइपुगे । मैले पैसा तिरें । दिदीले राख्न मान्दै हुनुहुन्थेन, तैपनि हातमा थमाइदिएँ । अनि कुनै दिन भेट्ने वाचासहित बिदा मागें ।
एकदिनमै कति ठाउँ बाटो भत्किएछ । कति रुख ढलेछ । कति खोल्सी तर्ने बाँसका साँघु बगाएछन् । ओरालो झर्नुपर्ने भएकाले उति गाह्रो भने भएन । हाम्रो ध्यान चिप्लेर रोल्वालिङमा मात्रै नपरौं भन्ने थियो । जसोतसो साढे ८ बजे दोङहाङ पुग्यौं ।
दोङहाङ झर्दा बोजुको होटल बन्द भइसकेको थियो । उठाएर दुःख दिने मन गरेनौं । छेउको अर्को होटलमा बस्यौं । राति सननन गर्दै घुरेनमै बग्ने रोल्वालिङको गडगडाहट सुन्दा मनमा एउटै कुरा खेलिरहेको थियो- छो-रोल्पा फुट्ने उच्च जोखिममा छ ।
भोलि बिहान पाँचै बजे उठ्यौं । उठेर चिया पिइसक्दा पनि बोजु उठ्नुभएको थिएन । बोजुलाई सम्झेका छौं भन्ने खबर छोडेर हामी ६ बजेतिर बाटो लाग्यौं ।
०००
छो-रोल्पाबाट फर्केको तीन दिनपछि असार २३ बिहानै एउटा समाचार पढें- गौरीशंकर गाउँपालिकामा भारी बर्षाको कारण तीनवटा होटलमा क्षति ।
समाचारको लिंक खोलें । समाचारमा लेखिएको थियो, ‘गौरीशंकर गाउँपालिकाको सिमीगाउँ- छो-रोल्पा पदयात्राअन्तर्गतको दोङ्गाङमा बाढीले तीन वटा होटल बगायो । होटल व्यवसायी जाङ्गमु शेर्पा बेपत्ता ।’
नष्ट भएका तीनै होटल थिए, जहाँ हामीले फर्किंदा खाना खाएका थियौं, बास बसेका थियौं र बेपत्ता भएका जाङ्गमु शेर्पा तिनै बोजु हुनुन्थ्यो, जसले हामीलाई ‘राम्ररी जानू है’ भनेर यात्राको कामना गरेकी थिइन् ।
उफ ! समाचारले म छाँगाबाट खसे जस्तो भएँ । पत्याउनै गाह्रो भयो । त्यस्तो भूगोलमा ‘बेपत्ता’को अर्थ मृत्युबाहेक केही हुन्नथ्यो । यात्राभरि जसले हामीलाई बाढीपहिरोको जोखिम बताउँदै सतर्कता अपनाउने सुझाव दिएकी थिइन्, उनै बोजुले आफ्नै सतर्कता अपनाउन सकिनन् ।
मलाई बोजुको चाउरी पर्दै गरेको अनुहार झलझली याद आयो । पाङ्गेन, नीलो स्विटर र कालो मजेत्रो लाएर होटलअघि उभिरहेको बोजुको काया झलझली सम्झना आयो । होटलका अरु पुरुषहरु त बाढी आएको पत्तो पाएर भागे होलान्, तर जाङ्गमु बोजु ? कति गुहार मागी होलिन् ?
०००