भरतपुर अस्पतालमा किन टिक्दैनन् डाक्टर र नर्स – Nepal Press

भरतपुर अस्पतालमा किन टिक्दैनन् डाक्टर र नर्स

चितवन । भरतपुर अस्पतालले भदौको २६ गते एउटा सार्वजनिक सूचना जारी गर्‍यो । उक्त सूचना कर्मचारी माग सम्बन्धी थियो । सूचनामा मेडिकल अफिसर र स्टाफ नर्स पदमा मानिसहरूको आवेदन भए पनि संख्या खुलाइएको छैन ।

अस्पतालले संख्या उल्लेख नगरी भरतपुर अस्पतालको करार सेवा तथा ज्यालादारी कार्यविधि २०७९ अनुसार कर्मचारी माग गरेको थियो । तर, यसरी संख्या उल्लेख नगरी डाक्टर तथा नर्सको विज्ञापन गरेकोमा कतिपयले भने अस्पतालको आलोचना गरेका थिए ।

अस्पतालले भने डाक्टर तथा नर्स टिकाउनै समस्या भएको भन्दै वर्ष दिनलाई डाक्टर नर्स बोलाइरहन पुग्ने एकै पटक विज्ञापन गरेको दाबी गरेको छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेल भन्छन्, –‘गएको वर्ष करिब एक सय जना नर्सले अवधि नपुगी अस्पतालबाट राजीनामा दिएर छोडे । हामीलाई डाक्टर नर्स टिकाउनै गाह्रो छ । कति पटक विज्ञापन गरिरहनु भनेर वर्ष दिनलाई हुनेगर एकै पटक विज्ञापन गरेको हो ।’

हुन पनि अस्पतालले ८ असोज, २०८० मा गरेको विज्ञापनका लिखित परीक्षा उत्तीर्ण २२ जना स्टाफ नर्सलाई वर्ष दिन अहिलेसम्म पनि काम आउन सूचना जारी गरिरहेको छ ।

उनीहरू वर्ष दिनसम्म भरतपुर अस्पतालको जागिर कुरेर बसेका छन् छैनन् अस्पताललाई जानकारी भने छैन । तर, कानून त एक पटक गरेको विज्ञापनको नतिजा निस्किएको वर्ष दिनसम्म सम्पर्कमा बोलाउने कानूनी अधिकारी सरकारी कार्यालयलाई हुने गर्छ ।

भरतपुर अस्पतालमा ९ सय २८ जना कुल कर्मचारी कार्यरत रहेको तथ्याङ्क छ । तीमध्ये स्टाफ नर्स पदमा कार्यरतको संख्या ४ सय ६४ जना छन् । भने, डाक्टर मेडिकल सुपरिटेन्डेन्ट, कन्सल्ट्यान्ट, मेडिकल र डेन्टल अफिसर १ सय ९७ जना कार्यरत छन् ।

भरतपुर अस्पताल चितवन र यस आसपासका १२ जिल्लाका बिरामीहरू आउने संघीय अस्पताल हो । यहाँ दैनिक दुई हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । तर, अस्पतालमा मेडिकल सेवा दिने डाक्टर र स्टाफ नर्सहरूको अभाव भने अस्पतालले झेलिरहनुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण पौडेल बताउँछन् ।

उनका अनुसार अघिल्लो वर्ष दुई सय स्टाफ नर्सले अस्पतालबाट राजीनामा दिएका थिए । भने डाक्टरहरू ३० जनाको हाराहारीमा प्रत्येक वर्ष उच्च शिक्षा, विदेश पलायन लगायतका कारणले अस्पताल छोड्ने गर्छन् ।

‘अस्पतालमा नर्स तथा डाक्टरले छोड्ने दर एकदम धेरै छ । हामीलाई उनीहरूले छोड्दा तीन तीन महिनामा विज्ञापन खुलाउन समस्या हुन्छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पौडेलले भने,– ‘अर्कोतिर करारको परीक्षा लोकसेवामार्फत लिन पाइँदैन । त्यसैले हजार बढी आवेदनमा आएको परीक्षा प्रणाली सहज होस भनेर संख्या नखुलाई विज्ञापन गरिएको हो ।’

अस्पतालले डाक्टर नर्सले छोड्ने मूल कारण विदेश भए पनि सरकारी अस्पताल भए पनि सेवा सुविधा निकै कम भएकोले छोड्ने गरेको डाक्टर नर्सले बताउने गरेका छन् । संघीय सरकारको थोरै मात्रै दरबन्दी भएकोले अस्पताल विकास कोषले लिने गरेको अस्थायी करार कर्मचारीलाई १२ महिनाको तलब सुविधा मात्रै दिने गरिएको छ ।

डाक्टरलाई मासिक ५० हजार रुपियाँ र स्टाफ नर्सको पारिश्रमिक ४० हजार मासिक दिने गरिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पौडेल भन्छन्, ‘हामीले अहिलेसम्म १२ महिनाको मात्रै भुक्तानी दिने गरेका हौँ । तर, यस वर्षदेखि भने दसैँ सुविधा दिन सकिन्छ कि भनेर सोचिरहेका छौँ । यद्यपि उनले निजी अस्पतालको तुलनामा राम्रो तलब सेवा दिएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *