कीर्तिपुरमा कमब्याक गर्ने एमालेको दाउ, उपचुनावका मेयर उम्मेदवारमा क-कसको छ नाउँ ? – Nepal Press

कीर्तिपुरमा कमब्याक गर्ने एमालेको दाउ, उपचुनावका मेयर उम्मेदवारमा क-कसको छ नाउँ ?

काठमाडौं । मंसिर १६ गते निर्धारित स्थानीय तहको उपनिर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । यस पटक उपचुनाव हुन लागेका ठाउँमध्ये कीर्तिपुर नगरपालिका सबैभन्दा ठूलो र तीन पद रिक्त भएको स्थानीय तह हो ।

कीर्तिपुर नगरपालिकामा मेयरसहित वडा नम्बर १ र ४ का वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो । नकर्मी नेपाली कांग्रेसबाट निर्वाचित थिए ।

कीर्तिपुर नगरपालिका बनेपछिको इतिहासमा कांग्रेसले पहिलो पटक ऐतिहासिक जित निकालेको थियो । मेयर उपमेयरसहित १० मध्ये ९ वटा वडामा एकल जित निकालेको कांग्रेस उपचुनावबाट आफ्नो वर्चस्व कायमै राख्न चाहन्छ ।

उता पहिलो पटक कीर्तिपुरमा पराजय भोगेको नेकपा एमाले पनि विरासत फर्काउने प्रयासमा छ । उम्मेदवार छनौटदेखि नै आन्तरिक विवाद र पार्टी विभाजनको कारण कीर्तिपुर गुमेकाले उपचुनावबाट पहिलेकै लयमा फर्किने दाबी गर्छिन् एमाले काठमाडौं जिल्ला कमिटी उपसचिव बिन्दु महर्जन ।

एमालेले कीर्तिपुरको मेयरमा यस पटक कसलाई अघि सार्छ रु काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलालाई प्रश्न गर्दा उनले अहिले त्यसबारे कुनै विषय नै प्रवेश नगरेको जवाफ दिए । सम्भवतः दशैंपछिमात्र उम्मेदवारबारे छलफल हुने र पार्टीको माथिल्लो निकायबाट सिफारिस प्रक्रियाबारे सर्कुलर आउने बताए ।

अहिलेसम्म कसैले पनि आकांक्षा व्यक्त गरेका छैनन् । तर केन्द्रीय सदस्य डा।सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाउन सकिए कीर्तिपुरमा पार्टीको कमब्याक हुने भन्दै केही नेताले परामर्श भने थालेका छन् । मानन्धर स्वयं भने मेयरका दाबेदार होइनन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका मानन्धर अघिल्लो निर्वाचनमा काठमाडौं १० बाटै प्रतिनिधि सभा सदस्यका दाबेदार थिए । तर उनले टिकट पाएनन् र एमालेले पराजय पनि भोग्यो । मानन्धरले आफू मेयरको दाबेदार नरहेको र पार्टी नेतृत्वले पनि केही नभनेको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले मानन्धरलाई अघि सार्न चाहेमा उनी कीर्तिपुरमा सर्वस्वीकार्य उम्मेदवार हुने स्थानीय नेताहरूको भनाइ छ । मानन्धरबाहेक पूर्व मेयर रमेश महर्जन पनि दाबेदार हुन् । उनी २०७४ मा मेयर निर्वाचित भएर लोकप्रिय काम गरेका जनप्रतिनिधि हुन् ।

२०७९ मा रमेशले टिकट नपाएपछि उम्मेदवार दर्ताका बेलामा विवाद समेत भएको थियो । उक्त चुनावमा केशरत्न बज्राचार्यले टिकट पाएका थिए । उनी कांग्रेसका राजकुमार नकर्मीसँग फराकिलो मतान्तरले पराजित भए । मेयरमा टिकट विवादको असर वडामा समेत परेको थियो ।

मेयरमा कांग्रेसका उम्मेदवारले ९ हजार ४३ मत पाएर जित्दा एमालेका उम्मेदवारले ५ हजार ५०७ मत पाएका थिए । माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ९० र नेकपा एसका वटुकृष्ण थापाले ११५४ मत पाएका थिए ।

त्यस्तै कीर्तिपुरको उपमेयरमा कांग्रेसकी शुभ लक्ष्मी शाक्यले ८ हजार ६६५ मत पाएर जित्दा एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत पाएकी थिइन् । उनले पाएको मत मेयर उम्मेदवार केशरत्न बज्राचार्यको भन्दा १७ सय भन्दा बढी हो ।

त्यस्तै माओवादी उम्मेदवार सुशीला बस्नेतको २२४० र नेकपा एसकी कमला महर्जनको ८७२ मत थियो । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी रहेकी बिन्दु महर्जन पनि कीर्तिपुरको मेयरको दाबेदार हुन् । उनी अहिले एमाले काठमाडौंको उपसचिव निर्वाचित हुन् ।

त्यस्तै मेयरमा पराजित भएका केशरत्न बज्राचार्य पनि आकांक्षी हुन् । उनी आफूमाथि पार्टीभित्रैबाट अन्तर्घात भएर हारेकाले एक मौकाको प्रयासमा छन् । त्यसो त नेकपा एसबाट मेयर उम्मेदवार बनेका बटुकृष्ण थापा हालै कीर्तिपुर कमिटी नै एमालेमा विलय गराएर फर्किएका छन् । उनी नेकपा एस काठमाडौंको उपाध्यक्ष थिए । बटुकृष्ण पनि मेयरका आकांक्षीका रूपमा थपिएका छन् ।


प्रतिक्रिया

One thought on “कीर्तिपुरमा कमब्याक गर्ने एमालेको दाउ, उपचुनावका मेयर उम्मेदवारमा क-कसको छ नाउँ ?

  1. कमरेड सुरेन्द्र मानन्धरलाई सवै ढंगले उपयुक्त र क्षमतावान रहनु भएको हुँदा निजलाई सिफारिस रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *