दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगीकरण र तीव्र शहरीकरण आवश्यक : अर्थमन्त्री पौडेल – Nepal Press

दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगीकरण र तीव्र शहरीकरण आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगीकरण र शहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय अर्थशास्त्र विभागले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन उद्घाटन गर्दै पौडेलले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुका साथै न्यून-मध्यम आय भएको मुलुकमा पुग्नुपर्ने र सन् २०४३ सम्ममा मध्यम आय भएको मुलुक बन्ने राष्ट्रिय आकांक्षा रहेको भन्दै यसका लागि पूर्वाधार विकास, औद्योगीकरण र शहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

विगतमा भएका त्रुटिहरुलाई सच्चाउँदै आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले मुलुकको विकास मोडलले वातावरणीय अनुकूलता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरण मैत्री पूर्वाधार र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

उनले इको-पर्यटन, पदयात्रा र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पुर्‍याउन र भविष्यका पुस्ताहरूको लागि वातावरणलाई संरक्षण गर्न सक्ने उल्लेख गरे ।

जैविक खेती, कृषि वन र दिगो भूमिको प्रयोग जस्ता अभ्यासहरूले जैविक विविधतालाई सुरक्षित गर्दै कृषि उत्पादनशीलता बढाउन मद्दत पुर्‍याउने उनको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर