‘खुस्मा’ : माओवादी जनयुद्धलाई फरक कोणबाट हेर्ने चस्मा
काठमाडौं । गएको भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेर सम्बोधन गरेपछि माओवादी केन्द्रले अपत्ति जनायो । एमाले-माओवादीबीच लामो समयसम्म ‘हिंसा’ शब्दमा आरोप-प्रत्यारोपसमेत चल्यो ।
माओवादी सशस्त्र विद्रोहलाई ‘हिंसा’ भन्ने वा नभन्ने, बहसको छुट्टै विषय भयो, तर अहिले हलहरुमा सशस्त्र विद्रोह उत्कर्षमा हुँदाखेरिको प्रेम कथामा फिल्म ‘खुस्मा’ चलिरहेको छ । सशस्त्र विद्रोहको केन्द्रमध्ये एक रुकुमको तकसेराका एक परिवारको कथालाई फिल्ममा टिपिएको छ ।
तकसेराको स्कुलमा पढाइरहेका एक शिक्षक र उसकी श्रीमतीका दुई छोरा छन् । दुईमध्ये जेठो छोरा जेमी (धिरज मगर)को प्रेम कथामा ‘खुस्मा’ तयार गरिएको छ । तटस्थ रुपमा आफ्नो जीवनयापन गरिरहेको परिवार न राज्य पक्षधर न त माओवादी पक्षधर हो । उनीहरु आफ्नै तरिकाले दैनिक जीवन चलाइरहेका हुन्छन् । यही परिवारलाई राज्य पक्ष र विद्रोही पक्षद्वारा कसरी हताहती बनाइन्छ, ‘खुस्मा’मा देखाएको छ ।
सामान्य जीवन बाँचिरहेको परिवारमा राज्य र विद्रोही दुवै पक्षबाट बन्दुक तेर्स्याइन्छ । ती बन्दुकको गोली छलेर परिवारका सदस्य खोजिरहेका पात्रको कथा हो ‘खुस्मा’ । जेमी र खुस्माको प्रेममा सबैभन्दा पहिला खुस्माकै साइनो लाग्ने व्यक्ति फुपूको छोरा आइपुग्छ । मगर जातिमा फुपू-चेलाको विवाह प्रचलनमा छ । मामाको छोरीमा चेलीको छोराको हक लाग्ने प्रचलन छ । त्यही प्रचलनअनुसार खुस्मामाथि फुपूको छोराको आँखा लाग्छ, तर खुस्माको मनमा भने जेमी हुन्छ ।
फुपूको छोरालाई जसोतसो झेलेर जेमी-खुस्माको विवाह हुन्छ । विवाहपछि माओवादी विद्रोही र राज्य पक्षका सिपाहीहरुको पेलानमा खुस्माको परिवार पर्छ । माओवादी विद्रोहीले लिएरै जाने भएपछि जेमी विदेश लाग्छ, तर विदेश हिँडेका जेमी सम्पर्कविहीन हुन्छ । विदेश जाँदा बाटोमै हराएका जेमीको खोजीमा निस्किएकी खुस्माको कथा हो यो फिल्म । यो यात्रामा खुस्माले भोगेका आरोह-अवरोहलाई फिल्ममा देखाइएको छ ।
दश वर्षे सशस्त्र विद्रोहमाथि बनेका फिल्महरुमध्ये ‘खुस्मा’ अलिकति पृथक छ । किनभने अधिकांश फिल्महरुमा कि राज्य पक्षको ज्यादती देखाइएको छ कि त विद्रोही पक्षका । ‘खुस्मा’मा भने दुवै पक्षतिर नलागेका, साधारण जीवनयापन गरिरहेका परिवारमा गृहयुद्धले निम्त्याएको दुःख देखाइएको छ । राज्य र विद्रोही दुवै पक्षको ज्यादती देखाइएको छ । यो फिल्मको सबैभन्दा सशक्त पक्ष हो ।
सशस्त्र द्वन्द्वको समयमा राज्य वा विद्रोही पक्षतिर नलागे पनि द्वन्द्वको चपेटामा परेकाहरु धेरै छन् । कतिपय नागरिकहरु अझै पनि बेपत्ताको सूचीमा छन् । १७ हजार बढीको ज्यान गएको १० वर्षे गृहयुद्धमा हजारौं नागरिक बेपत्ता भएका छन् । राज्य पक्ष र विद्रोही पक्ष दुवैतिरबाट बेपत्ता पारिएका निहत्था नागरिकहरुका आफन्त अझै पनि भेटिएला कि भनेर प्रतीक्षामा बसेका छन् । यिनै विषयलाई समेटेर निर्देशक अशोक थापामगरले ‘खुस्मा’ फिल्म निर्माण गरेका छन्, यो सवल पक्ष हो ।
फिल्म गृहयुद्धको उत्कर्षको बेलाको हो । फिल्ममा कथाको समय संकेत गर्न निर्देशकले रेडियो बजाएका छन् । जहाँ जाजरकोटको पाँच कटियामा आक्रमण भनेर भनिएको छ । तकसेरामा बजेको रेडियोले ‘पाँच कटिया आक्रमण’बारे बताए पनि यहाँ तथ्य गलत छ ।
पाँच कटियामा २०५७ साल असार १९ गते आक्रमण भएको थियो । पाँच कटियामा आक्रमण हुनुअगावै तकसेरामा आक्रमण भइसकेको थियो । २०५६ साल चैत २१ गते राति १ बजे तकसेरामा आक्रमण भएको थियो । उक्त आक्रमणमा राज्यतर्फ एक जना इन्स्पेक्टरसहित १३ जनाको मृत्यु भएको थियो । माओवादीतिर दुई जनाको मृत्यु भएको थियो । यसपछि मात्रै जाजरकोट जिल्लाको पाँच कटियामा आक्रमण भएको थियो ।
यस हिसाबले पाँच कटियामा आक्रमण हुनुपूर्व नै तकसेरामा लडाइँ भइसकेको थियो । यहाँ निर्देशकले गलत तथ्य राखेका छन् । तकसेरा हमलामा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको थियो । फिल्ममा भने तकसेरामा कुनै क्षति देखिँदैन । झनै गाउँलेहरु २०५३/५४ सालतिर जसरी देशमा के हुन लाग्यो भनेर चिन्ता प्रकट गरिबस्छन् । सशस्त्र विद्रोहको केन्द्र रहेको रोल्पा-रुकुमका जनता युद्धबारे जानकार हुनुपर्ने हो, तर फिल्ममा अनभिज्ञ देखाइएको छ ।
फिल्ममा एक दृश्य छ, जहाँ जनमुक्ति सेना आएर खुस्मालाई जबरजस्ती खाना पकाउन लगाउँछन् । त्यसवेला जनयुद्धको ठूलो टोली हिँड्दा उनीहरु आफंै नै खाना पकाउँथे । छापामारहरु गाउँतिर जाँदा पनि भान्सामा सहयोग गर्थे । कामहरु सघाउँथे । त्यसवेला माओवादीको नीति नै यस्तै थियो, तर फिल्ममा भने त्रास सृजना गरेर सेनाले खुस्मालाई खाना बनाउन लगाउँछन् ।
अनेक कमजोरीहरुका बावजुद निर्देशक अशोक थापाले ‘खुस्मा’मा बेपत्ता भएको मान्छे आउला कि भनेर कुरिरहेको परिवारको कथा पस्केका छन् । युद्धको नेतृत्व गर्नेहरु पटकपटक शासन सत्तामा पुगे पनि ती परिवारका सदस्यले आफन्तको खबर पाएका छैनन् । आफ्नै नागरिकबारे राज्य बेखबर छ र यो बेखबर राज्यलाई आफन्तको खबर सोधिरहेकाहरुको प्रतिनिधि कथा अशोक थापाले पस्केका छन् ।
निर्देशकले ‘खुस्मा’मार्फत् २०६२/६३ सालको जनआन्दोलनपछि जन्मिएका पुस्तालाई १० वर्षे सशस्त्र विद्रोह चिहाउने एउटा कोण पनि दिएका छन् । जुन पुस्ता अबको दशक राज्यको हरेक क्षेत्रमा निर्णायक हस्तक्षेप गर्न तयार छ ।
समग्रमा ‘खुस्मा’ले मगर समुदाय र त्यसको संस्कृतिलाई सुन्दर ढंगले पस्केको छ । सम्पादनमा केही समस्याका बावजुद फिल्मले चुस्त तरिकाले कथा भन्न कोसिस गरेको छ । अनावश्यक लाउड पाश्र्व संगीतका बावजुद फिल्मले निर्दोष परिवारको आँखाबाट १० वर्षे युद्धलाई देखाउन खोजेको छ । तटस्थ रहेको नागरिक राज्य र विद्रोही पक्षबाट कसरी पेलानमा पर्छन् र उनीहरुको हत्या गरिन्छ भनेर फिल्ममा देखाइएको छ । युद्धमा राज्य र विद्रोही पक्षद्वारा बेपत्ता पारिएकाहरुलाई काजकिरिया नगरिकन अझै पनि परिवारका सदस्यले कुरेर बसेका छन् । तिनै परिवारका प्रतिनिधि कथा भन्ने कोसिस ‘खुस्मा’मा गरिएको छ ।