आलु र प्याज खेतीमा किसानलाई प्रतिकठ्ठा २५ सयसम्म अनुदान दिँदै मनहरी गाउँपालिका – Nepal Press

आलु र प्याज खेतीमा किसानलाई प्रतिकठ्ठा २५ सयसम्म अनुदान दिँदै मनहरी गाउँपालिका

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले किसान लक्षित अनुदान प्याकेज ल्याएको छ । मकवानपुरको थाहा नगरपालिकापछिको दोश्रो ठूलो तरकारी उत्पादन हुने क्षेत्र मनहरीले आलु र प्याजको व्यवसायिक खेती गर्ने किसान लक्षित अनुदान प्याकेज ल्याएको हो ।

गाउँपालिकाले तीन कठ्ठाभन्दा धेरै प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा २ हजार ५०० र सोही बराबरको आलु खेती गर्ने किसानलाई प्रतिकठ्ठा १ हजार ५०० रुपैयाँ अनुदान व्यवस्थापन गरेको मनहरी वडा नम्बर ४ का अध्यक्ष एवम् आर्थिक विकास समिति संयोजक प्रकाश थापाले बताए ।

उनले भने, ‘यो योजना व्यवसायिक खेती गर्ने किसानको लागि मात्र हो, त्यसैले हामीले कम्तीमा ३ कठ्ठाको मापदण्ड तोकेका छौं ।’

बिघा खेती गर्छु भनेर आउनेलाई पनि यो योजनामा सामेल गराउने उनको भनाइ छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले ७ लाख रुपैयाँ अनुदानको लागि बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।

उनले किसानको माग बढेको अवस्थामा थप बजेट व्यवस्था गर्ने बताए । किसानले उत्पादन गरेको आलु र प्याजलाई निःशुल्क कोल्डस्टोरमा समेत राखिदिने उनको भनाइ छ । जसको लागि हेटौंडामा रहेको दुर्गा कोल्डस्टोरसँग सम्झौता भैसकेको थापाले बताए ।

‘मनहरीमा अहिले सरकारी लगानीको कोल्ड स्टोर निर्माणाधीन छ सोभन्दा अघि हामीले किसानको उत्पादन राख्न सम्झौता गरिसकेका छौं’, उनले भने ।

एक कठ्ठामा आलु वा प्याज रोप्न, खेत जोत्न र अन्य ज्याला, केही बीउ किन्नसमेत पुग्नेगरी अनुदान दिँदा किसानहरु उत्साहित हुने गरी आफूहरुले अनुदान योजना ल्याएको गाउँपालिकाको धारणा छ । ४० हजार जनसंख्या रहेको मनहरीमा करिब ८० प्रतिशत गाउँवासी कृषि पेशामा छन् ।

यहाँ आलु, काउली, बन्दा, काँक्रो, भन्टा, मटरकोशालगायतको व्यवसायिक उत्पादन हुने गरेको छ । पछिल्लो समय ड्रागन खेती, कागती, अम्बा र कुरिलो खेतीतर्फ पनि मनहरीका किसान लागिपरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *