दशैंमा यात्रुमैत्री सेवा दिन बुकिङ मजदुरहरु प्रतिबद्ध – Nepal Press

दशैंमा यात्रुमैत्री सेवा दिन बुकिङ मजदुरहरु प्रतिबद्ध

काठमाडौं । दशैंलगायत चाडपर्वका समय यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात मजदुरहरुले प्रतिबद्धता जनाएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संघले गरेको अन्तरक्रिया कार्यक्रममा काठमाडौं उपत्यकाभरका बुकिङ काउन्टरका मजदुरहरुले चाडका समय यात्रुलाई सहज र सरल यात्रा गराउन आफूहरु प्रतिबद्ध रहेको जनाएका हुन् ।

शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई चाडपर्वका समय यात्रुको सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साझा प्रतिवद्धता गराइएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले अवधारणापत्र प्रस्तुत गर्दै सम्पूर्ण बुकिङ मजदुरहरुलाई यात्रुमैत्री सेवा प्रवाह गर्ने गराउने प्रतिबद्धता जनाउन लगाएका थिए ।

अध्यक्ष राईले प्रस्तुत गरेको अवधारणापत्रमा प्रत्येक दिन उपत्यकाको आठ वटा नाकाबाट ४ हजार ९०० सवारीसाधनले उपत्यका छाड्ने गरेको र प्रत्येक दिन ५५ देखि ७० हजार यात्रुले यात्रा गर्ने गरेको उल्लेख छ । त्यस्तै चाडका समय विशेषगरी घटस्थापनादेखि टीकाको दिनसम्म करिब २० लाखले उपत्यका छाड्ने अनुमान रहेको र ती यात्रुको सेवा मजदुरहरुको दायित्व रहेको राईले बताए ।

कार्यक्रममा कोटेश्वर, कलंकी, गौशाला, चावहिल, नयाँ बसपार्क, सातदोबाटोलगायतका काउन्टरहरुबाट २०० मजदुर सहभागी भएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले ट्राफिक प्रहरीको काम जरिवाना गर्नेमात्रै होइन, कानून पालना गराउने पनि भएको बताए ।

एसपी खड्काले भने, ‘चाडको बेला जनताको समस्या महत्वपूर्ण हुने र चाडका समय यात्रुको आवतजावत धेरै हुन्छ । यस्तोबेला यातायात मजदुरले आफ्नो सेवालाई प्रभावकारी बनाउनुपर्छ, कुनै पनि असहज घटना हुन दिनुहुँदैन ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हिमाल थापाले चाडको बेला सवारीको चाप बढी हुने गरेकाले दुर्घटना निम्तिने खतरा हुने भएकाले चाडका बेला सडक सुरक्षाका बारे अनुशिक्षण गरेका थिए ।

संगठनले टीम परिचालन गर्ने

यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दशैंको समय यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनका लागि टीम परिचालन गर्ने भएको छ ।

यात्रुको सहयोग तथा यातायात व्यवस्थापनका लागि परिचालन टीम नाम दिइएको उक्त टीमको संयोजन संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेलाई जिम्मा दिइएको छ ।

घटस्थापनादेखि सञ्चालन हुने उक्त स्वयम्सेवी टीममा उपत्यकामा रहेका केन्द्रीय नेतृत्व बाग्मती प्रदेश कमिटी र उपत्यकामा रहेका जिल्ला र इकाइका पदाधिकारीहरु रहनेछन् ।

टीमले प्रत्येक दिन ट्राफिक प्रहरीसँग समन्वय गरी यात्रु सहायता कक्षमा स्वयम्सेवी परिचालन गर्ने, यात्रुको सहजताका लागि सहयोग गर्ने, खानेपानीलगायतको प्रवन्ध गर्ने काम गर्ने संगठनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर