देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो: सञ्चारमन्त्री गुरुङ – Nepal Press

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो: सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेपाली कांग्रेस-एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् ।

लमजुङ-बेँसीसहर नगरपालिका- ७ मा आज एमाले लमजुङको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अघि बढाउन दुई ठूला दलले सरकारको नेतृत्व लिएको बताए ।

‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ’, सञ्चारमन्त्री गुरुङले भने, ‘कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्छ । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरवलोकन गर्न सकिने संवैधानिक व्यवस्था छ ।’

आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने, तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने उनले स्पष्ट गरे ।

मन्त्री गुरूङले भने, ‘खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन ।’

उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर