दाङको सिद्धरत्ननाथ विद्यालयमा पाठ्यक्रममै राखेर कोयिन भाषा पढाउन सुरु – Nepal Press

दाङको सिद्धरत्ननाथ विद्यालयमा पाठ्यक्रममै राखेर कोयिन भाषा पढाउन सुरु

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयले नै यस्तो पाठ्यक्रम सुरु गरेको हो ।

विद्यार्थीहरुले भोलिका दिनमा कोरिया जना सहज हुने भएकाले यस्तो पढाइ भएकोमा खुशी व्यक्त गरेपनि शैक्षिक विज्ञहरुले यसमा आलाेचनात्मक टिप्पणी गरेका छन् । पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा विद्यार्थीहरु भने उत्साहित बनेकाे बताउँछन् ।

व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।

‘१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ’, विद्यार्थी आशा केसीले भनिन्, ‘नेपाली, अङ्ग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियन भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ ।’

तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।

कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए ।

उनकानुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ । पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए ।

पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ । ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए ।

कोरियन भाषा पठनपाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताए । अहिले पाठ्यक्रमअनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उनले जानकारी दिए । –रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *