धीरज–उपासनाकाे ‘खुस्मा’ ले कस्ताे गर्दैछ व्यापार ? – Nepal Press

धीरज–उपासनाकाे ‘खुस्मा’ ले कस्ताे गर्दैछ व्यापार ?

काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ले बक्स अफिसमा राम्रो व्यापार गरेको दावी गरिएकाे छ ।

शुक्रबार सिनेमाको व्यापार बिहीबारको तुलनामा केही कमजोर बनेकाे थियाे । शनिबार पुनः राम्रो व्यापार गरेको निर्माण पक्षकाे भनाइ छ ।  शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो ।

वितरक गोविन्द शाहीले सिनेमाले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा राम्राे व्यापार गरेको बताए । शाहीका अनुसार सिनेमाले मोफलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो । काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाहीले बताए । सिनेमाका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

प्रदर्शनरत सिनेमा ‘खुस्मा’मा दर्शकहरूले आफ्नो कामलाई रुचाएको भन्दै अभिनेता धिरज मगर खुसी देखिए । ‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो सिनेमा ‘खुस्मा’ हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने ।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट ‘खुस्मा’लाई सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् ।

‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ’, उनले खुसी हुँदै भनिन्, ‘जसरी हामीले सिनेमाको कथा भन्ने प्रयास गरेका छौं, त्यसलाई दर्शकले रुचाइदिनु भएकाले पनि धेरै खुसी लागेको छ । कतिले त सिनेमाको सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यो नै हाम्रो सिनेमाको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *